militant-outfitsएजेन्सी । पाकिस्तानले दुई वटा आतंकवादी संगठनमाथि प्रतिबन्ध लगाएको छ ।

देशका विभिन्न स्थानमा आतंकवादी आक्रमणमा संलग्न भएको आशंकामा तालिबान र अलकायदासँग निकट रहेका दुई आतंकवादी समूहमाथि प्रतिबन्ध लगाइएको हो । 

बलुचिस्तान र सिन्ध प्रान्तमा केही दिनअघि भएका आक्रमणपछि आतंकबादी संगठन तहरिक–ए तालिबान पाकिस्तानको सहयोगी जमात उल अहरार र लस्कर ए झांगवी अल अलामीमाथि प्रतिबन्ध लागेको हो ।

अफागानिस्तानसँग सीमा जोडिएको बलुचिस्तानको सुफीमामा गत साता भएको आतंकवादी हमलामा ५० भन्दा बढीको मृत्यु भएको थियो भने गत अक्टोबरमा क्वेटामा प्रहरी तालिम केन्द्रमा भएको आक्रमणमा ६१ भन्दा बढीको ज्यान गएको थियो ।

सिन्ध प्रान्तका सुरक्षा प्रतिष्ठानका एक उच्च अधिकारीले ‘नेशनल काउन्टर टेररिज्म अथोरिटी’ को वेबसाइटमा आएको आतंकवादी संगठनको नयाँ सूचीलाई उदृत गर्दै ११ नोभेम्बरमा नै दुई संगठनको नाम समाबेस भएको उल्लेख गरेका छन् ।

ती संगठनहरु हिंसात्मक क्रियाकलाप रोक्नका लागि तयार नभएपछि सरकारले प्रतिबन्ध लगाएको हो । यसैगरी पाकिस्तानले जमात उद दावालाई समेत निगरानीमा राखेको जनाएको छ । सो समूह पनि आतंकवादी क्रियाकलापमा संलग्न भएको प्रमाण मिलेमा आगामी वर्षको सुरुमा नै प्रतिबन्धमा पर्नेछ । 

लश्कर ए तैयबा र जैश ए मोहम्मल दुवै १४ जनवरी २००२ देखि नै प्रतिबन्धित संगठनको सूचीमा रहेका छन् । यसैगरी सुन्नी आतंकवादी संगठन एलएजे पञ्जाब प्रान्तमा क्रियाशील रहेको र बलुचिस्तानको अल्पसंख्यक शिया समुदायमाथि पटक पटक आक्रमणमा संलग्न हुने गरेको छ ।

सोही संगठनले अक्टोबरमा प्रहरी प्रशिक्षण केन्द्रमा हमला गरेको थियो । जमात उल अहरारले क्वेटाको सिभिल अस्पतालमा गत अगस्टमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो ।

यस आक्रमणमा कम्तीमा पनि ७५ जनाको मृत्यु भएको थियो भने १ सय १५ जना घाइते भएका थिए । मारिनेमध्ये अधिकांश वकिल रहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर