काठमाडौं । नेपालले मकाउलाई पराजित गर्दै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ ।
योसँगै नेपालले यु–२३ सहित उपाधीमा ह्याट्रिक गर्नुका साथै महादेशीय स्तरको पहिलो उपाधी पनि हात पारेको छ ।
मलेसियाको कुचिङमा साँझ भएको फाइनल खेलमा नेपालले मकाउलाई १–० ले पराजित गरेको हो ।
नेपालको जितमा सुजल श्रेष्ठले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले भरत खवासको पासमा हेठ गोल गरेका थिए ।
पानीका कारण हिलाम्मे मैदानमा नेपालले मकाउमाथि लगातार दबाब सिर्जना गरेपनि थप गोल भने गर्न सकेन ।
नेपालले गत वर्षको माघमा बंगबन्धु गोल्डकपको उपाधी जितेको थियो । यो अन्तर्राष्ट्रिय मान्यता पाएको प्रतियोगिता नभएपनि २३ वर्षपछि उचालेको अन्तर्राष्ट्रिय फुटबलको उपाधी थियो ।
त्यसपछि दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको नेपालले यसपटक सोलिडारिटी कपको उपाधी हात पारेको हो । नेपालले सन् २०१६ को एकै क्यालेण्डर बर्षमा जितेको यो तेस्रो उपाधी हो ।