काठमाडौं । क्यान्सरका कारण सन् २०३० सम्ममा हरेक वर्ष ५५ लाख महिलाको मृत्यु हुनसक्ने खतरनाक रिपोर्ट सार्वजनिक भएको छ ।
सो रिपोर्ट अनुसार दुई दशकभन्दा कम समयमा क्यान्सर रोगीको संख्या ६० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
गरिब र मध्यम आय भएका देशमा क्यान्सरका कारण मृत्यु हुनेमा महिलाको संख्या अधिक हुनेछ ।
औषधी निर्माता कम्पनी मर्कका साथमा अमेरिकी क्यान्सर सोसाइटीका वैश्विक स्वास्थ्य मामलाकी उपाध्यक्ष स्याली कोवलले अधिकजसो मृत्यु युवा या मध्यम आयु वर्गका मानिसमा देखिने र यसका कारण परिवार र राष्ट्रिय अर्थव्यवस्थामा समेत धेरै भार पर्ने उल्लेख गरेकी छन् ।
रिपोर्टमा भनिएको छ विश्वभरमा हरेक सातमध्ये एक महिलाको मृत्युको कारण क्यान्सर हुनेछ । यो कारण हृदयरोगबाट हुने मृत्युपछि दोस्रो स्थानमा रहेको छ ।
सबैभन्दा धेरै घातक स्तन, कोलोरेक्टल, फोक्सो र पाठेघरको क्यान्सरको समयमा नै पत्ता लगाउन सकेमा यसको सफल उपचारबाट रोगीलाई बचाउन सकिन्छ ।
गरिब देशमा धनी देशमा भन्दा कम मात्रै क्यान्सर रोगी पत्ता लागेर उपचारमा जाने भएका कारण यी देशमा क्यान्सरका कारण मृत्यु हुनेको संख्या पनि बढी नै हुने गर्छ ।
शारीरिक निष्क्रियता, असन्तुलित खाना, मोटोपना र प्रजनन आदिका कारणले मृत्यु हुनेको संख्या अधिक हुने कोवलले अनुमान गरेकी छन् ।