काठमाडौं । व्यवस्थापिका संसदमा जारी अवरोध खोल्ने प्रयासस्वरुप सभामुख ओनसरी घर्तीले संसदमा प्रतिनिधित्व गर्ने ७ दलको बैठक बोलाएकी छन् ।
दलहरुबीच बढेको दूरी कम गरी सहमति गराउने प्रयासस्वरुप उनले नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख ७ दलका शीर्ष नेतालाई बैठकमा बोलाएकी हुन् ।
सभामुख घर्तीले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र तराई मधेश लोकतान्त्रिक पार्टीका नेताहरुलाई बैठकमा बोलाएकी छन् ।
सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव गर्दा गरेसँगै सत्तापक्ष र प्रतिपक्ष दलबीच दूरी बढिरहेका बेला सभामुखले सहमतिको प्रयास गर्दै आएकी छिन् । सभामुख घर्तीमगरले पटक पटक प्रयास गर्दै आए पनि ण्उनको प्रयास सफल हुँन सकेको छैन ।
प्रतिपक्षी एमालेलगायतका दलहरुले संविधान संशोधन प्रस्तावविरुद्ध निरन्तर संसद अवरुद्ध गर्दै आएका छन् । प्रतिपक्षी दलहरुले संशोधन प्रस्ताव फिर्ता नभएसम्म संसद र सडकमा आन्दोलन जारी राख्ने र विधेयकलाई छलफलमा लैजान नदिने बताउँदै आएका छन् ।
सत्तापक्ष र प्रतिपक्षका आ–आफ्नै अडानका कारण संसद बैठक सूचना टाँसेर स्थगित गरिदै आएको छ । व्यवस्थापिका संसदको बैठक मंगलबार बोलाइएको छ । दलहरुबीच सहमति हुन नसके मंगलबार पनि बैठक चल्ने अवस्था छैन ।