एजेन्सी । गत अक्टोबर २४ मा भारतीय सुरक्षाकर्मीले आफ्नो पार्टीका नेता कार्यकर्ताको हत्या गरेको विरोधमा भाकपा (माओवादी) ले भोलि नोभेम्बर ३ तारिखका दिन पाँच राज्य बन्दको आब्हान गरेको छ ।
भारतको आन्ध्र–ओडिसाको सीमा जिल्ला मलकानगिरिमा भारतीय सुरक्षाकर्मीले चलाएको कारबाहीका क्रममा करिब ३० जना भारतीय माओवादीका कार्यकर्ताको मृत्यु भएको थियो ।
त्यसको विरोधमा पार्टीको प्रभाव भएका ५ राज्य आन्ध्र, तेलङ्ना, ओडिसा, छत्तीसगढ, महाराष्ट्र बन्दको घोषणा गरेको हो । भाकपा (माओवादी) केन्द्रीय डिभिजन प्रवक्ता प्रतापले जारी गरेको वक्तव्यमा बन्दको आह्वान गर्दै सो नरसंहारमा आन्ध्र–उडिसा सरकारलाई प्रमुख दोषी ठहर्याइएको छ ।
भारतीय माओवादीले यसलाई आन्दोलनको ४० वर्षमा सबैभन्दा गम्भीर घटना र ठूलो नोक्सान भएको जनाएको छ । सो घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको र आफ्ना होनहार नेता तथा कायकर्ता गुमाउनु परे पनि अलिकति पनि विचलित नभई पार्टी अघि बढ्ने प्रतिबद्धता जनाइएको छ ।
जिल्ला पार्टी तथा केन्द्रीय डिभिजनले सो घटनामा पक्राउ परेका रामकृष्ण उपनामका कार्यकर्तासहित सबैलाई सार्वजनिक गर्न पनि माग गरेको छ ।
भारतीय माओवादीले सो घटनामा राज्यस्तरका ३ जना र अरू जिल्लास्तरका कार्यकर्ता परेको जनाएको छ । दया, गणेश, अरूणा, आन्ध्र–उडिसा सीमा क्षेत्रका सैन्य कमान्डर गुजरला अशोक ‘उदय’ केन्द्रीय नेता रामकृष्णका छोरा मुन्ना, रेणु, मधु तथा प्रजाकला मण्डलीका बहुचर्चित कलाकार प्रभाकर प्रमुख रहेका छन् ।
भाकपा माओवादीले ११ जनालाई घाइते अवस्थामा पक्राउ गरी निर्मम किसिमले हत्या गरिएको जनाएको छ ।