रुसले अमेरिकालाई दियो शान्ति प्रयास समाप्त हुने चेतावनी

रुसले अमेरिकालाई दियो शान्ति प्रयास समाप्त हुने चेतावनी

churkin-unएजेन्सी । अमेरिका र बेलायतले सिरियाका विषयलाई लिएर आफूमाथि प्रयोग गरेको शब्दको रसियाले कडा प्रतिवाद गरेको छ ।

राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठकका क्रममा राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि सामन्था पावरले रसियाले सिरियामा अस्विकार्य, लफ्फाजी र बर्बरतापूर्ण कार्य भएको टिप्पणी गरेकी थिइन् ।

क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले यसप्रकारका शब्द प्रयोगले सिरियामा पाँच वर्षदेखि जारी हिंसा अन्त्यका लागि सुरु गरिएको प्रयास समाप्त हुनसक्ने चेतावनी समेत दिएका छन् ।

सिरियाको एलेप्पोको पूर्वी क्षेत्रमा सिरियाली सेनाले गरेको कारबाहीका क्रममा दर्जनौं मारिएपछि अमेरिका, बेलायत र फ्रान्सले सुरक्षा परिषदको आकस्मिक बैठक बोलाउन माग गरेका थिए ।

सोही अनुसार बसेको परिषदको बैठकमा अमेरिका र रुसबीच आरोप प्रत्यारोप चलेको थियो । अमेरिकी स्थायी प्रतिनिधि पावरले रसियामाथि कडा शब्द प्रयोग गरेपछि रसियाले पनि त्यसको विरोध गरेको हो ।

राष्ट्र संघका लागि रसियाली स्थायी प्रतिनिधि भिटाली चुर्किनले सिरियामा शान्ति स्थापना गर्नु लगभग कठिन कार्य भएको भन्दै अमेरिकी सहयोग पाउँदै आएको मुख्य विपक्षी गठबन्धनले युद्धविराम सम्झौता पालना नगर्दा पछिल्लो परिणाम निम्तिएको बताएका थिए । सिरियाली सेनाले पनि विद्रोहीले युद्धविराम पालना नगरेको यसअघि नै बताएको थियो ।