कोलिम्बयामा विमान दुर्घटनाको सनसनीपूर्ण कारण खुलासा

colombia_air_crash-b41acएजेन्सी । एक लिक भएको अडियो रेकर्डिङबाट कोलम्बियामा दुर्घटनाग्रस्त भएको विमानमा इन्धन सकिएको खुलासा भएको छ ।

ब्राजिलका फुटबल खेलाडी र पत्रकार सहित ७७ जना सवार सो विमान दुर्घटनामा ६ जना मात्रै बाँच्न सफल भएका थिए ।

एयर ट्राफिक टावरको टेपमा एक पाइलटले पटक पटक इन्धन सकिएको र इलेक्ट्रिक सिस्टममा खराबी आएका कारण विमान अवतरणको अनुमति तत्काल चाहिएको बताएका छन् ।

टेपको अन्तिममा पाइलटले आफू ९ हजार फिट (२७४३ मीटर) को उचाईमा उडिरहेको बताएको सुनिएको छ । दुर्घटनामा मारिनेमा अधिकांश ब्राजिलको चापेकोएन्सी फुटबल टिमका खेलाडी र २० जना पत्रका रहेका छन् ।

कोलम्बियाका केही मिडियाले यो रेकर्डिङलाई प्रकाशन, प्रसारण गरेका छन् । जसले विमान दुर्घटनाबारे यसअघि नै भनिएका कतिपय कुरालाई पुष्टि गरेको छ ।

विमान दुर्घटनामा पर्दा समेत आगो समेत नलाग्नुलाई संकास्पद रुपमा हेरिएको थियो । यसअघि पाइलटले इलेक्ट्रिक खराबीका कारण विमान दुर्घटना हुने अवस्थामा तेल ट्यांकी खोलिदिएको बताइएको थियो ।

विमानको ब्ल्याक बक्स समेत भेटिइसकेको भएपनि अनुसन्धानकर्ताले भने विमान दुर्घटनाको कारण बताइसकेका छैनन् । ब्राजिलको चापेकोएन्सी फुटबल टिम आफ्नो क्लब इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिताको फाइनल खेल्न कोलम्बियाको मेडलिन सहर जाँदै थियो ।

दुर्घटनामा बाँच्न सफल एक फ्लाइट टेक्निशियन तुमिरीले आफूले सुरक्षा सम्बन्धि निर्देशनको पालना गरेका कारण बाँच्न सफल भएको बताएका छन् । बेलायतमा बनेको यो विमान दुर्घटनाको छानविनमा बेलायती अनुसन्धानकर्ताले समेत सघाउने छन् ।

फुटबल खेलाडी र पत्रकारको निधन भएपछि ब्राजिलमा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । सन् २०१४ मा पहिलो डिभिजनमा उक्लिएको चापेकोएन्सी फुटबल टिम इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता दक्षिण अमेरिकी क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता कोपा सुदामेरिकानाको फाइनल खेल्न कोलम्बिया गएको थियो ।

बुधबार कोपा सुदामेरिकाना फुटबल प्रतियोगितामा कोलम्बियाको टिम एथ्लेटिको नासियोनेलसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो । यो फुटबल क्लबले पहिलो पटक फाइनलमा स्थान बनाएको थियो ।