cp-gajurelयही २०७३ भाद्र २६ र २७ गते देशका समग्र भागबाट सहभागी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको एउटा राष्ट्रिय भेलाले ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ गठन गरेको समाचारले नेपालको राजनीतिक बृत्तमा निकै चर्चा पायो ।

केपी ओलीले मोदी सरकारको इच्छाअनुसार काम नगरेको भन्ने अभियोगमा उनलाई हटाएर ओली सरकारकै प्रमुख साझेदार पार्टी माओवादी केन्द्र (माके) र सरकार संचालन गर्ने सर्बोच्च समितिका प्रमुख प्रचण्डलाई अघि सारेर भारतको मोदी सरकारले प्रधानमन्त्रीको पगरी उनलाई नै गुथाइदियो ।

मोदीद्वारा घुमाउरो पारामा नियुक्त गरिएका प्रधानमन्त्री प्रचण्डलाई पहिले राखेका शर्तहरुलाई संस्थागत गर्नका लागि भारतले “राजकीय भ्रमण”मा निम्त्याएपछि नेपाली संचारजगतद्वारा झण्डै दुई हप्तामा अरु समाचार प्रायः शून्य गराएर नेपाललाई “भारत भ्रमणमय” बनाइएको छ । यस प्रकारको अवस्थामा पनि यो जनगणतान्त्रिक मोर्चाको राष्ट्रिय भेला र यसले गरेका निर्णयले सामान्य चर्चा पाउनुलाई ठूलै कुरो ठानिएको छ ।

भाद्र २७ गते आयोजित पत्रकार भेटघाट कार्यक्रमपश्चात प्रायःजसो संचार माध्यममा “वैद्य माओवादी पनि चुनावमा सहभागि हुने” भन्ने शिर्षकमा छापिएका समाचारहरुले नेपालमा त व्यापकता पायो नै, विदेश बस्ने नेपालीले पनि अनलाइन समाचारमा यो खबर पढ्ने राम्रै अवसर पाए ।

के यो मोर्चाको गठन केही प्रमुख संचारमाध्यममा आएजस्तै “चुनावमा भाग लिनका लागि” नै हो त ? यी र यस्तै अन्य प्रश्नको सही जवाफ नेपाली जनताले सुन्न वा पढ्न चाहेका छन् । मोर्चा कै सन्दर्भमा केन्द्रीत भएर यो संक्षिप्त लेख यहाँ प्रस्तु गरिएको छ । विषयलाई आधिकारिक रुपमा प्रस्तुत गर्नका लागि राष्ट्रिय भेलामा पारित नीति तथा कार्यक्रमलाई आधार बनाइएको छ ।

संयुक्त मोर्चा
देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो), नेपाल एउटा संयुक्त मोर्चा संगठन हो । यो समान विचार राख्ने, समान उद्देश्य राख्ने शक्ति, व्यक्तिहरुको संयुक्त मोर्चा हो । संयुक्त मोर्चाको आवश्यकतालाई देजमोले यस प्रकार परिभाषित गरेको छ : “समान उद्देश्य भएका शक्तिहरुका बीचमा आफ्ना उद्देश्य प्राप्तिका लागि शक्ति संचय गर्ने, ती शक्तिहरुलाई एकताबद्ध गराउने विरोधीहरुमाथिको प्रहारलाई सशक्त बनाउन भूमिका खेल्ने संयन्त्र संयुक्त मोर्चा हो । त्यसप्रकारको मोर्चा कहिलेकाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि बन्ने गरेको पाइन्छ । दोस्रो विश्वयुद्धका दौरानमा हिटलरले नेतृत्व गरेको फासीवादी शक्तिका बिरुद्ध तात्कालीन सोभियत संघ लगायतका राष्ट्रहरुका वीचमा बनेको फासिवादविरोधी अन्तर्राष्ट्रिय मोर्चाले विश्वलाई फासिवादी पञ्जामा पर्नबाट बचाएको थियो ।

