१.मिथिला राज्यमा क्रान्तिकारी माओवादीको सांगठानिक तथा राजनीतिक उपस्थिति कस्तो रहेको छ ? बताइदिनुस् न ।
सापेक्षिक हिसाबले मिथिला राज्यमा क्रान्तिकारी माओवादीको सांगठानिक र राजनीतिक अवस्था राम्रो छ । सबभन्दा राम्रो सिराहा, त्यसपछि महोत्तरी, धनुषा, सर्लाहीमा छ । तुलनात्मक रुपमा अलि कमजोर सप्तरीमा छ । सरकारी अफिसहरुमा केही कार्यक्रम हुँदा प्रायः सबैमा हामी उपस्थित हुन्छौं र जनताहरुको कामका लागि हामी हस्तक्षेपकारी भूमिका खेलिरहेका छौं ।
पार्टी र क्रान्तिबाट केही अवसरवादी तत्वहरु पलायन भए । तर अधिाकंश क्रान्तिकारी साथीहरु अहिले पनि पार्टीप्रति प्रतिबद्ध भएर लागिरहनु भएको छ । हामीले जुन व्यवस्थाका विरुद्ध दशवर्ष सशस्त्र संघर्ष ग¥यौं, त्यो व्यवस्था अहिले पनि कायम छ । अहिलेको राज्यव्यवस्था भनेको प्रतिक्रियावादी व्यवस्था नै हो ।
यसबाट सर्वहारा वर्गको मुक्ति सम्भव छैन भनेर जनतामाझ हामीले आफ्ना विचार र राजनीतिलाई लिएर गएका छौं । दक्षिणपन्थी अवसरवाद, प्रतिक्रियावाद, विस्तारवाद र साम्राज्यवादको विरोध र भण्डाफोर कार्यक्रम गरी आफ्नो पहिचान कायम गरिरहेका छौं ।
२.दशवर्षे जनयुद्धमा हजारौं मधेसी जनयोद्धाहरुले त्याग, तपस्या र वलिदान गरे, तर त्यस मुताविक राज्यव्यवस्थामा परिवर्तन नहुँदा जनतामा त्यसको कस्तो प्रभाव परेको पाउनु भएको छ ?
दशवर्षे जनयुद्धमा हजारौं मधेसी जनयोद्धाहरुले त्याग, तपस्या र वलिदान गरे तर त्यस अनुसार राज्यव्यवस्थामा परिवर्तन नहुँदा जनतामा खासगरी आफूलाई माओवादी भनाउँदा संशोधनवादीप्रति घृणा, आक्रोश चुलिएको पाइन्छ । सहिदहरुको बलिदान, कार्यकर्ताको त्याग र जनताको परिवर्तनको चाहनामाथि गद्दारी गर्ने दक्षिणपन्थी तत्वसँग पुनः बदला लिने अठोट गरेको देखिन्छ ।
झन् माओवादीका नाममा देश बेच्ने, अकूत सम्पत्ति जम्मा गर्ने, दलाली गर्ने, भ्रष्टाचार गर्ने राजनीतिक नेता, सांसद, मन्त्रीहरुलाई जनताले ‘खुन र पसिना चुस्ने उपियाँ रहेछन्’ भन्ने गरेको पाइन्छ । जनताका छोराछोरीहरुले बगाएको रगतमाथि जनयुद्धको नेतृत्व गरेकाहरुले नै खेलवाड गरेको उनीहरुको निष्कर्ष छ । उनीहरुको भण्डाफोर गर्दै जनताहरु गोलवन्द भई उठिरहेका छन् ।
३ मधेसी जनतालाई अधिकारसम्पन्न कसरी बनाउन सकिन्छ ? के मधेसवादी दलहरुबाट मधेशका शोषित–उत्पीडित जनताले मुक्तिको आशा गर्न सक्छन् ?
