हङकङको जोर्डनमा नेपाली युवाबीच भिडन्त

प्रकाशित मिति : २०७३ आश्विन १६

hongkong-fightकाठमाडौं । हङकङमा नेपालीबिच सामूहिक भिडन्त भएको छ । नेपाली युवाको भिडन्तलाई नियन्त्रणमा लिन प्रहरीले कम्तीमा चार राउण्ड गोली चलाउनु परेको थियो ।

हङकङको जोर्डनमा आइतबार बिहान ६ बजे नेपाली युवाहरु बिच छुरा हानाहान भएको हो । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

दुई समूहबीच भिडन्त भइरहेको लडिरहेको खबर एक ट्याक्सी चालकले दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा दुई जना गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारको लागि क्वीन एलिजावेथ अस्पतालमा लगिएको छ । घाइते मध्ये एक जनाको कमर र खुट्टामा गोली लागेको छ भने अर्काको पाखुरामा गोली लागेको छ ।

पाखुरामा गोली लागेका व्यक्तिको छुरा प्रहारबाट टाउकोमा गहिरो चोट लागेको छ । घटनामा संलग्न युवाहरुको परिचय नखुलाइए पनि उनीहरु हङकङ आईडी भएका नेपाली रहेको जनाइएको छ ।