नेदरल्याण्डमाथि नेपालको महत्वपूर्ण जित, पारसको कप्तानी इनिङ

नेदरल्याण्डमाथि नेपालको महत्वपूर्ण जित, पारसको कप्तानी इनिङ

Nepal's Paras Khadka defends during the ICC World Cricket League Championship in Amsteelveen, Netherlands, on Saturday, August 13, 2016. Courtesy: Eurosports
Nepal’s Paras Khadka defends during the ICC World Cricket League Championship in Amsteelveen, Netherlands, on Saturday, August 13, 2016. Courtesy: Eurosports

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले नेदरल्याण्ड्समाथि महत्वपूर्ण जित निकालेको छ । कप्तान पारस खड्काको कप्तानी इनिङ खेलेसँगै नेपालले नेदरल्याण्ड्समाथि १९ रनको जित निकालेको हो ।

यो जितपछि नेपालले शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ । यसअघि शनिबार भएको खेलमा नेपालले ७ विकेटको हार बेहोरेको थियो । नेदरल्याण्डको भने यो पहिलो हार हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्ताल पारसको ८४ रनको मदतमा २ सय १७ रनको योगफल तयार पारेको थियो । जवाफमा मैदान उत्रिएको घरेलु टोली अन्तिम ९ बल खेल्नु अघि नै १९८ रनमा अलआउट भयो ।

अन्तिम दुई ओभरमा नेदरल्याण्डलाई जितका लागि २३ रन चाहिएको थियो । तर, दोस्रो बलमा सोमपालले विकेट लिए । तेस्रो बलमा मलिक रन आउट भएपछि नेपालले १९ रनको जित हात पारेको छ । यसअघि ४७ औं ओभरको खेलमा नेपालका वसन्त रेग्मीले ३ रन दिएर महत्वपूर्ण दुई विकेट लिएपछि नेदरल्याण्ड्स दबाबमा परेको थियो ।

खराब सुरुवात गरेको उसले आठौं ओभरमा मात्र २१ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । रे भान डेरले ५६ रन बनाए भने गुर्जितर्सले ४४ र ओडाउडले ३५ रन जोडे । यस्तै टी भान डेरले ३६ रन जोडे ।

नेपालका पारससँगै सोमपाल कामी र वसन्त रेग्मीले २–२ विकेट लिए । शक्ति गौचन, सन्दिप लामिछाने र सागर पुनले १–१ विकेट हात पारे ।

नेपालले पनि राम्रो सुरुवात गर्न सकेको थिएन । ६५ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको नेपालको पारी कप्तान पारस र सागर पुनले सम्हाले । उनीहरुले चौथो विकेटका लागि ११८ रनको महत्वपूर्ण साझेदारी गरे ।

कप्तान खड्का ८४ रनमा आउट भए भने पुनले ४५ रन जोडे । उपकप्तान ज्ञानेन्द्र मल्लले ३९ रन बनाएका थिए । विनोद भण्डारीले १७ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

घरेलु टोलीका लागि भान मिकेरनले ३ तथा किङ्मा र रिपोनले २–२ विकेट लिए ।
नेदरल्याण्ड्स ८ खेलबाट १२ अंकका साथ शीर्ष स्तानमा छ । दोस्रो स्थनमा रहेको हङकङको ९ र तेस्रो स्थानमा रहेको स्कटल्याण्डको पनि ९ अंक नै छ ।
तर, स्कटल्याण्ड ७ खेल खेलेको छ भने हङकङले ६ खेल मात्र खेलेको छ । पपुवा न्यूगिनीको ८ अंक छ । केन्या र नेपाल समान ६–६ अंक सहित क्रमशः पाँचौ र छैटौं स्थानमा छन् ।