एजेन्सी । कोलम्बिया सरकार र फार्क विद्रोहीबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । दुवै पक्षका प्रतिनिधिबीच क्युबाको राजधानी हवानामा शान्ति सम्झौताको घोषणा गरिएको हो ।
यससँगै करिब पाँच दशकदेखि कोलम्बियामा जारी संघर्ष अन्त्य हुने भएको छ । हवानामा नोभेम्बर २०१२ देखि नै वार्ता प्रक्रियाको सुरुवात गरिएको भएपनि त्यसले सार्थकता पाउन सकेको थिएन ।
यसैवर्षको जुन महिनादेखि दुवै पक्षबीच संघर्ष अन्त्य गर्ने विषयमा छलफल भइरहेको थियो । सम्झौताअनुसार अब फार्क विद्रोही समूह हतियारबन्द संघर्ष छाडेर शान्तिपूर्ण मार्गमा फर्किनेछ ।
कोलम्बियामा जारी पाँच दशक लामो फार्क विद्रोहीको संघर्षका कारण २ लाख २० हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने लाखौ सर्वसाधारण प्रभावित बनेका छन् ।
फार्क वार्ताकार रोड्रिगो ग्रानडाले वार्ताकै माध्यमबाट नै समस्याको समाधान हुने भएमा कसैको जित हारको कुरा नभई कोलम्बियाको जित र मृत्युको हार भएको प्रतिक्रिया दिएका छन् ।
यसअघि फार्क नेता तिमोशेंकोले वार्ता प्रक्रियासँगै शान्ति सम्झौता भएको घोषणा गरेका थिए । शान्ति सम्झौताअनुसार फार्क विद्रोहीको माग सम्बोधन गर्नका लागि कोलम्बियामा आगामी अक्टुबर महिनासम्ममा जनमत संग्रह हुनेछ ।
वामपन्थी गुरिल्ला समूहले कोलम्बियामा सन् १९६४ देखि कोलम्बियामा संघर्ष सुरु गरेका थिए । यो ल्याटिन अमेरिकामा जारी सबैभन्दा पुरानो संघर्ष हो ।