गत महिनामात्रै कांग्रेस सहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत नै गर्ने भएका छन् ।
प्रचण्डले यही भदौ महिनामा अन्तिम सातामा भारत भ्रमण गर्ने तयारी गरिरहेको उच्च स्रोतले जानकारी दिएको छ ।
यसअघि २०६५ मा पहिलो पटक प्रधानमन्त्री बनेका उनी भारतभन्दा अघि चीन गएपछि भारत उनीसँग चिढिएको थियो । त्यसलगत्तै भारत भ्रमण गरेका उनले चीनमा ओलम्पिक समापन समारोहमा सहभागी हुन गएको र आफ्नो पहिलो औपचारिक भ्रमण भारत नै भएको प्रष्टिकरण दिएका थिए । २०६५ सालमा प्रचण्डले चीनको बेईजिङमा आयोजित ओलम्पिक खेलकुदको समापन समारोहमा भाग लिएका थिए ।
नेपालका सबैजसो प्रधानमन्त्रीहरुले चीन भन्दा अघि भारतको भ्रमण गर्ने परम्परा रहँदै आएको छ । गत वर्ष भारतले नाकाबन्दी लगाएको अवस्थामा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयसम्म दुवै छिमेकी देश नगएर नाकाबन्दी फिर्ता भएपछि भारत भ्रमण गरेका थिए ।
नेपालमा हरेक पटक कम्युनिष्ट प्रधानमन्त्री बन्दा पहिलो भ्रमण भारतको हुन्छ या चीनको भन्ने विषय चर्चामा आउने गरेपनि अहिलेसम्म कुनै प्रधानमन्त्रीले खुलेर चीनको भ्रमण गर्न सकेका छैनन् । पूर्व प्रधानमन्त्री केपी ओली अन्य प्रधानमन्त्री भन्दा भारतप्रति केही कडा देखिएपछि परम्परा तोड्न सकेनन् ।
वर्तमान प्रधानमन्त्री प्रचण्डले पनि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई पहिले चीन भ्रमणमा पठाएपछि पहिले चीन भ्रमण गर्नसक्ने अट्कल गरिएपनि त्यो सत्य सावित नहुने भएको छ । प्रचण्डको भ्रमणको तयारीस्वरुप उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले भारत भ्रमण गरेका छन् ।
निधीको भारत भ्रमणका क्रममा भारतका राष्ट्रपति प्रणव मुखर्जीको सम्भावित नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणका साथै प्रचण्डको भारत भ्रमणको तयारीका बारेमा कुराकानी भएको छ ।
के के गरे प्रचण्डका दूतले ?
प्रचण्डले भारत र चीन दुवैतिर आफ्ना दूत पठाएर वर्तमान सरकारका प्राथमिकताबारे ब्रिफिङ गराएका छन् । भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री विमलेन्द्र निधीसँग भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, मधेसवादी दलका माग सम्बोधनका लागि संविधान संशोधनलगायतका विषयमा गहिरो चासो राखेको छ ।
भारतीय विदेशमन्त्री सुस्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहले निधीसँगको भेटमा मधेस आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरेर राम्रो कामको सुरुवात गरेको बताएका थिए । साथै सिंह र स्वराजले संविधान संशोधनसँगै संघीयता र आगामी निर्वाचनबारे विशेष चासो राखेको छ ।
यस्तै, हुलाकी राजमार्ग निर्माण, पश्चिम रेलमार्ग निर्माण, पञ्चेश्वर परियोजनाको डीपीआर सकेसम्म चाँडो सम्पन्न गर्ने, चालु परियोजनालाई अगाडि बढाउनेर नयाँ परियोजना निश्चित गर्नेलगायतका विषयमा समेत भारतले चासो राखेको छ । सोही अनुसार प्रचण्डको भारत भ्रमणका समयमा केही महत्वपूर्ण परियोजनामा हस्ताक्षर गराउने भारतको रणनीति रहेको छ ।
प्रचण्डले नेपाली परियोजना भारतलाई दिने यसअघि नै संकेत गरेका थिए । उनले प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्दा नै हुलाकी राजमार्ग, काठमाडौं तराई फास्ट ट्रयाक सम्पन्न गर्नका स्रोत देखाउन ओलीलाई आग्रह गरेका थिए ।
यस्तै भारतीय प्रधानमन्त्री मोदीले निधीसँगको भेटमा संविधान कार्यान्वयन भएर विकासको बाटोमा लम्किएको हेर्न आफूहरु आतुर रहेको बताएका थिए । उनले नेपालको संविधानप्रति असन्तुष्ट रहेको पक्षलाई कसरी सहमतिमा ल्याउने भन्ने भन्नेबारेमा निधीसँग जिज्ञासा राखेका थिए ।
भारत भ्रमणका क्रममा निधीले भारतीय विदेश सचिव सुब्रमन्यम जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र नेपालका लागि भारतीय राजदूत रञ्जित राय तथा भारतका लागि कार्यवाहक नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित गएर मोदीलाई भेटेका हुन् । उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणका निम्तो समेत दिएका छन् ।
यस्तै उत्तरी चीनको भ्रमणमा गएका अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महराले पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चिनियाँ नेताहरुलाई ब्रिफिङ गरेका थिए ।
उनले चीनमा पुगेर चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि खछ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । उनले नेपाल फर्किएलगत्तै चिनियाँ राष्ट्रपतिले छिट्टै नेपालको भ्रमण गर्ने दाबी पनि गरे । तर, चीनले भने तत्काल राष्ट्रपतिको भ्रमण हुने विषयमा स्पष्ट जानकारी नगराई पछि निर्णय गरिने बताएको स्रोतले जनाएको छ ।
चीन भ्रमणका क्रममा महराले विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री खछ्याङसहित चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरू र अन्य सरोकारवालालाई पनि भेटेका थिए । महराको भ्रमणका क्रममा प्रचण्डले पहिल्यैदेखि भन्दै आएको नेपाल, चीन भारत साझेदारीको विषयमा समेत कुराकानी भएको बताइएको छ ।
भारत र चीनले किन दिए महत्व ?
