कुनै पार्टीसँग तत्काल एकताको सम्भावना छैन : वैद्य

कुनै पार्टीसँग तत्काल एकताको सम्भावना छैन : वैद्य

mohan-kiranकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले केहिदिनअघि सम्पन्न पार्टीको सचिवालयले कुनै पार्टीसँग एकता गर्ने निर्णय नगरेको बताएका छन् । 

उनले अहिले क्रान्तिकारी माओवादी पार्टीको कार्यदिशा र योजनामा सहमत व्यक्तिलाई पार्टीमा सहभागी हुन बाटो खुल्ला गरिएको भएपनि कुनै पार्टीसँग पनि विचार र सिद्धान्त नमिलिकन एकता हुन नसक्ने बताए । 

नेकपा (क्रान्तिकारी माओवादी) को नेवाः राज्यस्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले भने, ‘पार्टीको नीति र कार्यक्रम मान्नेलाई फर्किन बाटो खुल्ला रहेपनि कुनै पार्टीसँग एकता गर्ने विषयमा अहिले केही सोचिएको छैन ।’

उनले अहिलेको समस्या संविधान संशोधनबाट मात्रै समाधान हुने अवस्था नरहेकोले नयाँ संविधान निर्माण गर्नुको विकल्प नरहेको बताए ।

मधेसवादी दलका नेताहरुले मधेसको एजेण्डा उठाएर सत्तामा जाने भ¥याङ मात्रै खोजेका कारण उनीहरुको एजेण्डा मधेसका वास्तविक उत्पीडित समूदायको पक्षमा नरहेको उल्लेख गरे । 

‘पहिले दरबारको चाकडी हुन्थ्यो, अहिले दिल्लीको चाकडी त्यही स्तरमा हुन्छ,’ उनले भने, ‘त्यो सबै सरकारमा पुग्नका लागि मात्रै हो, माओवादी केन्द्र अहिले त्यही चाकडीमा लागेको छ ।’

विश्वमा अहिले साम्राज्यवादी शक्ति कमजोर र अस्थिर अवस्थामा रहेको उल्लेख गर्दै मजदुर र क्रान्तिकारी वर्गपनि कमजोर हुन पुग्दा क्रान्तिमा गम्भीर धक्का लागेको उनको भनाई थियो ।

उनले भने, ‘माओवादीभित्र अवसरवाद हाबी भएर नवसंशोधनवादी कित्तामा नभिएको भए अहिले माओवादी आन्दोलन धेरै माथि उठ्न सक्दथ्यो, तर पार्टीका ठूलो हिस्सा क्रान्तिप्रति गद्दारी गर्दै पतन हुन पुग्यो ।’