आज तीजको दर खाने दिन । राजधानीको टुँडीखेलमा आधा आकाशको विशाल जुलुस निस्कियो । आधा आकाश भएकाले उनीहरूको शरीर पनि आधा मात्रै ढाकिएको थियो । त्यो पनि पूर्वीय मोडलको नभएर पश्चिमी मोडलको फेसनले ।
अमेरिका, युरोप र हङकङतिरको मोडलको कपडाले सजिसजाऊ थियो आधा आकाश । एक प्रकारले त्यो जुलुस फेसन शो पनि थियो । उता अख्तियारले सबै क्षेत्रमा सबै कुरा पारदर्शी हुन पर्छ भनेर ह्वीप जारी गरेको हुनाले आधा आकाशले लगाएका आधा कपडा पनि मच्डदानीबाट बनाइएको थियो । हातहातमा प्ले कार्ड बोकेका आधा आकाशले जोडजोडले नारा घन्काई रहेका थिए–
‘सरकारी कार्यालयमा दर खाने बजेट हुनै पर्छ – हुनै पर्छ ।
दरमा ककटेलको व्यवस्था हुनै पर्छ – हुनै पर्छ ।
डान्सबारको व्यवस्था पनि हुनै पर्छ – हुनै पर्छ ।
दर अवधिमा रत्यौली खेल्न पाउनै पर्छ – पाउनै पर्छ ।
क्यासिनोमा जान पाउनै पर्छ – पाउनै पर्छ ।
टोलटोलमा भट्टीको व्यवस्था हुनै पर्छ – हुनै पर्छ ।
एक महिने दरखाने विदा पाउनै पर्छ – पाउनै पर्छ ।
झिलिमिली गहना लाउनै पर्छ – लाउनै पर्छ ।
दर मन्त्रालयको व्यवस्था संविधानमा लेख्नै पर्छ – लेख्नै पर्छ ।
दर मन्त्रीको व्यवस्था पनि हुनै पर्छ – हुनै पर्छ ।
दर खाने दल खोल्नै पर्छ – खोल्नै पर्छ ।
दरखाने दिन कस्को ? आधा आकाशको – आधा आकाशको ।’
टुँडिखेलबाट निस्किएको जुलुस असन, भोटाहिटी, न्युरोड, पुतलीसडक, बागबजार, दरबारमार्ग, ठमेल, लैनचौर, बालुवाटार, शाषक दरबारको आधा आकाशमुख महोदय निवास, सर्वोच्चको श्रीमान् आधा आकाशको कार्यकक्ष हुँदै महाराजगञ्जको सिङ्गो आकाशका आधापति निवासमा गएर विश्राम लियो ।
त्यहाँ सिङ्गो आकाशका आधापतिले दरभोजको व्यवस्था गरेको हुनाले जुलुसमा सहभागी सबै आधा आकाश दरभोजमा सहभागी भए । सिङ्गो नेपाली आकाशका राज्यका तीनवटा प्रमुख आधा आकाशले आजको तीन खेपको दरको व्यवस्था गरेका थिए । ब्रेकफास्टको दर श्रीमान् महोदयले लञ्चको दर आधामुख महोदयले र डिनरको दर सिङ्गो आकाशका आधापति महोदयले गर्ने सूचना सम्बन्धित निकायका सूचनाबोर्डले जानकारी गराएका थिए । उक्त दरभोजको समाचार सङ्कलन गर्ने पत्रकारहरू पनि आधा आकाश लिङ्गीहरूलाई मात्र प्रवेशाज्ञा दिइएको थियो ।
दरभोजमा राता, पँहेला, काला र हरीया बोतलको व्यवस्था पनि थियो । बानी नपरेका र अलि प्रौढ आधा आकाशका लागि मार्फाली मिक्चरहरूको व्यवस्था थियो । जस्ले जति सक्छ त्यति धोक्ने प्रतिष्पर्धा चल्यो । आजको दिन आधा आकाशलाई मापसेमा छुटका लागि सरकारको पुलिस मन्त्रालयबाट ट्राफिक हेडक्वार्टरमा निर्देशन गइसकेको थियो ।
आधापति निवासमा डिनर भोजको दर दरिलै भयो । दर खाँदाखाँदै आधापतिसँग आधा आकाशका माउते नेताहरूले संविधानमा लेख्नु पर्ने भन्दै आफ्ना माग प्रस्तुत गरे । माग यसप्रकार थिए ।
दर मन्त्रालयको व्यवस्था हुनुपर्ने,
एक महिनासम्म दरखाने विदा पाउनु पर्ने,
हरेक सरकारी कार्यालयहरूमा दरबजेट छुट्टाइनु पर्ने,
दरको अवधिभर रत्यौली खेल्ने व्यवस्था हुनु पर्ने,
श्रीमान विदेश गएकाहरूका हरेक आधा आकाशलाई सहरमा बसोवासको व्यवस्था गरिनु पर्ने, तिनका बालबच्चाहरूलाई राज्यले बालआश्रम खोलेर रेखदेख गरिदिनु पर्ने र उनीहरूलाई लाली, पाउडर, क्रिमलगायत सृङ्गारका सामान र गहनाहरूमा विशेष छुटको व्यवस्था गरिनु पर्ने,
रेमिट्यान्समा सुन पनि ल्याउन पाउनु पर्ने, दरखाने दल खोल्न पाउनु पर्ने र उनीहरूलाई चुनावमा पूर्ण समानुपातिक अधिकार दिइनु पर्ने आदि मागहरू संविधानमा स्पष्ट लेखिनु पर्ने रहेका छन् ।
यदि संसदबाट विधेयक मार्फत् आफ्ना मागको सुनुवाई नभएमा संविधानको संरक्षक खुद आधा आकाश भएकाले सम्माननीय आधापतिले नै यी मागहरूलाई संविधानको कितावमा टाँसेर भएपनि कानून बनाई लागू गर्न निर्देशन दिनुपर्ने प्रस्ताव पेश गरियो । आधापतिबाट आफू पनि आधा आकाशकै पात्र भएकाले आधा आकाशको पीरमर्का र मर्म बुझेको भन्दै यी मागहरू तत्क्षण पूरा हुने हुकुम बक्स भयो । त्यसपछि सबैले आधापति महोदयसँग सेल्फी हान्ने प्रोग्राम चल्यो ।
सो अवसरमा आधापतिबाट आफू एकल आधापति भएको र अल्पायुमै एकल हुनु परेको कुरा निकै भावुक भएर राखि बक्स्यो । सहभागी आधा आकाशको जुलुसमा पनि थुप्रै एकल आधा आकाश भएकाले आफूहरूको अविभावक पनि आधापति महोदय नै भएको भन्दै गला अवरुद्ध पार्दै आधापतिको अङ्गालोमा बेरिए । निकैबेर सम्म रुवावासी चल्यो । कसैकसैले सिगान छोड्दै रोए । कोही साँक्क सुँक्क गरे । अन्त्यमा राता, काला र हरिया बोतल खोलेर जस्न मनाइयो । बोतलको पानीले छ्यापाछ्याप गरियो । सबैले एक स्वरमा हुटिङ गरे ‘दरम् सत्य अरू मित्थ्या’ ।
१८ भदौ २०७३
kailubraha73@gmail.com