काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार, घर घरमा सुरक्षा गर्ने कुकुरको पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।
बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेको सङ्ख्यासमेत बढ्न थालेको छ ।
आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका पनि रहेको गौतमले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत छ ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर घरमा यम परिवार संख्या अनुसार यमदीप दान गर्ने चलन समेत रहेको छ ।