एजेन्सी । पाकिस्तानमा भारतीय टेलिभिजनको प्रशारणमा रोक लगाइएको छ ।
पाकिस्तानी मिडिया नियामक निकायले सबै भारतीय च्यानलको प्रसारणमा रोक्न निर्देशन दिएको हो ।
पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पीईएमआरए) ले एक वत्तव्यमा स्थानीय निजी च्यानलमा विना स्विकृतति भारतीय मिडियाका अन्तर्वार्ता, रियलिटी शो र धाराबाहिकको प्रसारण भइरहेको भन्दै तत्काल रोक्न निर्देशन दिइएको छ ।
भारत र पाकिस्तानबीच बढ्दो तनावकाबीच भारतीय टेलिभिजन च्यानलको प्रशारणमा रोक लगाउन दबाब बढेको थियो ।
यसैबीच, पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरक संघले पाकिस्तानमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
केही दिन पहिले भारतीय चलचित्र उत्पादकहरुको संघ (मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया (आइएमपिपिए) ले पाकिस्तानी कलाकार तथा चलचित्र प्राविधिक हरुलाई भारतीय चलचित्र उद्योग (बलिउड) मा काम गर्न प्रतिबन्ध लगाएको थियो ।
आइएमपिपिएले गरेको निर्णयको जबाफमा पाकिस्तानी चलचित्र उद्योगका लगानीकर्ताहरुले पनि यस्तो अप्रिय निर्णय लिएको जनाइएको छ ।
दुईदेशबीचको राजनीतिक सम्बन्ध सामान्य अवस्थामा नफर्कुन्जेलसम्म सबैखाले भारतीय चलचित्र प्रदर्शन तथा वितरण कार्य निलम्बनमा परेको हो ।