इसाई धर्मावलम्बीले क्रिसमस मनाउँदै, आज सार्वजनिक विदा

इसाई धर्मावलम्बीले क्रिसमस मनाउँदै, आज सार्वजनिक विदा

काठमाडौं । इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा मनाइने ‘क्रिसमस डे’ आइतबर इसाई धर्मावलम्बीहरुले मनाइरहेका छन् । 

दुई हजार १६ वर्षअघि डिसेम्बर २५ मा जेरुसेलमको बेथलेहममा येशुको जन्म कुमारी मारियमको कोखबाट भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका धार्मिक विश्वास छ । 

आम मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफै क्रसमा चढेको विश्वास गरिन्छ । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

नेपालमा ४ सय वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रीष्टियन महासंघले जनाएको छ । क्रिसमसका उपलक्ष्यमा काठमाडौंको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सव हुने गरेको छ । 

यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपालीबिच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकी छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।