
एजेन्सी । भाकपा (माओवादी) को प्रभाव क्षेत्र छत्तिसगढमा माओवादी कार्यकर्तामाथि भारतीय प्रहरीले गरेको आक्रमणका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले दाबी गरेको छ ।
प्रहरीले शनिबार बिहानै भएको भिडन्तका क्रममा केही हतियार समेत बरामद गरिएको र पाँच जना माओवादी कार्यकर्ता मारिएको जनाएको छ ।




नारायणपुरका प्रहरी वरिष्ठ उपरीक्षक अभिषेक मिणाले नारायणपुर र कोन्डागाउँ जिल्लाको सीमानामा रहेको जंगलमा भएको मुठभेडका क्रममा मारिएका ५ जना माओवादीको शब बरामद गरिएको दावी गरेका छन् ।
मिणाले मारिएका माओवादी माओवादीको ६ नम्बर जनसेनाका जवानहरु रहेको बताएका छन् ।
यसअघ बुधबार दन्तेबाडा जिल्लामा भएको भिडन्तमा ६ जना माओवादी कार्यकर्ता मारिएको बताइएको थियो । यसैबर्षको जनवरीदेखि अहिलेसम्म प्रहरीले करिब सय जना माओवादी मारिइसकेको दाबी गरेको छ ।
शुक्रबार छत्तिसगढ विधानसभामा समेत बस्तरमा माओवादीसँगको भिडन्तको विषयमा बहस चल्ने गरेको छ । विपक्षी दलका सांसदले बस्तरमा निर्दोष स्थानीयबासीलाई निशाना बनाएको बताउँदै आएका छन् ।
यसैबीच, भारतको उत्तरपूर्वी राज्य असाममा शनिबार सैनिकको एक जथालाई लक्ष्यगरी भएको एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु हुनुको साथै अन्य चार घाइते भएका छन् ।
आसाम राज्यको तीनसुकिया जिल्लाको डिग्बोई सरहमा सो आक्रमण भएको हो । आक्रमणको क्रममा दोहोरो झडपसमेत भएको र त्यसैक्रममा तीन सैनिकको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारी मुकेस अग्रवालले बताए ।