भारतको चेतावनी, ‘सिसाको घर हुनेले छिमेकमा ढुंगा हान्नु हुन्न’

भारतको चेतावनी, ‘सिसाको घर हुनेले छिमेकमा ढुंगा हान्नु हुन्न’

susma-swarajएजेन्सी । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले पाकिस्तानलाई आतंकवादको संरक्षण गर्ने देशको सूचीमा राखेर कारबाही गर्नुपर्ने बताएकी छन् ।

संयुक्त राष्ट्रसंघको ७१ औं महासभालाई सम्बोधन गर्दैै स्वराजले जम्मू कास्मिर भारतको भूमि भएको भन्दै यसलाई अलग गर्ने पाकिस्तानी चाहान कहिल्यै पूरा नहुने बताइन् ।

उनले सिसाको घर हुनेले अर्काको घरमा ढुंगा हान्न नहुने भन्दै बलुचिस्तानमा व्यापक मानवअधिकारको हनन भइरहेको बताएकी छन् ।

विदेशमन्त्री स्वराजले आफ्नो सम्बोधनका क्रममा बलुचिस्तानको मुद्धा उठाउँदै भनिन्, ‘२१ तारिखमा पाकिस्तानी प्रधानमन्त्रीले भने कि भारतमा मानवअधिकार उल्लंघन भइरहेको छ । म यही भन्छु कि जसको घर सीसाको छ उसले अर्काको घरमा ढुंगा हान्नु हुन्न । तपाई हेर्नुहोस्, बलुचिस्तानमा के भइरहेको छ ?’

उनले अहिलेको विश्वका लागि आतंकवाद सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै यसका लागि विश्वका नेताहरुमा दृढ इच्छाशक्तिको आवश्यकता रहेको बताइन् ।

स्वराजले राष्ट्रसंघको स्थायी र अस्थायी परिषदमा विस्तार गर्न जरुरी रहेको उल्लेख गरिन् । उनले पाकिस्तान तर्फ लक्षित गर्दै संसारमा केही देशले आतंकवादलाई जन्माएर, पालेर निर्यात गरिरहेको जिकिर गरिन् ।

आतंकवादीले मानवअधिकारको सबैभन्दा बढी उल्लंघन गरेको उल्लेख गर्दै उनले निर्दोष मानिसहरुलाई निशाना बनाइरहेको बताइन् ।