नेपालको राजनीतिक परिवर्तनमा भारतले धेरै पहिले देखि नै हस्तक्षेप मात्रै गर्दै आएको छैन नेपाली नेताहरुले नै भारतको हस्तक्षेपलाई निम्त्याउँदै आएका छन् । नेपालमा हरेक पटक सरकार परिवर्तन हुँदा सबैभन्दा पहिले भारतको भ्रमण गर्नु परम्परा जस्तै बनेको छ । तर, यी भ्रमणले नेपालको विकास भन्दा पनि हस्तक्षेप र राष्ट्रिय स्वाधीनता धरापमा पर्दै आएको छ ।
नेपालको आन्तरिक मामिलामा खासै चासो नराख्ने चीनपनि भारतको नेपालमा बढ्दो प्रभावकाबीच अहिले सक्रिय बन्न थालेको छ । यसैक्रममा गत साता भएका नेपालका दुई उपप्रधानमन्त्रीको भ्रमणलाई दुवै देशले महत्व दिए । भारत र चीनको फरक चाहाना र समानस्तरको चासोबीच नेपाल सरकारले सन्तुलन कायम गर्न सक्छ कि सक्दैन भन्ने कुरा भने आज नै भन्न सकिन्न ।
तर, दुवै देशसँगको सम्बन्धलाई सन्तुलनमा राखेर नेपालको हितमा प्रयोग गर्न अहिलेसम्मका सरकार प्रायः असफल रहँदै आएका छन् । यसपटक भारत र चीनले नेपालको राजनीतिक स्थिरता, संविधान कार्यावन्यन, नेपालप्रति बढ्दो पश्चिमा चासो र आगामी निर्वाचनबारे चासो राखेका छन् । पछिल्लो समयमा चीनको नेपालप्रतिको चासोलाई भारतीय पक्षले मन पराएको छैन ।
सोही पृष्ठभूमीमा भारत नेपालमा आफ्नो गुमेको वर्चस्व पुनः स्थापित गर्न सम्पूर्ण बल प्रयोग गरेर लागेको छ भने चीन पनि आफ्नो हित विपरितका गतिविधि नेपाली क्षेत्रबाट नहुन् भन्ने चाहन्छ ।
खासगरी चीनले नेपाली भूमीलाई प्रयोग गर्दै हुनसक्ने तिब्बतविरोधी गतिविधिबारे हरेक पटक गहिरो चासो राख्दै आएको छ । चीनले भारतसम्म पुग्न नेपाललाई पुलको रुपमा लिएको देखिएका छ भने भारतले चीनलाई जोड्ने कुरा गरेको छैन । नेपालको कूटनीतिक सफलता असफलता यसैमा निर्भर छ ।
प्रचण्डको दोधार
प्रधानमन्त्री प्रचण्ड भने यतिबेला भारत र चीनबीचको सम्बन्धलाई सन्तुलनमा राख्ने विषयमा दोधारमा देखिएका छन् । भारतसँगमात्रै सम्बन्ध बढाएमा भारतपरस्त भएको आरोप लाग्ने र चीनसँग नजिक भएमा भारत रिसाउने भएकाले उनलाई दुवैतिर सम्बन्ध मजबुत बनाउन समस्या परेको छ ।
सोही कारण उनले आफू प्रधानमन्त्री भएलगत्तै भारत र चीनमा आफ्ना दूतहरु पठाएको जानकारहरुको भनाई छ । महरालाई चीन पठाएर आफ्नो सरकारको प्राथमिकता चीन नै रहेको देखाउन खोजेका प्रचण्डले पहिले भारत भ्रमणमा गएर दक्षिणी समर्थन जुटाउने प्रयत्न गर्ने भएका छन् । उनीसँग अघिल्लो सरकारले चीनसँग गरेको केही सम्झौता कार्यान्वयन गर्ने अर्को चुनौती पनि रहेको छ ।
चीनसँग हुने हरेक सम्झौतालाई भारतले सुक्ष्म ढंगले हेरिरहने हुनाले पनि उनलाई दुवैसँग समदूरीको सम्बन्ध राख्न र दुवै देशसँग सम्झौता कार्यान्वयन गर्दै अघि बढ्न सहज भने छैन । भारतले नेपालमाथि आफ्नो प्रभुत्व कायम राख्नुलाई सधैं विशेषाधिकार सम्झदै आएको छ भने चीन शान्त कूटनीतिक स्वभावको राष्ट्र हो ।
पछिल्लो समयमा नेपालमा भारतको नांगो हस्तक्षेपसँगै पश्चिमा चासो समेत घालमेल भएर आएको छ । सोही कारण पनि नेपालमाथि चीनको चासो बढ्दै गएको हो । दुवै देशसँग समदूरीको सम्बन्ध कायम राख्दै नेपालको हितमा प्रयोग गर्न सक्छन् या दुई वटा नाउमा टेकेर फेरि अर्को असफलताको भारी बोक्छन् त्यो भने भविष्यले नै प्रष्ट पार्नेछ ।