काठमाडौं । अन्तर्राष्ट्रिय फुटवलमा आजीवन प्रतिबन्ध लगाइएका चार नेपाली फुटबल खेलाडीले गरेको पुनःविचारको अपिल एशियाली फुटबल महासंघ (एएफसी) ले खारेज गरिदिएको छ । एएफसीको अपिल कमिटीको बिहीबार बसेको बैठकले चार खेलाडी र एक प्रशिक्षकको अपिल खारेज गरिदिएको हो।
एएफसीले नेपाली टोलीका तत्कालीन प्रशिक्षक अन्जन केसी, तत्कालीन कप्तान सागर थापा, विकास सिंह क्षेत्री, रितेश थापा, सन्दिप राईले म्याच फिक्सिङ गरेको पुष्टि गर्दै आजीवन प्रतिबन्ध लगाएको थियो। सो निर्णयमा पुनःविचार गर्न माग गर्दै उनीहरुले कमिटीमा अपिल गरेका थिए । बिहीबारको बैठकले नेपाली खेलाडीको अनुरोध खारेज गर्दै फुटबलमा आजिवन प्रतिबन्ध गर्ने यसअघिको एएफसी निर्णयलाई निरन्तरता दिएपछि खेलजगतमा फर्किने झिनो आशा पनि समाप्त भएको छ ।
नेपाली राष्ट्रिय टोलीमा रहँदा उनीहरुले विभिन्न समयमा म्याच फिक्सिङ गरी झन्डै १८ लाख रुपैयाँ बुझेको र दामासाहीले बाँडेको अनुसन्धानबाट पुष्टि भएको थियो। सो अभियोगमा प्रहरीले उनीहरुलाई २०७२ असोज २७ मा पक्राउ गरेको थियो। एएफसीले म्याच फिक्सिङ गरेको पुष्टि गरेपछि नेपाल प्रहरीलाई कारवाहीका लागि आग्रह गरेको थियो।
सन् २००८ मा भएको मोर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने शर्तमा प्रतिखेलाडी ५ हजार अमेरिकी डलर लिएको, २००९ को साफ च्याम्पियनमा जम्मा ३ हजार ६१ अमेरिकी डलर लिएका थिए।
त्यस्तै, २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने शर्तमा प्रति खेलाडी ५ हजार अमेरिकी डलर लिएको, २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० ले हार्ने शर्तमा प्रति खेलाडी ५ हजार डलर लिएको खुलेको थियो।