भियतनाममाथि भएको अमेरिकी आक्रमणका बिरुद्ध भियतनामको श्रमिक पार्टीको पहलमा बनेको राष्ट्रिय स्तरमा र त्यसलाई समर्थन गर्दै अन्तर्राष्ट्रिय स्तरमा बनेका विभिन्न प्रकारका संयुक्त मोर्चाको दवाव अमेरिकालाई भियतनामबाट पछि हटाउनका लागि एउटा प्रमुख कारण बनेको थियो । चीनमा जापानको आक्रमण भएका बेलामा जापानी आक्रमण बिरोधी संयुक्त मोर्चाले खेलेको महत्वपूर्ण भूमिकाको कारण त्यतिखेर जापान पछि हट्न वाध्य भएको थियो । यसको नेतृत्व गर्ने चीन कम्युनिष्ट पार्टीको नेतृत्वमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न हुनका लागि यसले महत्वपूर्ण भूमिका खेलेको थियो ।” (हेर्नुहोस् देजमोको नीति तथा कार्यक्रम) ।

नेपालमा पनि यस प्रकारको संयुक्त मोर्चा निर्माण भएको हामीसँग अनुभव छ । नेपालमा बहुदलीय व्यवस्थाको स्थापना भएको लगत्तै पछि तत्कालीन नेकपा (मशाल)को पहलमा ‘नयाँ जनवादी मञ्च‘को गठन भएको थियो । जनयुद्धको तयारीको सिलसिलामा ‘संयुक्त जन मोर्चा‘को गठन गरेर यसलाई क्रियाशिल बनाइएको थियो । नेपालमा अघि बढेको जनयुद्ध सफलताको सन्निकट पुगेको बेलामा क्रान्तिको नेतृत्व गरिरहेको एउटा समूह नै प्रतिकृयावादीहरुसँग मिलेर त्यही क्रान्तिलाई प्रतिक्रान्तिमा बदल्ने काममा सक्रिय भयो ।

प्रतिक्रान्तिका श्रृङ्खला अघि बढे । अहिले हाम्रो देशको परिस्थिति झण्डै झण्डै २०५० सालको जस्तो अवस्थातिर पुगेको जस्तो देखिन्छ । यसको अर्थ हामी ठिक ०५० साल मै पुग्यौं भन्ने होइन । २३ वर्षको अन्तरालमा धेरै कुराहरु फेरबदल भएका छन् । तथापि ठूलो धक्का र प्रतिक्रान्तिले गर्दा अस्थायी रुपमा यो प्रतिगमनको स्थितिको सिर्जना भएको हो । त्यसकारण, त्यतिखेर बनेको र क्रियाशिल रहेको संयुक्त मोर्चाबाट धेरै कुराहरु सिक्ने र व्यवहारमा लागू गर्नुपर्ने अवस्था आएको छ ।

संघर्ष र सत्ताको साधन
नेपालको इतिहासको पछिल्लो कालखंण्डमा, विशेषत : २०५२ र २०६२ सालका वीचमा अनि २०६२, २०६३ सालमा देश आन्दोलित र उद्देलित थियो । जतासुकै उथल पुथल, आन्दोलन, क्रान्तिकारी उभार देखिन्थ्यो । तर आज देशमा आमूल परिवर्तनका एजेण्डालाई लिएर कुनै प्रभावकारी आन्दोलन छैन । देशमा यति ठूला ठूला राष्ट्रघात, भ्रष्टाचार, दुराचार, उत्पीडन हुँदा पनि समाजमा खासै आक्रोस पोखिएको, प्रतिकृया व्यक्त भएको, उथलपुथल भएको देखिँदैन ।

कुनै समयमा देशको ठूलो हिस्सामा जनसरकारहरु गठन भएका थिए । जनताले आफ्नो अधिकारको राम्रोसँग प्रयोग गरेका थिए र आफैंले शासन गर्दा हुने अनुभूति पनि हासिल गरेका थिए । तर अहिले फेरि उही पुरानै शासन फर्किएको छ, प्रतिक्रान्ति भएको छ । यस प्रकारको अवस्थामा मोर्चाले कस्तो भूमिका खेल्ने भन्ने विषयको ठूलो भूमिका रहेको छ । देजमोले यस विषयमा आफ्नो नीति यस प्रकार स्पष्ट गरिएको छ :

