१ कात्तिक, २०७३ । दक्षिणी भारतको गोवामा आइतबार विहान नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच साइडलाइन वार्ता चलिरहेको बेला एक्कासी वार्ता कक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रवेश गर्नुलाई नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेलले नेपालमाथिको ठाडो हस्तक्षेप भनी टिप्पणी गरेका छन् । सोमबार मूलबाटोसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
“मोदीको यस्तो व्यवहारले नेपाल र चीनबीचको द्विपक्षीय वार्ता पनि भारतको निगरानीमा गर्न खोजिएको हो कि जस्तो देखियो ।” कँडेलले भने, “यो भारतसँग गरिएको २५ बुँदे सहमतिकै परिणाम हो भन्ने कुरा प्रष्ट हुन पुगेको छ ।” दुई राष्ट्र प्रमुखबीच गोप्य वार्ता चलिरहेको अवस्थामा तेस्रो मुलुकको राष्ट्रप्रमुख यसरी प्रवेश गर्नु भनेको कुटनीतिक मर्यादाको पनि ठाडो उलंघन हो भन्दै कँडेलले नेपालको परराष्ट्र र सुरक्षा नीति भारतको छाताभित्र पुगेको दावी गरे ।
“प्रचण्ड र सिबीच चलिरहेको वार्ताबीचमा विना अनुमति प्रवेश गरेर मोदीले यही सन्देश प्रवाह गर्न खोजेको देखियो ।” उनले भने, “त्रिपक्षीय वार्ता भनेर भारतीय हस्तक्षेपकारी नकारात्मक भूमिकालाई सकारात्मक रुप दिन खोजिएको छ । यो प्रवृत्ति अझ खतरनाक रहेकोले यसप्रति सबै देशभक्त तथा गणतन्त्रवादीहरु सचेत रहनु पर्छ र राष्ट्रिय स्वाधीनताको रक्षाको लागि संयुक्त संघर्षको उठान गर्नुपर्दछ ।”
स्मरण रहोस् कि क्रान्तिकारी माओवादीलगायत ८ वाम पार्टीहरुले भारतीय हस्तक्षेप तथा २५ बुँदे राष्ट्रघाती वक्तव्य (सहमति)का विरुद्ध ९ कात्तिकबाट सडक आन्दोलन चर्काउने तयारी गरिरहेका छन् ।