नागरिक लगानी कोषका विरुद्ध बानेश्वरका तरकारी व्यापारीहरुको प्रदर्शन

नागरिक लगानी कोषका विरुद्ध बानेश्वरका तरकारी व्यापारीहरुको प्रदर्शन

काठमाडौं । वैकल्पिक व्यवस्थाविना हटाउन खोजेको भन्दै बानेश्वरका तरकारी व्यापारीहरुले नागरिक लगानी कोषका विरुद्ध प्रदर्शन गरेका छन् । वर्षौंदेखि तरकारी व्यापार गर्दै आएका व्यापारीहरुलाई विनाविकल्प १५ दिने सूचना जारी गरी नागरिक लगानी कोषको उक्त जग्गा खाली गर्न उर्दी जारी गरेपछि व्यापारीहरु आक्रोसित बनेका छन् ।

कोषसँग भएको सम्झौतानुसार दश प्रतिशत बढाएर भाडा तिरिरहेको अवस्थामा र कोषका उपनिर्देशक रामकुरमार पोखरेलसँग साउन १८ गते व्यापारीहरुका प्रतिनिधिसँग वैकल्पिक व्यवस्था नभई नहटाउने सहमति भएको केही दिनमै एक्कासी हटाउन माइकिङ गरेको र डोजर लाउन खोजेको व्यापारीहरुले आरोप लगाएका छन् । शनिवारको उक्त घटनापछि व्यापारीहरु संगठित रुपमा कोषको यस्तो रवैयाका विरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

उपत्यका ताजा तरकारी तथा फलफूल व्यावसायी संघको व्यानरमा उनीहरुले ‘गरि खान देऊ’, ‘विकल्पविना बजार हटाउन पाइदैन’लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । संघका अध्यक्ष भर्तबहादुर लावतीका अनुसार त्यहाँ अहिले दुईसयभन्दा बढी स्टलहरु रहेका छन् । दुई करोडभन्दा बढी संघमार्फत् व्यापारीहरुले लगानी गरेर संरचना बनाएका छन् । बनेपा, धादिङलगायत भारतबाट समेत तरकारी आयात गर्ने यस तरकारी बजारले हजारौ उपभोक्ताहरुको मागलाई धान्दै आएको छ भने हजारौ किसानहरुले आफ्नो उत्पादनको बजारको रुपमा यो बजारलाई प्रयोग गर्दै आएका छन् । माग पूरा नभएसम्म प्रदर्शन जारी राख्ने व्यापारीहरुले बताएका छन् । नागरिक लगानी कोषको स्वामित्वमा रहेको उक्त जग्गामा कोषले भवन निर्माण गर्ने उद्देश्यले व्यापारीहरुलाई अन्यत्र सर्न दबाब दिंदै आएको छ ।