सिन्धुपाल्चोकको गिराञ्चौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरेको एकीकृत नमूनामा बस्ती कात्तिक १२ गते एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् भूकम्प पीडितहरुलाई हस्तान्तरण गरियो ।
कुल ३५ रोपनी जग्गामा करीब ५ करोड लागतमा निर्माण गरिएको बस्तिमा ६५ वटा घरसहित एक सामुदायिक भवनसमेत रहेको छ । बस्तीमा खेल्नका लागि बालबच्चाहरुलाई पार्कसहित खेल मैदान समेत बनाइएको छ ।
राज्यले अरबौं रुपैयाँ पुननिर्माणमा खर्चिरहेको छ । तर हालसम्म कुनै परिणाम देखाउन सकेको छैन । भूकम्प पीडितहरुको लागि आएको राहतमा समेत भ्रष्टाचार गर्ने र कमिसन खाने सरकार, दलका नेता, कार्यकर्ता भएको मुलुकमा विकास निर्माण गर्न दृढ इच्छाशक्ति र इमान्दार प्रयास भयो भने व्यक्तिगत पहलमा पनि के गर्न सकिन्छ भन्ने साँच्चै उदाहारणीय र अनुकरणीय काम कलाकार दम्पती धुर्मस–सुन्तलीले प्रदर्शन गरेका छन् । उनीहरुको यस कार्यले सरकार र राजनीतिक दलका नेता कार्यकर्ताहरुलाई चुनौती खडा मात्र गरेको छैन राज्य शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार र कमिसनका पछाडि नाङ्गै दौडिरहेका दलका नेता कार्यकर्ताहरु, कर्मचारी प्रशासनलाई गतिलो झापड पनि हानेको छ ।
दल र राज्यका सबै निकायमा मौलाएको संस्थागत भ्रष्टाचारले आम श्रमजीवि नागरिकलाई आफ्नो दैनिकी चलाउनै नसकिने गरी महंगीले ढाँड भाँचिरहेको बेला आफ्नो सत्ता र भत्ता बढाउन राज्यको ढिकुटी रित्याउने सांसद र मन्त्रीहरुले विकास–निर्माणको फोस्रो भाषण दिनुको सट्टा धुर्मुस–सुन्तलीबाट सिकेर केही गर्नतिर समय खर्चे चाहिं जनताले पत्याउने थिए कि !
तर दलाल पुँजी र दलाल नेताहरुको जगजगी रहेको यो संसदीय व्यवस्थामा धुर्मस–सुन्तलीजस्ता युवायुवतीहरुले केही गरेपनि त्यसको दुरुपयोग गर्ने, कदरभन्दा अनादर, उत्साहभन्दा निरुत्साह थप्ने र आशाभन्दा निराशा बढाएर देश विकासको खम्बाको रुपमा रहेका युवाहरुलाई विदेश पलायन हुन वाध्य पारिने खेलहरु रोक्न युवाहरु नै अब अगाडि आउने कि ! आफ्नो रगतलाई पानी बनाएर पराइ भूमिमा श्रम बेचेर पठाएको रेमिटेन्समा लुट मच्चाउन कहिलेसम्म दिने यी दलाल र भ्रष्ट नेताहरुलाई ? अब लोकमानहरुको रत्यौलीको तमासे कहिलेसम्म बन्ने ? देश र जनताको निम्ति केही गरौ भन्ने युवाहरुले धुर्मुस–सुन्तलीबाट सिक्दै व्यवस्था बदल्ने अभियानमा पनि सरिक हुन जरुरी छ । व्यवस्था बदलेसम्म शोषण–उत्पीडन, विभेद, उपेक्षामा परेका आम नागरिकहरु हितरक्षा गर्न सकिन्न र देशको आमूल परिवर्तन र विकास–समृद्धि पनि सम्भव छैन ।