–मधेसी समुदायलाई खस पहाडी उच्च अहंकारवाद, सामन्तवाद र भारतीय विस्तारवादबाट बारम्बार वर्षौदेखि उत्पीडित, अपहेलित हुँदै आएको सर्वविदितै छ । त्यसबाट मुक्तिको लागि मधेसी समुदायले बारम्बार आन्दोलन गरेकै हुन् । तर आफ्नो वास्तविक मुक्ति कस्ले गर्ने हो ? हाम्रो मुक्तिदाता को हुन् भनेर नबुझ्दा बारम्बार धोका खाइरहेका छन् ।
भद्रकाली मिश्र, वेदानन्द झा, रामेश्वर राय, उपेन्द्र यादवदेखि महन्थ ठाकुरसम्म आइपुग्दा एउटै इतिहास दोहोरिरहेको छ । किनकि मधेश, देश र संसारमा दुई वर्ग छन्, एउटा शोषक र अर्का शोषित । माथि उल्लेखित नेताहरु शोषक, सामन्त र दलाल पुँजीपति वर्गका प्रतिनिधि भएको हुनाले उनीहरुबाट वास्तविक शोषित उत्पीडित मधेसीहरुले मुक्ति पाउने कुरा कल्पना नै गर्न सकिन्न । किनकि, एउटा उखान छ– चोर चोर मसिऔत भाई ।
तसर्थ, मधेसी जनताको वास्तविक अधिकारको या मुक्तिको लागि सच्चा सर्वहारा वर्गको नेतृत्वमा माक्र्सवाद–लेनिनवाद–माओवाद सिद्धान्तको आधारमा नयाँ जनवादी क्रान्तिबाट मात्र सम्भव छ । त्यसको लागि सही माओवादी पार्टी र सर्वहाराकृत विचार भएको पार्टीले मात्र गर्ने भएको हुनाले त्यस्ता नेता र पार्टीमा गोलबन्द भई आफ्नो मुक्तिको लागि अग्रसर हुन जरुरी छ ।
४.राजनीति हिसाबले हेर्दा मधेशका समस्याहरु के के हुन् ? राज्यव्यवस्थाबाट भएका उत्पीडनका स्वरुपहरु के कस्ता रहेका छन् ?
राजनीतिक रुपले हेर्दा मधेसका समस्या जातीय समस्या भनेर यो सरकारले नबुझिदिएर भएको समस्या हो । राज्य व्यवस्थाबाट राजनीतिक, भौतिक, आर्थिक, मधेसीहरुलाई दुई नम्बरको नागरिक बुझ्ने समस्या नै मुख्य समस्या हो । मधेसी भनेर सँधै अपहेलना गर्ने, धोती, मधिसे, भैया भनेर होच्याउने, राज्यका विभिन्न अङ्गहरुमा समानुपातिक समावेशी नगराउने, जनसंख्यालाई गौण बनाउने, आफ्नै देशमा दोस्रो दर्जाको नागरिक देख्ने लगायतका उत्पीडनका स्वरुपहरु छन् ।
५.मधेसमा सर्वहारावर्गीय आन्दोलन (कम्युनिष्ट आन्दोलन) उठ्न नसक्नुमा चाहिं के कारण देख्नुहुन्छ ?
मधेसमा सर्वहारा वर्गीय ठूला ठूला आन्दोलन भएका छन् । भकारी फोर आन्दोलन, किसान आन्दोलन, विराटनगर जुटमिलको आन्दोलन, ०३६, ०४६ साल लगायतका आन्दोलनहरु भएका छन् । त्यसबाट सर्वहारा वर्गीय आन्दोलनलाई ठिकसँग अगाडि बढाउनको लागि जसरी कम्युनिस्ट पार्टी अगाडि आउनु पर्दथ्यो, त्यसमा केही कमजोरी भएका छन् ।
किनकि, अहिलेसम्म सर्वहारा वर्गको पार्टीको नेतृत्व मधेसबाट उठेको छैन । यसमा निम्न पुँजीपति चिन्तन, सामन्तवादी प्रभाव, परेको हुनाले र सही विचार बुझ्न नसक्नु कारणहरु हुन् । त्यसकारण अब माथिका विचारबाट उठ्नको लागि सही मालेमावादी सिद्धान्तको अध्ययन र त्यसलाई व्यवहारबाट जोड्दै अगाडि बढ्न जरुरी छ । त्यसको लागि सिद्धान्तबाट व्यवहार, व्यवहारबाट सिद्धान्त फेरि सिद्धान्तबाट व्यवहार हुँदै अगाडि बढ्नु र बढाउनु पर्दछ । यही प्रक्रियाका बीचबाट नै मधेशमा सर्वहारावर्गको कम्युनिष्ट क्रान्तिकारी पार्टी निर्माण गरेर अगाडि बढ्न सकिन्छ ।
६.मधेशका समस्याहरुको वैज्ञानिक समाधान के हुन सक्छ ? यससम्बन्धी क्रान्तिकारी माओवादीको नीति, योजना के छ ?
मधेसका समस्याहरुको वैज्ञानिक समाधान द्वन्द्वात्मक भौतिकवादमा आधारित माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा आत्मनिर्णयको अधिकारसहितको पहिचानमा आधारित संघीयता, पूर्ण समानुपातिकता यसको लागि जातीय आन्दोलनसँगै वर्गीय आन्दोलनबाट मात्र मुक्ति सम्भव हुन्छ ।
जातीय आन्दोलनबाट जातिवादमा फस्छ र फेरि सामन्तवाद, साम्राज्यवाद, विस्तारवादलाई फाइदा हुन्छ । यसर्थ हाम्रो पार्टीले मधेस लगायत सबै उत्पीडित जातजाति, क्षेत्र, लिङ्गलाई पूर्ण मुक्तिको लागि सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्तिबाट गर्ने नीति लिएको छ ।
७. मधेशमा भारतीय हस्तक्षेपका उत्पीडनहरु पनि त्यत्तिकै देखिन्छन् । खासगरी सीमामा बस्ने नेपालीहरुले के कस्ता समस्याहरु झेल्नु परेको देख्नुहुन्छ ?
