काठमाडौं । रियो ओलम्पिकको अन्तिम स्वर्ण पदक पनि जितेको अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रहँदै प्रतियोगिता सकाएको छ ।
कुल ४६ स्वर्ण, ३७ रजत र ३८ सहित १२१ पदक जितेको अमेरिका पहिलो भएको छ भने २७ स्वर्ण, २३ रजत र १७ कास्य हात पारेको बेलायत दोस्रो तथा २६ स्वर्ण, १८ रजत र २६ कास्य सहित चीन तेस्रो भएको छ ।
सन् २००८ मा आफ्नै देशमा भएको ओलम्पिकमा शीर्ष स्थान ओगटेको चीन त्यसको चार वर्षपछि २०१२ मा बेलायतमा भएको लण्डन ओलम्पिकमा दोस्रो भएको थियो ।
रियो ओलम्पिकमा १९ स्वर्ण पदक जित्दै रुस चौथो भयो । डोपीङ प्रकरणले झण्डै ३० प्रतिशत खेलाडी प्रतिबन्धित हुँदा पनि रुसले यसपटक २ सय ७० खेलाडीलाई रियो पठाएर चौथो स्थान कब्जा गरेको हो ।
सोही टोलीले रुसका लागि ९ स्वर्ण, १८ रजत र १९ कास्य पदक जिताएको हो भने १७ स्वर्ण पदक जितेको जर्मनी पाँचौ स्थानमा आँउदा १२ स्वर्ण पदकका साथ जापान छैटौं भयो ।
यसैगरी १० स्वर्ण पदकसहित फ्रान्सले सातौं स्थान लिंदा आठौं स्थानका दक्षिण कोरियाले ८ स्वर्ण पदक जित्यो । ईटाली, अष्ट्रेलिया, नेदरल्याण्ड्स र हंगेरीले ८÷८ वटा स्वर्ण पदक जितेका छन् ।
रियो ओलम्पिकमा २ सय ६ राष्ट्र तथा एउटा शरणार्थीहरुको स्वतन्त्र टिम सहभागि थिए । जसमध्ये एक स्वतन्त्र खेलाडीसहित ५८ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
यसैगरी ८७ राष्ट्रले पदक तालिकामा नाम लेखाँउदा नेपालसहित १ सय १९ राष्ट्र पदकविहिन भए ।