विवाह समारोहमा आत्मघाती आक्रमण गर्दा मारिनेकाे सख्ंया ५१ पुग्याे

विवाह समारोहमा आत्मघाती आक्रमण गर्दा मारिनेकाे सख्ंया ५१ पुग्याे

gaziantep_Attackएजेन्सी । टर्कीमा विवाह पार्टीमा भएको आत्मघाती आक्रमणमा ५० जनाको मृत्यु भएको छ भने अन्य ६९ जना घाइते भएका छन् ।

घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । टर्कीको दक्षिणी सहर गाजियान्टेपमा विवाह पार्टीमा सर्वसाधारण नाचिरहेको स्थानमा आत्मघाती आक्रमण भएको स्थानीय अधिकारीले जनाएका छन् ।

टर्कीका राष्ट्रपति रिपेप तैयप एर्दोगानले आक्रमणमा चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) को संलग्नता रहेको आरोप लगाएका छन् ।

उनले आक्रमणमा १२ देखि १४ वर्षका बालकको संलग्नता रहेको पनि उनको भनाइ छ । सिरियामा यो वर्षको सुरुवातदेखि नै टर्कीभित्र र सिरियासँगको सीमा क्षेत्रमा लगातार आतंकवादी आक्रमण भइरहेका छन् । 

सिरियासँग सीमा जोडिएको गाजियान्टेपमा कुर्दिस समुदायको विवाह समारोहमा आक्रमण हुँदा मारिने विवाह समारोहमा भएको आक्रमणमा मारिनेमा बच्चा र महिलाहरूसमेत रहेका छन् । 

‘विवाह समारोह सकिनै लाग्दा मानिसहरू नाचिरहेको स्थानमा शक्तिशाली विस्फोट भयो,’ २५ वर्षीय भेली क्यानले भने, ‘आक्रमण भएको स्थानमा रगत र शरीरका टुक्रासमेत यत्रतत्र छरिएका थिए ।’ स्थानीय अधिकारीले विस्फोटमा घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाएका छन् । 

विस्फोटमा परी बेहुला घाइते भएका छन् भने बेहुली सकुशल छिन् । विवाहपश्चात् बेहुलाको परिवारले आफन्तका लागि पार्टीको आयोजना गरेको थियो ।

विस्फोटमा परी मृत्यु भएकामध्ये १२ जनाको दाहसंस्कार गरिएको छ भने अन्यको भने शरीर क्षतविक्षत भई चिन्न नसकिने अवस्थामा रहेकाले पहिचानका लागि डीएनए परीक्षण गरिने सुरक्षा अधिकारीले जनाएका छन् । 

टर्कीको कुर्द समर्थित पिपुल्स डेमोक्रेटिक पार्टीले विज्ञप्ति जारी गर्दै घटनाबाट स्तब्ध बनेको बताउँदै आफूहरू यसप्रकारका हिंसा अन्त्यका पक्षमा रहेको बताएको छ ।

टर्कीमा गत जुलाई १५ मा भएको सैनिक ‘कु’को असफल प्रयास भएको थियो । यो आक्रमण गत वर्षको अक्टोबर महिनापछिको सबैभन्दा भीषण आतंकवादी आक्रमण हो । 

त्यसबेला कुर्द समर्थित र मजदुर कार्यकर्ता भेला भएका बेला अंकाराको बाहिरी रेल स्टेसनमा भएको विस्फोटमा १ सयजना मारिएको थिए ।

गत जुन महिनामा इस्तानबुलस्थित अतातुर्क विमानस्थलमा तीनजना आईएसका लडाकूले गरेको आत्मघाती हमलामा कम्तीमा पनि ४४ जनाको मृत्यु भएको थियो ।