सिरियाको द्वन्द्व अन्त्य र पेरिस सम्झौता कार्यान्वयन गर्न मुनको आह्वान

ban-ki-moonएजेन्सी । राष्ट्रसंघका महासचिव वान की मुनले सिरियामा पाँच वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्न तथा पेरिस जलवायु सम्झौता कार्यान्वयन गर्न विश्वभरका नेतालाई आह्वान गरेका छन् ।

राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै महासचिव मुनले सिरिया द्वन्द्व समाधान र पेरिस जलवायु सम्झौता कार्यन्वयनलाई यो वर्षभरी नै उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका हुन् ।

महासचिव मुनले सिरिया सरकारले आफ्ना नागरिकको हत्या गरिरहेको भन्दै निन्दा समेत गरेका छन् । उनले पछिल्ला ५ वर्षदेखि जारी गृहयुद्धमा भएका अधिकांश आम नागरिकको हत्यामा राष्ट्रपति बसर अल असदको पार्टी जिम्मेवार रहेको पनि आरोप लगाएका छन् । उनले असदका सेनाले सत्ताको विरोध गर्ने नागरिक विरुद्ध निर्मम रुपमा उत्रिएको बताए ।

मुनले सिरियाली सरकारले आफ्नै नागरिकको हत्या गरिरहेको आरोप लगाउँदै तत्काल युद्ध रोक्न अपिल गरे । उनले जलवायु परिवर्तनका बारेमा हेलचक्र्याई गर्न अब छुट नरहेको उल्लेख गर्दै यस वर्ष पेरिस सम्झौतालाई कडाइका साथ व्यवहारमा उतार्न पनि आग्रह गरे ।

महासचिव मुनले २६ ओटा देशले मात्रै जलवायुका बारेमा सम्झौताअनुसारको काम गर्ने प्रयास गरेको जानकारी पनि दिए । उत्तर कोरियाले शृंखलाबद्ध रुपमा गरिरहेको परमाणु बम परीक्षणलाई लक्षित गर्दै उनले आफ्नो बाटो परिवर्तन गर्न आग्रह गरे ।

सहासभालाई सम्बोधन गर्ने क्रममा उनले सिरिया संकट, फिलिपिन्सको मुद्दा, म्यानमार र श्रीलंकाको स्थिति, शरणार्थी र आप्रवासीको समस्या, कोरियाली प्रायद्वीप, पश्चिम एसियाको तनाव, दक्षिण सुडानको गृहयुद्ध, हिंस्रक चरमपन्थ, यमन, लिबिया, इराक, अफगानिस्तानलगायत देशको समस्याका बारेमा आफ्नो भनाई राखे ।

महासभालाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वका साझा मुद्दाहरुमा सबै राष्ट्रलाई एकजुट हुन अपिल गर्दै संरक्षणवाद र साम्प्रदायिकतालाई त्यागेर समान साझेदारीको भूमिका निर्वाह गर्न आह्वान गरे ।