पहिरोमा पुरिएर पर्यटकसहित चारको मृत्यु

प्रकाशित मिति : २०७३ आश्विन ७

काठमाडौं । मनास्लु पदयात्रामा निस्किएका विदेशी पदयात्री र पथप्रदर्शकहरु गोरखाको करौंजामा गएको पहिरोमा पुरिएका छन् ।

मनास्लु पदमार्गको उहिया गाविसस्थित तातोपानी र केरौंजा–९ जोड्ने पुल नजिकै दोभार भन्ने ठाउँमा पहिरोमा परेर एक स्पेनी नागरिक र तीन पथप्रदर्शकको मृत्यु भएको छ ।

बिही गाविसबाट फर्कँदै गर्दा एक जना स्पेनिस नागरिकसहित तीन जना नेपाली पथप्रदर्शकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

तातोपानी र केरौंजा–९ जोड्ने पुल नजिकै दोभार भन्ने ठाउँमा विहान ८ बजेतिर गएको पहिरोमा मनास्लु पदयात्रामा गएका पदयात्रीहरु परेका हुन् ।

एक दर्जन स्पेनी नागरिक र पद प्रदर्शक गरी झण्डै दुई दर्जनको टोली पदयात्रामा निस्किएको थियो । बुधबार रातीदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पदयात्री टोली दोभारको पहिरोमा परेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी एक स्पेनिस नागरिकसहित पथप्रदर्शक (गाइड) ३५ वर्षका दोर्जे लामा, ३० वर्षका छिरि शेर्पा र क्यान नेपाल नामक संस्थाकी कर्मचारी ओखलढुङ्गाकी २५ वर्षकी रञ्जना बस्नेतको मृत्यु भएको छ ।

पहिरोमा परेका अन्य १७ जनाको उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याएको छ । घाइतेहरुलाई फिस्टेल एयरको चार वटा हेलिकोप्टरमा काठमाडौं ल्याएको हो । काठमाडौं ल्याइएका उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ११ स्पेनी र २ नेपालीलाई अर्थाेपेडिक र जनरल सर्जरी विभागमा भर्ना गरी उपचार भइरहेको छ भने अन्यलाई उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

घाइते हुने दुई नेपालीमा सोलीकी २४ वर्षीया प्रीति मगर र सोलुकै २५ वर्षीया चेतकुमारी मगर रहेकी छन् । उनीहरुको टाउको तथा खुट्टमा चोट लागेको छ ।

घटना घटेको दुई घण्टापछि मात्रै सदरमुकाममा खबर आई पुगेको थियो । प्रहरीलाई सूचना आएपछि सिर्दिबासको जगत र माछिखोला प्रहरी चौकीका साथै आरुघाट इलाका प्रहरी कार्यालयबाट प्रहरीहरु खटिएका थिए । आरुघाटबाट घटनास्थल पुग्न दुई दिन लाग्छ । स्थानीयबासीका अनुसार १५ जना पर्यटकको टोली उहियाको खोर्लामा बास बसेर मनास्लु क्षेत्रतर्फ गएका थिए ।

गत वर्ष वैशाखमा गएको भूकम्पले गोरखा, सिन्धुपाल्चोक लगायतका जमिनहरु धाँजा परेका छन् । धाँजा परेको जमिन अध्याधिक वर्षा भएपछि पहिरो गएको हो । घटनास्थल गोरखा सदरमुकामबाट करिब २२ कोष टाढा पर्छ ।