–सीमामा बसेका मधेसीहरु भारतीय विस्तारवादका समस्या वर्षौदेखि चल्दै आएका छन् । कपिलवस्तुको महुलिसागर बाँध होस्, मेचीको काँकडभिट्टामा सयौं विघा जमिन होस्, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही लगायतका मधेसका विभिन्न जिल्लाहरुमा सयौं ठाउँमा सीमा स्तम्भहरु सारिएका छन् । बेलाबेलामा मधेसको सीमाभित्र पसी सर्वसाधारण जनताहरुमा आतंक मच्चाएका छन् ।
त्यो सुनसरीलगायत जिल्लाहरु हुन्, समय समयमा भारतीय बजारमा गएको बेला दुःख दिएको विभिन्न पत्रिकामार्फत् सार्वजनिक भइरहेकै छन् । अहिले बोर्डरमा भारत सरकारले एकतर्फी बाँध बाँध्ने कामले आउने समयमा मधेसका धेरै गाउँ डुबानमा परेर विस्थापित हुने त्यत्तिकै सम्भावना देखिन्छ । तसर्थ यस विषयहरुमा मधेसका स्वाभिमानी जनसमुदायहरु संगठित भएर मात्र यसको समाधान हुनसक्छ । नत्र अझ उत्पीडनका दिनहरु आउने संकेत भारतपक्षले देखाइरहेका छन् ।
८. सप्तरीको तिलाठीका जनताले त सीमामा भारतीय पक्षबाट एकतर्फी रुपमा बाँधिएको बाँध भत्काइदिए र भारतीय हस्तक्षेपको प्रतिरोध गरे, त्यसको सिंगो मधेसमा कस्तो प्रभाव परेको पाउनु भएको छ ?
सप्तरी तिलाठीका जनताले सीमामा भारतीय पक्षको हस्तक्षेपको प्रतिरोध गरेर सिंगो मधेस मात्र होइन, पूरै नेपाललाई खासगरी यो खस पहाडीया अहंकारवादलाई हामी मधेसका विना बर्दीका सिपाही हौं भन्ने सन्देश दिएका छन् । यसको प्रभाव सम्पूर्ण देशैभरि सकारात्मक परेको हुनाले दलाली गर्ने शासकहरुलाई पाठ सिक्न सन्देश दिएका छन् ।
यो देशको एक इन्च जग्गा भारतलाई नछोड्न पाठ सिकाएका छन् । यस्तै भारतले बोर्डरमा बाँध बाँध्दा बाँके बर्दियाका जनताले पनि साहसिक काम गरेका छन् तर विडम्बना ! यो देशको सरकार, आफूलाई राष्ट्रवादी भन्ने पार्टी, आफूलाई मधेसका मसिहा ठान्नेहरु मौन छन् । तर तसर्थ जहाँ जुन ठाउँमा यो देशप्रति कसैले आँखा देखाउने कोशिस गर्यो भने तिलाठीको जनताजस्तै उठेर प्रतिरोध गर्ने सन्देश दिएका छन् ।
९.मधेशमा वर्ग अन्तरविरोध चाहिं के कस्तो अवस्थामा रहेको छ ?
