chiranjivi-nepalकाठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले वित्तीय साक्षरता बढाउने खालका कार्यक्रमहरु संचालन गर्न बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेका छन् ।

भैरहवास्थित नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा गभर्नर डा. नेपालले वित्तीय साक्षरता बढाउने काममा बैंक तथा वित्तीय संस्थाको भूमिका गहन हुने भन्दै त्यसमा लाग्न आह्वान गरेका हुन् । उनले भने, ‘वित्तीय साक्षरता बढ्नु नै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्नु हो ।’

बैंक तथा वित्तीय संस्थाको संख्या बाक्लो भएपनि अझै ६० प्रतिशतभन्दा बढी नेपाली बैंकिङ पहुँचभन्दा बाहिर हुनु दुःखद भएको बताउँदै गभर्नर नेपालले सबै मिलेर अघि बढ्ने हो भने छिट्टै सबै नेपाली बैंकिङ पहुँचमा आउने दाबी गरे ।

अर्को प्रशंगमा गभर्नर डा. नेपालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) कसैको स्वार्थअनुकुल पारित हुन नहुने बताए । त्यससम्बन्धी कुरा आफुले संसदको अर्थ समितिमा पनि पटक–पटक उठाएको उनको भनाई थियो ।

बैंक तथा वित्तीय संस्थामा अध्यक्ष र सञ्चालकको कार्यकालबारे मस्यौदा राष्ट्र बैंकले लामो छलफल र अध्ययनपछि तयार गरेकाले त्यसलाई परिमार्जन गर्न नहुनेतर्फ उनको जोड थियो ।

त्यस्तै लघुवित्तका लागि निर्धारण गरिएको स्प्रेड दरसम्बन्धी व्यवस्थामा पुनर्विचार नहुने उनले स्पष्ट पारे । ‘हामीले सोचेर, सम्झेर र अध्ययन गरेरै यो निर्णय गरेका हौँ, राष्ट्र बैंकले भनेपछि गर्नुपर्छ, त्यसैले यसमा हामी ब्याक हुँदैन ।’

कार्यक्रममा राष्ट्र बैंक भैरहवा शाखाका निर्देशक रेवती प्रसाद नेपालले वित्तीय साक्षरताका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए । ‘मिडिया इन्टरनेशनलले आफ्नो ठाउँबाट पहल सुरु गरेको छ’, उनले भने, ‘वित्तीय साक्षरता बढाउने हामी सबैको कर्तव्य हो, त्यसैले सबै मिलेर अघि बढ्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर