डोनाल्ड ट्रम्पले गरे विवादास्पद ट्रम्प फाउन्डेसन बन्द गर्ने घोषणा

डोनाल्ड ट्रम्पले गरे विवादास्पद ट्रम्प फाउन्डेसन बन्द गर्ने घोषणा

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विवादास्पद परोपकारी संस्था बन्द गर्ने घोषणा गरेका छन् । 

सन् १९८७ मा दि आर्ट अफ डिल नामक पुस्तकको बिक्रीबाट आएको रकमबाट ट्रम्पले स्थापना गरेको दि डोनाल्ड जे ट्रम्प फाउण्डेशन नामको निजी परोपकारी संस्था उनले बन्द गर्ने भएका हुन् । 

ट्रम्पले बन्द गर्ने घोषणा गरेपनि सो संस्थाको काम कारवाहीबारे अनुसन्धान भइरहेकाले बन्द गर्न नमिल्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।

राष्ट्रपतिको भूमिकामा कुनै पनि विवाद र द्वन्द्व नहोस भन्ने चाहानाले संस्था बन्द गर्न लागेको उनले बताएका छन् । तर न्यूयोर्कका महान्यायाधिवक्ताले भने ट्रम्पको संस्थामा गलत कार्य भएको आशंका गर्दै आएका छन् । ट्रम्पले त्यसको खण्डन गरेका छन् । 

संस्थाले फ्लोरिडाकी महान्यायाधिवक्तालाई रकम दिएको सम्बन्धमा छानबीन चलिरहेको छ । ट्रम्पले आफ्नो संस्थाले राम्रो कामका लागि वर्षौंदेखि लाखौं डलर खर्चेको दाबी गरेका छन् ।