एजेन्सी । अमेरिकी कंग्रेसले सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणका मारिएका पीडितका परिवारलाई साउदी अरबविरुद्ध मुद्दा लगाउने स्वीकृति दिने विधेयक पारित गरेको छ ।
सेप्टेम्बर ११ को आक्रमणको ठीक १५ वर्षपछि अमेरिकी संसदले साउदीविरुद्ध मुद्धा लगाउन सक्नेगरी विधेयक पारित गरेको हो ।
गत मे महिनामा सिनेटले स्विकृति दिएको यो विधेयक अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले एक मतले पारित गरेको हो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा भने यो बिधेयकको विपक्षमा थिए । उनले विधेयकमाथि भिटो प्रयोग गर्नसक्ने भएपनि कंग्रेसले यसलाई उल्टाउन सक्नेछ । साउदी अरबले सेप्टेम्बर ११ को घटनामा आफ्नो देशको संलग्नतालाई अस्वीकार गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने साउदी अरबमाथि मुद्धा लगाउने स्विकृति दिएमा अमेरिकी सरकारकाविरुद्ध समेत मुद्धा लाग्न सक्ने भन्दै विधेयकको विपक्षमा उभिएका थिए ।
तर, सेप्टेम्बर ११ फेमिलिज फर जस्टिस अगेन्स्ट टेररिज्मका अध्यक्ष टेरी स्ट्राडा व्हाइट हाउसको तर्कसँग सहमत छैनन् । राष्ट्रपति पदकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन भने विधेयकको पक्षमा थिइन् ।
साउदीले यसअघि नै यो विधेयक पारित भएमा अमेरिकी अर्थव्यवस्थामा रहेको आफ्नो अरबौं डलर फिर्ता लिने धम्की दिइसकेको छ ।