आजदेखि यमपञ्चक अर्थात तिहार सुरु, आज काग तिहार

आजदेखि यमपञ्चक अर्थात तिहार सुरु, आज काग तिहार

kag-tiharकाठमाडौं । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ ।

तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १३ गते कुकुर तिहार, १४ गते लक्ष्मीपूजा, १५ गते गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३७, र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।

आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।

आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

तिहारको अन्तिम दिन कात्तिक १६ गते मङ्गलबार कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइन्छ ।

यस वर्ष कात्तिक १६ गते मध्याह्न ११ बजेर ५२ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ ।