पार्टीको आधारभूत कार्यदिशा लागु गर्नका निम्ति हामीसँग ज्वारभाटाका विरुद्ध जाने क्रान्तिकारी उत्साह हुनु पर्दछ । ज्वारभाटाका विरुद्ध जानु भनेको माक्र्सवादलाई दृढतापूर्वक अंगाल्ने र अवसरवाद, संशोधनवाद र सबै प्रकारका गलत प्रवृत्तिहरुका विरुद्ध संघर्ष गर्ने भनेको हो । अन्तर्राष्ट्रिय क्षेत्रमा यसको अर्थ साम्राज्यवाद, संशोधनवाद र सबै प्रकारका प्रतिक्रियावादी प्रति–धारहरुकाविरुद्ध संघर्ष गर्ने भनेको हो, आन्तरिक रुपमा यसको अर्थ सबै प्रकारका अवसरवादी कार्यदिशाहरुको र गैर–सर्वहारा वैचारिक प्रवृत्तिहरुको विरोध गर्नु हो ।
पार्टीको आधारभूत कार्यदिशा अवलम्वन गर्ने क्रममा पार्टी भित्र र बाहिरका र देश भित्र र बाहिरका प्रतिक्रियावादी धारहरुको तर्फबाट हामीले सबै प्रकारका आक्रमणहरुको सामना गर्ने छौं । यसकारण, सबै परिस्थितिमा हामीहरु समझदार हुनु पर्दछ, वर्गसंघर्षमा विद्यमान परिस्थितिको निरन्तर अनुसन्धान र विश्लेषण गर्नु पर्दछ र एउटा प्रवृत्तिले अर्कोलाई छोप्न सक्छ भन्ने कुरा आत्मसात गर्नुपर्छ, ज्वारभाटाका विरुद्ध जाने सर्वहारा जोस प्रदर्शन गर्नुपर्दछ, अध्यक्ष माओको क्रान्तिकारी कार्यदिशालाई लागु गर्न र समाजवादी दिशाका विरुद्ध खडाहुने र क्रान्तिलाई खतरा पैदागर्ने गलत कार्यदिशा तथा प्रवृत्तिहरुका विरुद्ध संघर्ष गर्नु पर्दछ ।
हामीलाई अध्यक्ष माओले सिकाउनु भएको छ, ‘ज्वारभाटाका विरुद्ध जानु माक्र्सवादी–लेनिनवादी सिद्धान्त हो ।’ (७४) आफ्नो सारमा माक्र्सवाद–लेनिनवाद आलोचक र क्रान्तिकारी हुन्छ । सर्वहारा वर्ग क्रान्तिकारी वर्ग हो, महान वर्ग हो । यसले पूँजीपति वर्गको हैकम र उत्पीडनलाई अन्त गर्न चाहन्छ र साम्यवादी समाजको स्थापनाका निमित्त पुरानो संसारको पतनलाई निरन्तर छिटो गराउन चाहन्छ, र यो क्रान्ति आफैमा ज्वारभाटाका विरुद्ध जाने एउटा गौरवशाली काम हो ।
सर्वहारा क्रान्तिका गुरुहरु सबैले ज्वारभाटाका विरुद्ध जाने आदर्शको रुपमा काम गरे । माक्र्स र एङ्गेल्सले आफ्नो जीवन भर कथित ‘समाजवाद’ को झण्डा बोक्नेहरुका विरुद्ध कहिल्यै लड्न छाडनु भएन, उहाँहरुले निडर सर्वहारावादी मनोभावका साथ सबै प्रतिक्रियावादी प्रवृत्तिका चिन्तनहरु र तीनका प्रतिनिधिहरुको सामना गर्नु भयो र जस्तालाई तस्तै प्रकारको संघर्ष चलाउनु भयो ।
सबै प्रकारका अवसरवादीहरु र तीनका प्रतिनिधिहरुका विरुद्ध लेनिन तथा स्टालिनले चलाउनु भएका संघर्षहरु पनि ज्वारभाटाका विरुद्ध जाने स्पिरिटको नमुना नै हो । अध्यक्ष माओ हाम्रो पार्टीका प्रतिनिधि तथा गुरु हुनुहुन्छ र उहाँले पार्टीलाई ज्वारभाटका विरुद्ध जान र सही कार्यदिशाका पक्षमा लागिरहन पूर्णत प्रेरित गर्नु भएको छ ।
पार्टी भित्रका १० वटा दुई–लाईन संघर्षमा अध्यक्ष माओले सर्वहारा क्रान्तिकारी उत्साह र सामथ्र्य सहित दक्षिण तथा ‘वाम’ चिन्तन प्रवृत्तिको सामना गर्ने र धेरै पटक अवसरवादी कार्यदिशालाई पराजित गर्ने काममात्र गर्नु भएन बरु उहाँ अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सोभियत संशोधनवादीबाट प्रतिनिधित्व गरिएको आधुनिक संशोधनवादको प्रतिक्रान्तिकारी धाराका विरुद्ध पनि उभिनु भयो ।
उहाँले माक्र्सवाद–लेनिनवादको रक्षा तथा विकास गर्नु भएको छ र हामीलाई ज्वारभाटाका विरुद्ध जानुको अर्थ के हुन्छ भन्ने कुराको असाध्यै राम्रो उदाहरण दिनु भएको छ । यसरी ज्वारभाटाका विरुद्ध गएर नै माक्र्सवाद–लेनिनवादको जन्म भयो र विकास भयो । र ज्वारभाटाका विरुद्ध गएर नै सर्वहारा वर्गको राजनीतिक पार्टीको नेतृत्वमा क्रान्तिको उद्येश्य रिन्तर अगाडि बढ्छ ।
ज्वारभाटाका विरुद्ध जान सबै भन्दा पहिला उसले त्यसो गर्न आँट गर्नु पर्दछ । जब कार्यदिशामा नै प्रश्न उठछ, जब सम्पूर्ण आन्दोलन नै दाउमा परेको हुन्छ एउटा सच्चा कम्युनिष्टले साझा हितको पक्षमा काम गर्नु पर्दछ र आफ्नो स्थानबाट हटाईन, जेलमा कोचिन, गोली मारिन वा सम्बन्ध विच्छेद गराईनबाट नडराई ज्वारभाटाका विरुद्ध जान हिम्मत गर्नु पर्दछ ।
कम्युनिष्टहरु चीन तथा विश्वको ठूलोे बहुसंख्याका जनताको पक्षमा उभिन्छन, पार्टीको आधारभूत कार्यदिशाको पक्षमा रहन तिनीहरुले सही बाटोमा अडिईरहन साहस गर्नु पर्दछ, साझा समृद्धि प्रतिको पूर्ण समर्पणका लागि आँधी बेहरीका विरुद्ध जुध्न र बहादुरी पूर्वक अगाडि बढ्न हिम्मत गर्नु पर्दछ । स्वार्थी उत्प्रेरणाबाट हुने पूर्ण मुक्तिले मात्र व्यक्तिलाई निडर बनाउँछ ।
जब एउटा गलत प्रवृत्तिले चढ्दो ज्वारले जस्तै हामीहरु तिर धक्का हान्छ त्यति बेला सर्वहारा अडानमा रहिरहनका निम्ति योग्य बनाउने र यस्तो गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्ने भनेको सर्वहारावादी क्रान्तिकारी साहस र सबै डरबाट मुक्त विचारद्वारा नै हो । यदि कुनै व्यक्तिले स्वार्थी तरिकाले व्यवहार गर्दछ भने, आफ्नै व्यक्तिगत स्वार्थको बारे सोच्छ भने, सधै कति पाउँछु र कति गुमाउँछु भनेर तौलिन्छ भने, यदि ऊ कुनै कुरा वा सबै कुराबाट डराउँछ भने त्यति बेला उसले गलत प्रवृत्तिको सामना गर्न र विरोध गर्न अथवा अध्यक्ष माओको सर्वहारावादी क्रान्तिकारी कार्यदिशाको रक्षा गर्न सक्ने छैन ।
ज्वारभाटाका विरुद्ध जाने क्रान्तिकारी जोसलाई संघर्षमा विकास गर्नका निम्ति हाम्रो पार्टीका प्रत्येक सदस्यले महान क्रान्तिकारी गुरुहरुले दिएका ज्वारभाटाका विरुद्ध जाने सुन्दर उदाहरणहरुबाट प्रेरणा लिनु पर्दछ ।
ज्वारभाटाका विरुद्ध जानु भनेको कुनै व्यक्तिले त्यसो गर्न हिम्मत गर्छ कि गर्देन भन्ने मात्र होईन, बरु ऊ गलत प्रवृत्तिहरुलाई पत्ता लगाउन सक्षम छ कि छैन भन्ने पनि हो । समाजवादी युगमा वर्ग संघर्ष र दुई–लाईन संघर्ष अत्यन्त जटिल हुन्छन्, यस्तो कि जव एउटा प्रवृतिले अर्कोलाई ढाक्ने गरी आउँछ त्यति बेला सबै कमरेडहरु पर्याप्त सतर्क हुँदैनन् ।
साथै, जसले जानिबुझिकन जालझेल र षडयन्त्र गरेका हुन्छन् तिनीहरु गलत ढङ्गले प्रस्तुत हुन प्रयत्न गर्छन् र धमिलो पानीमा माछा मार्न खोज्छन् यसले समस्या पत्ता लगाउन थप जटिल बनाउँछ । तर, गलत कार्यदिशा तथा प्रवृत्तिहरुको वस्तुगत अस्तित्व रहन्छ र द्वन्द्वात्मक भौतिकवादी दुष्टिकोण अनुसार ती जो वस्तुगत छन् सबै ज्ञेय हुन्छन् । यदि हाम्रो आँखाको दृष्टि राम्रो छैन भने हामीले माक्र्सवाद–लेनिनवाद–माओत्सेतुङ्ग विचारधाराको सुक्ष्मदर्शक यन्त्र र दुरदर्शक यन्त्र प्रयोग गर्नु पर्ने हुन्छ ।
यदि हामीले माक्र्सवादी–लेनिनवादी शास्त्रीय रचनाहरु र अध्यक्ष माओका कृतिहरु मेहनतपूर्वक अध्ययन गर्छौ भने, यदि व्यवहारिक संघर्षमा सक्रियतापूर्वक भाग लिन्छौ भने र यदि हामीले सचेतता पूर्वक हाम्रो दृष्टिकोण बदल्छौं भने हामीले क्रमशः सच्चा माक्र्सवादबाट नक्कली माक्र्सवादलाई र सही कार्यदिशाबाट गलत कार्यदिशालाई छुट्याउने क्षमता विकास गर्न सक्ने छौं । हामी यसरी सशस्त्र भयौं भने पार्टीमा गलत प्रवृति देखा पर्दा हामीले स्पष्ट धारणा र विचार बनाउन सक्ने छौं र त्यतिबेला हामी रुपका कारण आफै मूर्ख हुने छैनौं र त्यसका विरुद्ध साहस पूर्वक संघर्ष गर्न सक्ने छौं ।
ज्वारभाटाका विरुद्ध जानका निमित्त दृढ सिद्धान्तनिष्ठ भएर मात्र पुग्दैन, यसको लागि राजनीतिक सिद्धान्तहरुलाई सही तरिकाले लागु गर्नु पर्छ, सही र गलत कार्यदिशाका बिचमा भेद छुट्याउनु पर्छ र ठूलो संख्यामा जनतालाई एकताबद्ध बनाउन ध्यान दिनु पर्दछ । समाजवादी युगमा वर्गसंघर्ष र दुई–लाईन संघर्ष निकै जटिल हुन्छन् — हाम्रो र जनताका बिचको अन्तरविरोधलाई जनता–जनताका बिचको अन्तरविरोधका रुपमा प्रस्तुत गरेर भ्रम पैदा गर्न सजिलो छ र एक पटक झलक्क हेर्दैमा सबैकुरा देख्न सकिदैन ।
ज्वारभाटाका विरुद्ध जान हामीले सही नीति लागु गर्नु पर्छ र विभिन्न प्रकारका अन्तरविरोधलाई छुटयाउनु पर्दछ । ज्वारभाटाका विरुद्ध जान हामीले पार्टी अनुशासनको पनि सम्मान गर्नु पर्दछ । ज्वारभाटाका विरुद्ध जाने कुरा र पार्टी अनुशासनको सम्मान गर्नु पर्ने कुरा अक्षुण्य छन् । दुबैले पार्टी कार्यदिशाको सहीपनालाई जोगाउने उद्देश्य राख्दछन् । यसकारण, जब हामीले ज्वारभाटाका विरुद्ध जाने उत्साह देखाउँछौं, पार्टीको सही राजनीतिक कार्यदिशा र सिद्धान्तलाई पुरा लागु गर्ने कुरालाई सुनिश्चित गर्न हामीले सर्वहारावादी अनुशासनलाई सम्मान पनि गर्नै पर्दछ ।
फ्रान्सेली संस्करणबाट नेपालीमा अनुवादित पुस्तक ‘चिनियाँ कम्युनिष्ट पार्टीबारे आधारभूत बुझाई’ नामक प्रकाशोन्मुख पुस्तकबाट । अनुवादः इन्द्रमोहन सिग्देल ‘वसन्त’