सुनसरी । अखिल नेपाल आदिवासी जनजाती महासंघ कोचिला राज्य संयोजन समिति गठन भएको छ ।
महासंघको राज्य संयोजकमा योगेन्द्र राजवंशी चयन भएका छन् । यसैगरी सदस्यहरुमा सुमित्रा चौधरी, प्रेम राई, नरेन्द्र नेम्वाङ, खिरबहादुर मगर, पदम तामाङ, प्रेमिका याख्खा, निर्मल बज्रचार्य, सन्तोष गरुङ रहेका छन् ।
मोरङको बेलबारीमा सम्पन्न भेलालाई क्रान्तिकारी माओवादीका सचिवालय सदस्य नगेन्द्र राईले आदिवासी जनजातिहरुको हक अधिकार प्राप्तिको लागि सबै एक जुट भएर लड्ने दिन आईसकेको बताए ।
संसदवादीहरुले आदिवासी जनजातीहरुलाई भुत्ते हतियार मात्र बनाएको टिप्पणी गर्दै उनले अब धारिलो हतियार बनेर शोषक, सामन्त, भ्रष्ट र अति जातिवादीविरुद्ध संघर्षको सुरुवात गर्ने हिम्मत गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का कोचिला राज्य संयोजक केदार गुरागाई, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका राज्य संयोजक मनोज श्रेष्ठ, मोरङ पार्टी संयोजक सिताराम वुढाथोकीलगायतको पनि सहभागिता रहेको थियो ।
भेलाले सुनसरी मा पदम तामाङ र मोरङमा प्रेम राईलाई संयोजक तोकेको छ । झापामा भने भेलाले तोक्ने राज्य संयोजक राजवंशीले जानकारी दिए ।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापा जिल्ला समिति पनि गठन भएको छ । टिका पाठकको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको हो ।
यसैगरी चेत राज राजवंशीको संयोजकत्वमा १९ सदस्यीय कोच राष्ट्रिय मुक्ति मोर्चा पनि गठन भएको छ ।