पाकिस्तानी प्रधानमन्त्री सरिफ भारतविरुद्ध यसरी उत्रिए राष्ट्रसंघमा

पाकिस्तानी प्रधानमन्त्री सरिफ भारतविरुद्ध यसरी उत्रिए राष्ट्रसंघमा

nawaz_sharifएजेन्सी । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै भारत प्रशासित कास्मिरमा मानवअधिकार उल्लंघनका गम्भीर घटना भएको बताएका छन् । उनले कास्मिरमा मानवअधिकार उल्लंघनको छानविन गर्न माग समेत गरे ।

उनले भारतीय सुरक्षाकर्मीद्वारा हत्या गरिएका बुरहान बानीलाई ‘युवा नेता’भएको भन्दै स्वतन्त्रताको माग गरेका युवा नेता बुरहानको भारतीय सुरक्षाकर्मीले हत्या गरेपछि कश्मिरमा हिंसा चर्किएको बताए ।

उनले भने, ‘कश्मिर विवाद समाधान विना पाकिस्तान र भारतबीच शान्ति र सामान्य सम्बन्ध बहाल हुन सक्दैन, हाम्रो अनुमान घटनाहरुका माध्यमबाट पुष्टि भइरहेका छन, कश्मिरी युवापुस्ता भारतको अवैध कब्जाविरुद्ध आवाज उठाइरहेका छन, उनीहरु कब्जाबाट स्वतन्त्रताको माग गरिरहेका छन् ।’

कश्मिरमा उठिरहेको स्वतन्त्रताको माग दमन गर्ने क्रममा भारतले सो क्षेत्रमा पाँच लाखभन्दा बढी सेना परिचालन गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री शरीफले पछिल्लो दुई महिनामा एक सयभन्दा बढी नागरिकको हत्या भएको, सयौं नागरिकलाई अन्धो बनाइएको र ६ हजारभन्दा बढी नागरिकलाई घाइते तुल्याइएको उल्लेख गरे ।

उनले भारतको अवैध कब्जाबाट कश्मिरी जनताले मुक्ति खोज्नु उनीहरुको अधिकार भएको बताए । पाकिस्तानले कश्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने पनि उनले बताए ।