“हाम्रो संयुक्त मोर्चाको भूमिका राम्रो सँग परिभाषित हुनु आवश्यक छ । यो मोर्चाको भूमिका स्पष्ट छ, यो संघर्षको साधन हो र सत्ताको पनि साधन हो । वर्ग संघर्षको विकास र समग्र क्रान्तिकारी आन्दोलनको विकासको स्तर माथि ध्यान दिएर यसको भूमिका पनि निर्धारित हुने गर्दछ । विद्यमान अवस्थामा यो मोर्चाले प्रमुख रुपमा संघर्षको साधनको भूमिका खेल्ने छ ।

परिस्थितिको परिवर्तन सँगै यसले सत्ताको साधनको भूमिका पनि खेल्ने कुरामा हामी स्पष्ट हुनु जरुरी छ । अहिलेको ठोस अवस्थामा त यसले मूलतः वैधानिक संघर्ष संचालन गर्ने र यसको नेतृत्वगर्ने भूमिका खेल्ने छ । क्रान्तिकारी आन्दोलनको विकास सँगसँगै यसको भूमिकामा पनि तदनुरुपको परिवर्तन हुँदै जाने छ । वैधानिक र अवैधानिक संघर्षका वीचमा कुनै चिनियाँ पर्खाल हुँदैन ।

नेपालमा केही अन्य मोर्चा पनि निर्वाचन आयोगमा दर्ता भएका छन् । तिनीहरु संसदवादमा भासिइसकेका छन् र प्रतिकृयावादी सरकारको मन्त्रीमण्डलमा समेत सामेल भै सकेका छन् । केही त्यस प्रकारका पार्टीले चुनावमा दर्ता नगराएर मोर्चालाई चुनावी प्रयोजनका लागि दर्ता गराएका छन् । तिनीहरुको यो मोर्चा फगत् चुनावी मोर्चा मात्र हो, यो कुनै क्रान्तिकारी मोर्चा होइन । तर हाम्रो यो मोर्चा चुनावी मोर्चा होइन, क्रान्तिकालागि बनेको मोर्चा हो र क्रान्तिका दौरानमा र क्रान्तिपछि पनि सत्ताको साधनका रुपमा यो मोर्चा क्रियाशिल नै रहने छ ।” (देजमोको नीति तथा कार्यक्रम बाट) ।

सामन्तवाद, साम्राज्यवादविरोधी मोर्चा
नेपाली समाज अहिले पनि आन्तरिक रुपमा दलाल, नोकरशाही पुँजीपति र कमजोर सामन्त वर्ग तथा वाह्य रुपमा साम्राज्यवाद र विस्तारवादको उत्पीडनको शिकार भएको छ । यी दुबैबाट मुक्तिका लागि सामन्तवाद, साम्राज्यवाद बिरोधी मोर्चाको आवश्यकता खड्किएको विषय हो ।

मोर्चाको यस प्रकारको चरित्र बारे यसरी स्पष्ट गरिएको छ, ” त्यसकारण, नेपालमा हुने आमूल परिवर्तनले यी दुबैबाट नेपाल राष्ट्र र नेपाली जनताको मुक्तिको ग्यारेण्टी गर्नु पर्दछ । हामीले जुन क्रान्तिकारी संयुक्त मोर्चाको कुरा गरिरहेका छौं, त्यो यी दुईबाट मुक्तिकालागि गरिने संयुक्त मोर्चा हो । नेपालमा यस प्रकारको संयुक्त मोर्चा यतिखेर झन् बढी खट्किएको विषय हो । त्यसकारण अहिले नेपालमा यस प्रकारको बृहद् संयुक्त मोर्चा निर्माण आवश्यक छ ।

यो आफैं एउटा संयुक्त मोर्चा भएको हुनाले समान विचार राख्ने त्यस प्रकारका मोर्चा छन् भने तिनीहरु सँग एकता गर्दै जाने कुरा स्वभाविक हो । यदि समग्र विषयमा मिल्न सकेन भने पनि आंशिक रुपमा एजेण्डाहरु मिल्दछन् भने कार्यगत एकता गरेर भए पनि संघर्षलाई अघि बढाउन सकिने छ । एउटा सच्चा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा बनेको यस प्रकारको संयुक्त मोर्चाले नै आमूल परिवर्तनको लक्ष सम्म पु¥याउन सक्दछ ।”(उही) ।

