काठमाडौं । कथाकार सीपी गजुरेलद्वारा लिखित कथा संग्रह ‘झुल्कदो घाम’ विमोचन गरिएको छ । साझा प्रकाशनद्वारा प्रकाशित झुल्कदो घामको नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले राजधानीको संवाद डबलीमाकथासंग्रहको विमोचन गरेका हुन् ।
कथा संग्रहको विमोचन कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति साहित्यकार गंगाप्रसाद उप्रेती, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवाली, साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्मालगायतले कथा संग्रहमाथि टिप्पणी गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिति नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य ‘किरण’ ले परिवर्तनका लागि सम्मूर्ण राजनीतिकर्मी र साहित्यिक–साँस्कृतिक फाँटमा कार्यरत सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।
नेपाली साहित्य क्षेत्रले राणा शासनकाल देखि नै परिवर्तन र रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले नेता सीपी गजुरेलद्वारा लिखित ‘झुल्कदो घाम’ ले प्रगतिशील रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
देशमा अहिले राष्ट्रिय स्वाधिनता र जनजीविका सवाल जटिल बन्दै गइरहेको उल्लेख गर्दै उनले भूकम्प पीडितका लागि सरकारले कुनै काम नगरिरहेका बेला कलाकार धुर्मुस–सुन्तलीले बस्ती निर्माण गर्ने कार्यले सरकारमाथि गतिलो व्यंग्य प्रहार भएको बताए ।
नेता गजुरेल र आफू करिब ३०/३१ सालदेखि संगै राजनीतिमा क्रियाशील रहँदै आएको र त्यसबीचमा भारतीय जेलमा पनि एउटै समयमा बिताएको स्मरण गर्दै उनले भारतीय जेलमा रहँदा भोगेका पीडालाई गजुरेलले कलात्मक ढंगले कथामा संग्रहित गरेको बताए ।
नेपालका पञ्चायती कालका भन्दा पनि तल्लो स्तरका लोकतान्त्रिक देश भारतका जेलको स्मरण गर्दै उनले यसले लोकतन्त्रमाथि झनै घृणा पैदा गरेको बताए ।
उनले भने, ‘गजुरेल जी र म लगभग सँगसँगै जेलमा प¥यौं, उहाँ चेन्नईमा जेल पर्नुभयो, म पश्चिम बंगालमा जेलमा परे । हिरासतमा रहँदा त साह्रै कष्ट हुने अब जेलमा लैजाने भो भनेपछि त खुसी लाग्यो । एक त लोकतान्त्रिक देशको जेल त्यसमाथि पनि म त कम्युनिष्ट पार्टीको सरकार भएको ठाउँमा जेल परेकाले खुसी नै थिए, तर त्यहाँको अवस्था हेर्दा त बिचल्ली रहेछ ।’
झुल्कदो घाम कथा संग्रहका लेखक तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले नेपाली समाज रुपान्तरणका लागि सिर्जना आवश्यक रहेको र मेरो सिर्जनाले मेरा उद्देश्यको सेवा गर्छ कि गर्दैन भन्ने चिन्ता आफूमा रहेको बताए । उनले आफूले राजनीतिक काममा व्यस्त रहँदा रहँदै २५ दिनमा नै यो कथा संग्रहमा प्रकाशित १० वटा कथा तयार पारेको उल्लेख गरे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कु्लपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्यको क्षेत्रमा लामो समय राजनीतिमा क्रियाशील रहेका र वैचारिक रुपमा पनि स्पष्ट नेताहरुको प्रवेश हुनु सुखद पक्ष भएको बताए । उनले गजुरेलद्वारा लिखित कथा यथार्र्थपरक ढंगले प्रस्तुत गरिएको उल्लेख गरे ।
यसैगरी अखिल नेपाल जन साँस्कृतिक महासंघका अध्यक्ष इश्वरचन्द्र ज्ञवालीले गजुरेलका कथा साम्राज्यवादी र साँस्कृतिक साम्राज्यवादीमाथि प्रहार गर्न सफल रहेको टिप्पणी गरे ।
कथा संग्रहमा रहेका कथाले विस्तारवादले विचार र राजनीतिकै कारण क्रान्तिकारीलाई कसरी दमन गर्छ र लोकतन्त्रको हत्या गरिरहेको हुन्छ भन्ने कुरालाई ‘विदेशको जेलजीवन’ शीर्षकको कथाले राम्रोसँग चिरफार गरेको बताए । उनले गलत उद्देश्यका लागि गरिएको कम्युनिष्ट पार्टीको विभाजन र गलत उद्देश्यका लागि गरिएको एकता जनताको विरुद्धमा हुन्छन् भन्ने सन्देश पनि कथाले दिएको उनले बताए ।
साझा प्रकाशनका महाप्रबन्धक डोलेन्द्र शर्माले ‘झुल्कदो घाम’ निकै नै आशाको भरोसाको माध्यम बन्न गएको उल्लेख गरे ।
कथाकारका रुपमा गजुरेलको यो दोस्रो पुस्तकाकार कृति हो । यसअघि वि.सं. २०६० उनको प्रतिरोध कथासंग्रह प्रकाशित भएको थियो भने २०३८ सालमा मधु खण्डकाव्य प्रकाशित भएको थियो ।
राजनीतिक क्षेत्रमा भने उनका ‘ऐतिहासिक भौतिकवाद के हो ?’, ‘तीन महापुरुषको जीवनी (माक्र्स, लेनिन र माओ)’, ‘पेरु क्रान्तिबारे’, ‘नेपाली क्रान्तिका राजनीतिक पहलहरु’, ‘क्रान्ति र प्रतिक्रान्तिका श्रृृंंखला’, पोलिटिकल प्रेस्पेक्टिभ अफ दि नेप्लीज रिभोलुसन’ लगायतका कृति प्रकाशित छन् ।