मधेसमा वर्ग अन्तरविरोध उत्कर्षको रुपमा रहेको छ । किनकि, मधेसीहरु पहाडीया अहंकारवाद र भारतीय विस्तारवाद, सामन्तवाद र दलाल पुँजीपतिबाट आजित भएका छन् । बारम्बार संघर्षहरु उठ्दा पनि कुनै न कुनै रुपमा घुमिफिरी रुम्जाटार भनेजस्तै भएका छन् ।
अर्थात् विभिन्न संघर्षहरुमा सयौंको संख्यामा शहादत प्राप्त गर्दा पनि दलाल पुँजीपति र सामन्तवर्गको गोलचक्करमा आन्दोलन समाप्त भएको हुनाले सम्पूर्ण मधेसी जनताहरु अब आफ्नो पूर्ण मुक्तिको लागि सर्वहारा वर्गको नेतृत्वमा जातीय र वर्गीय मुक्तिबाट मात्र सम्भव हुने कुरा बुझेर त्यही अनुसार संगठित भई अगाडि बढ्न जुर्मुराईरहेका छन् ।
१०.क्रान्तिकारी माओवादीप्रति मधेसी जनता आफ्नो मुक्तिका निम्ति आशावादी हुनुपर्ने कारणहरुबारे संक्षिप्तमा प्रकाश पारिदिनुस् न ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले उत्पीडनमा परेका जात, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई वास्तविक मुक्ति यो प्रतिmक्रियावादी सत्ताबाट नहुने भएको हुनाले यसमा वा यो सरकारमा प्रतिनिधित्व गर्ने सामन्त, दलाल, नोकरशाह पुँजीपति र प्रतिक्रियावादीहरु जबसम्म आमूल नष्ट गरिंदैन, त्यसको ठाउँमा उत्पीडित वर्ग र क्षेत्रमा पूर्ण सत्ता हस्तान्तरण गर्ने नीति लिइएको हुनाले मधेसी जनतालगायत सम्पूर्ण नेपाली जनताहरु क्रान्तिकारी माओवादीप्रति आशावादी बनेका छन् ।
किनकि, अहिले नेपालमा आफूलाई राष्ट्रवादी भनाउँदाहरु एकपछि अर्को गरी नेपालका विभिन्न नदीनालाहरु भारतसँग सम्झौता गरी नेपाली नदीबाट नेपालमै सिचाईं गर्न नपाउने, विभिन्न बाँध बाँधेर नेपाल डुबाउने, नेपालीहरुलाई विद्युत उत्पादन गर्न नदिई भारतीयलाई विद्युत उत्पादन गर्न दिनेको विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी)ले राष्ट्रियता, जनतन्त्र, जनजीविका, अपर कर्णालीलगायतका मुद्दाहरु उठाई नेपालीहरुको पक्षमा आवाज उठाएको हुनाले सम्पूर्ण नेपालीहरु आशावादी भएका छन् ।
११. अन्तमा, आम शोषित–पीडित मधेसी, थारु, मुस्लिम, दलित तथा जनजाति लगायतका जनसमुदायमा के आव्हान गर्न चाहनुहुन्छ ?
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भएको स्वतन्त्र देश हो । नेपाल एकीकरण हुनुभन्दा अगाडि यहाँ विभिन्न जनजाति, मधेसी, दलित, थारुहरुको राज्य स्थापना भएको इतिहासमा पाइन्छ । नेपाल एकीकरण भएपश्चात माथि उल्लेखित समुदायहरुलाई यो राज्यसत्ताबाट वञ्चित गराई विभिन्न किसिमका उत्पीडनमा राखिंदै आएका छन् ।
एउटा मुख्य खस पहाडीया अहंकारवादले सामन्तवादी व्यवस्था हुँदै दलाल पुँजीपतिमा परिणत भई आम शोषित पीडित मधेसी, थारु, मुस्लिम, दलित, महिला, जनजाति लगायतलाई भ्रममा पारिरहेका छन् । आफूलाई माओवादी भन्नेहरु जो आफ्नो चुनावी मुखपत्रमा विभिन्न पहिचानसहितको जाति क्षेत्रलाई राज्य दिने उल्लेख गरे तापनि आज छेपारोको जस्तो रङ बदलेर यिनै जातिहरुमाथि बुल्डोजर चलाएर दबाउन खोजिरहेका छन् ।
त्यस पार्टीका नयाँ जोगी जुन चुनाव बहिष्कार गरेकाहरु, आज शानका साथ यही प्रतिक्रियावादी संविधान लागू गराउने अठोटका साथ अगाडि बढिरहेका छन् । बाबुरामजीले अब माक्र्सवाद पुरानो भएको हुनाले योबाट अब जनताको मुक्ति नहुने फालाकीरहेका छन् । सारमा माक्र्सवादी वा माओवादी भनाउँदाहरुले मालेमावादको रटान लगाएर मालेमावादकै गला रेटिरहेका छन् । आफ्ना मालिक विस्तारवाद र साम्राज्यवादको दलाली गरेर दलाल पुँजीवाद लाद्न खोजिरहेका छन् ।
त्यसका विरुद्ध आम शोषित पीडित मधेसी, थारु, मुस्लिम, दलित, महिला तथा जनजाति लगायतका सम्पूर्ण जनसमुदायहरु अब अरुको निम्ति होइन कि आफ्नो र आफ्नो वर्गको लागि, आफ्नो सम्मानको लागि, आफ्नो देशको लागि र संसारका उत्पीडित वर्गको लागि माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकमा एकभई लड्न जरुरी छ ।
सही सर्वहारावादी विचारको आधारमा आफ्नो जित सुनिश्चित गर्नको लागि संगठित र अनुशासित भई अगाडि बढेमा संसारको कुनैपनि ताकतले उत्पीडित वर्गलाई रोक्ने कोशिस गरे ती आफै खरानी भएर जानेछन् र सर्वहारा वर्गको मुक्ति सुनिश्चित हुनेछ ।