मोर्चाको अनिवार्य आवश्यकता
देशभक्त जनगणतान्त्रिक मोर्चाको गठन निर्वाचन उपयोगका लागि वा केवल निर्वाचन प्रयोजनका लागि गरिएको होइन भन्ने कुरा माथिको प्रस्तुतीबाट स्पष्ट भएको छ । यसो भनिरहँदा मोर्चा निर्वाचनप्रति निरपेक्ष छ भन्ने अर्थ लगाइनु हुँदैन । यतिखेर नेपालमा केही पश्चगामी पार्टीहरु मिलेर एकथान संविधान त जारी गरेका छन्, तर त्यो पश्चगामी चरित्रको भएको हुनाले त्यसको बिरोध पनि भैरहेको छ र त्यसलाई कार्याण्वयन गर्ने हिम्मत तिनीहरुको देखिँदैन । प्रतिक्रियावादी सत्ता संचालन गर्नेहरुले पटक पटक चुनावको मिति पनि तोके । तर चुनाव हुने संभावना आजसम्म पनि देखिएको छैन ।

जहाँसम्म हाम्रो सोचाई छ हामी यो पश्चगामी संविधान लागु गर्न नदिने पक्षमा छौं । चुनाव न होस् भन्ने पक्षमा छौं । तर कसैगरी देश चुनावमा जाने नै अवस्था भयो भने हामीले ठिक संविधान सभा– २ कै नीति अपनाउने छैनौं । यदि चुनावलाई उपयोग गरेर जनताको वढी सेवागर्न सकिन्छ, क्रान्तिको तयारी बढी गर्न सकिन्छ भन्ने अवस्था आयो भने त्यसको उपयोगका लागि मोर्चाले निर्वाचन आयोगमा दर्ता गराएर चुनावमा जान सक्दछ । यदि वहिष्कार गर्दा त्यो उपलव्धि हुने भयो भने त्यसलाई वहिष्कार गर्न सकिन्छ । अन्ततः संसदीय व्यवस्थामा चुनावलाई उपयोग गर्ने कि वहिष्कार गर्ने भन्ने विषय कार्यनीति कै विषय हो, रणनीतिको होइन । परिस्थिति अनुसार कुनै पनि निर्णय गर्न हामी स्वतन्त्र छौं ।

खासमा मोर्चाको आवश्यकता किन पर्यो ? भन्ने विषयमा मोर्चा कै भनाई यस्तो छ : “नेपाली समाज पछिल्ला दशकमा दश वर्षको महान जनयुद्ध (२०५२–२०६२) र ऐतिहासिक जनआन्दोलन (२०६२/०६३)कोे उथल पुथलमय समयबाट गुज्रियो । यो जनक्रान्तिले पूर्णता पाउने आसा गरेका नेपाली जनताले त्यसको ठिक विपरीत अर्को प्रतिक्रान्तिको शृंखलाको सामना गर्नु पर्यो । अहिले पनि नेपाली समाज त्यही शृंखलाबाट गुज्रिरहेको छ ।

शोषण र उत्पीडनका रुपहरुमा केही हेरफेर अवश्य भएको छ । तर, नेपाली समाज अहिले पनि दलाल र नोकरशाही पँुजीपति वर्ग र सामन्त वर्गको उत्पीडन र शोषणबाट पिल्सिरहेको छ । नेपाली समाजमा विद्यमान यो अन्तरविरोधको समाधान फेरि अर्को सशक्त संघर्ष, सशक्त जनआन्दोलन, र अग्रगामी क्रान्तिले मात्र गर्न सक्नेछ । त्यसको तयारीका लागि यो मोर्चाको टड्कारो आवश्यकता छ ।”(उही) ।

मोर्चाको बारेमा व्यापक छलफल र बहसहरुको आवश्यकता छ । यसबारे धेरै व्याख्या, विश्लेषणको आवश्यकता छ । प्रस्तुत लेखमा संक्षिप्तमा जे जति चर्चा गरियो, त्यसले यसको मूल नीतिका बारेमा बुझ्न सहयोग पुर्याउने छ भन्ने लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर