विकासको पृष्ठभूमि :
माओवादी सौन्दर्य दृष्टि माक्र्सवादी–लेनिनवादी सौन्दर्य दृष्टिको गुणात्मक विकास हो । यसको स्पष्टताका लागि माक्र्सवादी–लेनिनवादी सौन्दर्य चिन्तनबारे संक्षिप्त चर्चा जरुरी छ ।
(क) माक्र्सवादी सौन्दर्य दृष्टि :
माक्र्स–एंगेल्सले सौन्दर्य चिन्तनलाई जुन नयाँ उँचाइमा पुर्याउनुभयो, त्यसका मूल विशेषता यी हुन्–
पहिलो, द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा सौन्दर्य चिन्तनको व्याख्या । उहाँहरुले यो बताउनुभयो कि उत्पादक शक्ति र उत्पादन सम्बन्ध, आधार र उपरीसंरचनाबीच संघर्ष चल्दै जान्छ । यसको परिणाम क्रान्ति हो । राजनीति, धर्म, दर्शन, कानुन, सौन्दर्य कला, सँँस्कृतिलगायत विचारधाराका विविध रुप उपरीसंरचनाका अ¨ हुन् । यी सबको विकास आर्थिक विकासमा आधारित हुन्छ र यिनले एक अर्कोलाई प्रभावित पार्छन् । आफ्नो इतिहास, भाव र विचारका निर्माता स्वयम् मान्छे नै हुन् । वर्गसंघर्षसँगै साहित्य र कला पनि विकसित हुँदै जान्छन् ।
दोस्रो, साहित्य र कलाको इतिहासको भौतिकवादी व्याख्या । उहाँहरुले यो भन्नुभयो कि कलाको विकासमा श्रमको महत्वपूर्ण भूमिका रहेको छ । श्रम विभाजनको कारण श्रम र प्रतिभाबीच अलगाऊ पैदा हुन्छ । पुँजीपतिवर्गले सामन्ती काव्यात्मक सम्बन्धको अन्त्य गरेर क्रान्तिकारी भूमिका अवश्यै खेल्यो । परन्तु, त्यसले व्यक्तिको मूल्यलाई विनिमय मूल्य बनाइदियो । लेखक–कलाकारको प्रतिभा भण्डार छिनेर लियो र तिनलाई वेतन भोगी मजदुर बनायो ।
यसैबीच पुँजीवादी कलाको ह्रास र समाजवादी कलाको विकास हुँदै जान्छ । जब मानिस साम्यवादमा पुग्छन्, त्यो बेला श्रम विभाजनको अन्तसँगै पराधीनता, व्यावसायिक संकुचितता र विशिष्टतामा आधारित प्रतिभाको पनि अन्त हुनेछ । मानिसहरु अरु कामसँगै कलाकारिता पनि गर्नेछन् ।
तेस्रो, कला–साहित्यका मूल्य–मान्यताको निर्धारण । उहाँहरुले कला प्रवृत्तिमूलक हुने कुरा बताउँदै उद्देश्यपरकताको सिद्धान्त प्रतिपादन गर्नुभयो । यथार्थवादअन्तर्गत, “विस्तारको सच्चाइका अतिरिक्त प्रतिनिधि परिस्थितिहरुमा प्रतिनिधि चरित्रको पुनःसृजन”१ गरिनुपर्ने कुरामाथि प्रकाश पार्दै कला प्रतिबिम्बनको सिद्धान्तलाई नयाँ उँचाइ प्रदान गर्नुभयो ।
कला मूल्यको निर्धारण आर्थिक विकास र वर्गसंघर्षको सापेक्षताअनुरुप हुने कुरा बताउँदै समीक्षा सिद्धान्तको माक्र्सवादी जग हाल्नुभयो । उहाँहरुले सौन्दर्यको स्रोत वस्तुलाई मान्दै सौन्दर्य नियमअनुरुप वस्तुको सृष्टि पनि हुने कुरा बताउनुभयो र सौन्दर्यबोधको माक्र्सवादी सिद्धान्त प्रतिपादन गर्नुभयो ।
यसरी सारमा माक्र्स–एंगेल्सले सौन्दर्य–चिन्तनलाई आदर्शवादको स्वर्गबाट भौतिकवादको धर्तीमा खडा गर्नुभयो र त्यसलाई अधिभूतवादको पञ्जाबाट मुक्त गरेर द्वन्द्ववादी ढंगले समृद्ध पार्नुभयो । यसै विश्वदृष्टिकोणका एक अंगको रुपमा माक्र्सवादी सौन्दर्य सृष्टिको जन्म भयो । यसैअनुरुप उहाँहरुले कलाको इतिहासको भौतिकवादी व्याख्या गर्नुभयो र यथार्थवादलाई नयाँ वैज्ञानिक आधार प्रदान गर्नुभयो । दुनियाँ बुझ्ने र बदल्ने काम नयाँ यथार्थवादले पनि आफ्नो हातमा लियो । यो सौन्दर्य–चिन्तनको क्षेत्रमा एक आमूल क्रान्ति थियो ।
(ख) लेनिनवादी सौन्दर्य दृष्टि :
लेनिनले माक्र्सवादलाई पचाउनुभयो र साम्राज्यवाद एवम् सर्वहारा क्रान्तिको युगको वर्गसंघर्षका संगीन समस्यासँग जुझ्ने क्रममा लेनिनवाद र लेनिनवादी सौन्दर्य दृष्टिको गुणात्मक रुपले विकास गर्नुभयो । लेनिनवादी सौन्दर्य चिन्तनको मूल विशेषता हो– पक्षधरताको सिद्धान्तको प्रतिपादन । उहाँको साहित्य र कलाको क्षेत्रमा पुँजीवादी व्यक्तिवाद र साहेवी अराजकतावादका विरुद्ध, वर्ग तथा समाज निरपेक्ष स्वतन्त्रताका विरुद्ध कलाको पक्षधरताको सिद्धान्त प्रतिपादन गर्नुभयो र यो सिद्धान्तलाई अगाडि बढाउन एवम् जीवनमा लागू गर्न जोड दिनुभयो । उहाँले भन्नुभयो, “समाजवादी यथार्थवादको कला जनताप्रति पक्षपात र प्रेमका सिद्धान्तहरुमा आधारित छ ।”२
लेनिनको समाजवादी यथार्थवादी कलाको पक्षधरताको सिद्धान्तको सारलाई व्यक्तिवादी “म” को संसारबाट सर्वहारावादी “हामी” को संसारमा रुपान्तरणका अर्थमा ग्रहण गर्नुपर्दछ र माक्र्सवादी–लेनिनवादी सौन्दर्य चिन्तनको इतिहासमा यसको विशेष महत्व छ ।
माओवादी मान्यता :
माक्र्स र लेनिनजस्तै माओले पनि सौन्दर्य–मूल्यको निर्धारणलाई लक्ष्य बनाएर काम थाल्नुभएन । वर्गसंघर्षमा भिड्दै जाँदा सौन्दर्य–चिन्तनलाई पनि उच्च रुपमा विकसित गर्नुभयो । यस कार्यमा उहाँमा माक्र्सवाद–लेनिनवादका अतिरिक्त यथार्थवादी कलाकार एवम् चिन्तकहरु– गोर्की, लु स्यून आदिको पनि ठूलो प्रभाव परेको छ । स्वयम् कवि र समीक्षक हुनुको नाताले पनि उहाँले यस क्षेत्रलाई उर्वर बनाउनुभएको छ ।
माओले यस क्षेत्रमा त्यो बेला हात हाल्नुभयो, जुन बेला एकातिर माक्र्सवादी–लेनिनवादी सौन्दर्य चिन्तनको निकै व्याख्या, बहस तथा विकास भइरहेको थियो भने अर्कोतिर “कला कलाका लागि सिद्धान्त” मान्ने, मानव स्वभाववादी, शून्यवादी लगायत तमाम ह«ासोन्मुखी पुँजीवादी लेखक–कलाकारहरुको ठूलो जत्था पनि मैदानमा खडा थियो । यी दुई फौजबीचमा ती निम्न पँुजीवादी लेखक–कलाकार पनि थिए, जुन कहिले यता र कहिले उता ढल्कने गर्दथे ।
माक्र्सवादी–लेनिनवादी सौन्दर्य फाँटभित्रै पनि कयौं विषयहरु विवादका गुत्थी बन्दै आएका थिए । कतिपय मानिसहरु सौन्दर्य–चिन्तनको वर्ग एवम् समाजसापेक्ष स्वरुपमाथि यसरी आशंका व्यक्त गर्दथे कि माक्र्स–एंगेल्सले कलाको असमान विकासको चर्चा गर्दा केही सर्वोत्तम रचनाहरु शाश्वत हुने र तिनको मूल्यलाई सामाजिक परिवर्तनले कुनै असर नगर्ने कुरा बताउनुभएको थियो ।
उनीहरु यो भन्दथे कि उहाँहरुले लेखकीय प्रवृत्ति र कलात्मक प्रतिबिम्बनको सिद्धान्तको उल्लेख गर्दा लेखक कुनै बनिबनाऊ समाधान दिन बाध्य नहुने वा कुनै–कुनै बेला कसैको विशेष पक्ष नलिए पनि हुने कुरा बताउनुभएको थियो । साथै उनीहरु यो पनि भन्दथे कि लेनिनको पक्षधरताको सिद्धान्त निकै कडा तथा अव्यावहारिक छ र यसले कलाकाहरुको सिर्जनात्मक ‘मूड’ नै खत्तम पारिदिन्छ ।
माओलाई यी सब कुराको जवाफ दिनु थियो र यो भन्दा पनि अझ बढी वर्गयुद्धका समस्या हल गर्दै अघि बढ्नु थियो । क्रान्तिका समस्या कसरी हल गर्दै जाने र विचारधाराको क्षेत्रमा निम्न पुँजीवाद, पुँजीवाद र संशोधनवादलाई पछार्दै कसरी अघि बढ्ने, माओका अगाडि यी नै चुनौति थिए र यिनको सामना गर्ने क्रममा उहाँले सौन्दर्य–चिन्तनको क्षेत्रमा पनि निकै महत्वपूर्ण योगदान दिनुभयो ।
माओवादी सौन्दर्य–चिन्तनका मूल विशेषता यी हुन्–
(क) सौन्दर्य–चिन्तनको पद्धतिः
माओको सौन्दर्य–चिन्तनको पद्धति सबैखाले अधिभूतवादका विरुद्ध भौतिकवादी द्वन्द्ववादमा–अन्तर्विरोधको नियममा आधारित छ । साहित्य, कलालाई उहाँले विचारधाराका विशिष्ट रुप मान्नुभएको छ र त्यसैले तिनको विचारधाराका अन्य रुपसरह आफ्नै विशिष्ट स्वत्व हुने कुरामाथि पनि प्रकाश पार्नुभएको छ । यसैकारण उहाँले यो भन्नुभएको छ कि माक्र्सवादले यथार्थवादलाई हटाएर त्यसको ठाउँ लिन सक्तैन ।
साहित्य र कलाका समस्याबारे विचार गर्दा उहाँ जीवनका वास्तविकतालाई आधार बनाएर सोच्नुपर्ने कुरामा जोड दिनुहुन्छ र परिभाषाबाट सुरु गरी पाठ्यपुस्तकमा हल खोज्ने चिन्तनको कडा विरोधी हुनुहुन्छ । उहाँले वर्गसमाजमा हरेक मानिसका विचार र भावहरु वर्गीय हुने र यसरी नै सत्य, प्रेम, मानवस्वभाव आदि कुनै पनि चीज अमूर्त नहुने कुरा बताउनुहुन्छ । सौन्दर्य–मूल्यलाई उहाँले शाश्वत हैन समाज सापेक्ष र परिवर्तनशील मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “सत्य असत्यका विरुद्ध छ र त्यो यसैसित लडेर विकसित हुन्छ । सुन्दर कुरुपका विरुद्ध छ र त्यो यसैसित लडेर विकसित हुन्छ । असल र खराबको कुरा पनि यस्तै हुन्छ ।”३ उहाँले पुँजीवादी तथा निम्न पुँजीवादी विचारधाराबीचको संघर्ष निकै लामो समयसम्म चल्ने र सत्य–असत्य, असल–खराब र सुन्दर–असुन्दरबीचको संघर्ष निरन्तर चली नै रहने कुरा बताउनुभएको छ । विचारधारा, साहित्य र कलाको क्षेत्रमा चल्ने यसप्रकारको संघर्षलाई उहाँले “एकता–आलोचना–रुपान्तरण” का आधारमा “सयौं फूल फुल्न दिने, सयौं विचार शाखामा प्रतियोगिता चल्न दिने” नीतिअन्तर्गत समाधान गर्दै नयाँ आधारमा एकता कायम गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिनुभएको छ ।
माओले एकातिर साहित्य र कलालाई राजनीतिको मातहतमा हुने र अर्कोतिर साहित्य र कलाले पनि राजनीतिलाई प्रभावित पार्ने कुरा बताउनुभएको छ । यस्तै उहाँले उपरीसंरचनामा विविध अंग वा रुपहरु, जसमा कला–साहित्य र सँस्कृति पनि पर्दछन्– ले आफू खडा भएको आर्थिक आधारलाई पनि बदल्छन् भन्नुभएको छ र समाजवादी रुपान्तरणको निम्ति कला–साहित्यको पनि महत्वपूर्ण भूमिका रहने कुरा बताउनुभएको छ ।
परन्तु जब सामाजिक आर्थिक आधार बदलिंदा पनि त्यसको सेवा गर्ने कलामा “परिवर्तन एक गम्भीर समस्या”४ बन्दछ, त्यो बेला उहाँले गम्भीर अध्ययन र जाँचपड्तालमा जोड दिनुहुन्छ र त्यसको अन्तिम परिणाम महान् सर्वहारा साँस्कृतिक क्रान्ति नै हुन्छ । कला, साहित्य, सँस्कृतिलगायत विचारधाराका विभिन्न क्षेत्रमा विद्यमान निम्न पुँजीवाद, पुँजीवाद र संशोधनवाद निर्मूल पार्ने तथा विश्वदृष्टिकोणको समस्या हल गर्ने उद्देश्य प्राप्तिका निम्ति, नयाँ सौन्दर्य चेतनाले समृद्ध मानव जातिको सृष्टिको निम्ति, यस महान् सर्वहारा साँस्कृतिक क्रान्तिको विशेष महत्व रहेको छ ।
ख) सौन्दर्य–चिन्तनको सिद्धान्त :
माओवादी सौन्दर्य–चिन्तनको सिद्धान्तका मूल विशेषता यी हुन् :
पक्षधरताको सिद्धान्त :
“साहित्य कला कसका लागि ?” यो प्रश्नलाई माओले साहित्य र कलाको आधारभूत सिद्धान्तको प्रश्न बताउनुभएको छ । यो पक्षधरताको सवालसँग जोडिएको प्रश्न हो र यसको हल लेनिनबाट भइसकेको छ । परन्तु, माओले त्यसलाई अझै परिस्कृत तुल्याउने काम गर्नुभएको छ । जनताका लागि लेख्ने भनेको के र त्यो कसरी लेख्ने– यी दुबै सवाललाई उहाँले साहित्यको केन्द्रीय सवालका रुपमा लिनुभएको छ । साहित्य र कलामा गैरपक्षधरताको वकालत गर्ने तमाम गलत चिन्तनमाथि प्रहार गर्दै उहाँ भन्नुहुन्छ, “वास्तवमा कला कलाका लागि सिद्धान्त मान्ने कला तथा राजनीतिको समानान्तर रहने वा त्यसबाट स्वतन्त्र रहने कला नामका कुनै चीज छैनन्, लेनिनका शब्दमा ती सम्पूर्ण क्रान्तिकारी मेसिनका दाँती र पेच समान छन् ।”५
सम्पूर्ण क्रान्तिकारी मेसिनका अंगका रुपमा साहित्य र कलालाई कसरी जोड्ने ? दुश्मनलाई नष्ट गर्ने र जनतालाई प्रशिक्षित तथा गोलबन्द गर्ने शक्तिशाली हतियारका रुपमा तिनको विकास कसरी गर्ने ? यी उद्देश्य प्राप्तिका लागि उहाँले लेखक–कलाकारसँग सम्बन्धित वर्गदृष्टिविन्दु रुझान, दर्शक, पाठक र अध्ययनका समस्याहरुको विश्लेषण गरी सही समाधान प्रस्तुत गर्नुभयो ।
प्रतिबिम्बनको सिद्धान्त :
साहित्य र कलालाई उहाँले सामाजिक जीवनको प्रतिबिम्ब बताउनुभयो र जनताको जीवनलाई कच्चामालको खानीको रुपमा लिंदै त्यो अप्रशोधित भए पनि अत्यन्तै सजीव, समृद्ध र मौलिक हुने कुरा स्पष्ट पार्नुभयो । मानिस जीवनलाई हेरेर मात्र किन सन्तुष्ट हुन सक्तैनन् र कला साहित्यको माग गर्छन् ? उहाँले भन्नुभयो, “यद्यपि ती दुबै सुन्दर हुन्छन्, परन्तु साहित्यिक रचनाहरु र कलाकृतिहरुमा प्रतिबिम्बित हुने मानव जीवन दैनिक वास्तविक जीवन भन्दा बढी उँचो धरातलमा, बढी तीब्र, बढी घनीभूत, बढी विशिष्टतापूर्ण, आदर्शको बढी नजिक तथा त्यसैले अझ बढी व्यापक प्रभाववाला हुन सक्तछ र त्यो त्यस्तो हुन पनि पर्दछ ।”६ माओको यस भनाइमा यथार्थ र कलाबीचको द्वन्द्वात्मक सम्बन्ध राम्रोसँग स्पष्ट भएको छ । यहाँ कस्तो छ होइन, कस्तो हुनुपर्छ भन्ने कुराको निकै राम्रो जवाफ दिइएको छ । यहाँनेर माओले ज्ञानको– त्यसैले सौन्दर्य–चिन्तनको पनि– दुई छलाङ सिद्धान्त राम्रोसँग लागू गर्नुभएको छ ।
कला मूल्यको मापदण्डको सिद्धान्त :
माओ भन्नुहुन्छ, “कला–साहित्यको समालोचनाका दुई मापदण्ड हुन्छन्– राजनीतिक र कलात्मक ।”७ यी दुईमा उहाँले पहिलोलाई प्रधान र दोस्रोलाई गौण बताउनुभएको छ । यसो किन ? उहाँ भन्नुहुन्छ– सबै वर्ग समाजमा सबै वर्ग यसै गर्छन् । कलात्मक प्रतिभाको दृष्टिले जतिसुकै उँचो भए पनि सर्वहारावर्गका कलाकृतिका निमित्त पुँजीपतिवर्गको सदा ढोका बन्द हुन्छ । त्यस्तै विषयवस्तु जति प्रतिक्रियावादी हुन्छ र जसको कलात्मक प्रतिभा जति नै उँचो हुन्छ, त्यो कृति जनताका निमित्त त्यत्तिकै जहरिलो हुन्छ । त्यसलाई लत्याउन त्यत्तिकै जरुरी हुन्छ । वस्तु र कलाबीचको यो अन्तर्विरोधलाई उहाँले ह्रासकालीन शोषकवर्गीय कला–साहित्यको “एक विशेषता” बताउनुभएको छ ।
असल र खराबबीचको अन्तरलाई कसरी छुट्याउने त्यस निम्ति उहाँले प्रयोजन र परिणाम– आम जनताको सेवा गर्ने प्रयोजन र जनताद्वारा समर्पित हुने परिणाम– बीचको द्वन्द्वात्मक एकतालाई आधार बनाउनुभएको छ ।
कलात्मक मापदण्डको चर्चा गर्ने सन्दर्भमा उहाँले स्तरीयता र लोकप्रचलनको द्वन्द्वात्मक एकतामा जोड दिनुभएको छ । यो कलाको सम्प्रेषण सिद्धान्तसँग सम्बन्धित प्रश्न हो र यसलाई उहाँले जनताको सेवा गर्ने प्रयोजन र जनताद्वारा समर्पित हुने परिणामसँग जोड्नुभएको छ ।
कुनै वस्तु किन सुन्दर मानिन्छ ? यसको जवाफमा उहाँले भौतिकवादी उपयोगितावादी– “सर्वहारा क्रान्तिकारी उपयोगितावादी” दृष्टि अवलम्बन गर्नुभएको छ । यसलाई पनि सरलता र स्तरीयताको प्रश्नसँग जोड्नुभएको छ । यथार्थवादी सौन्दर्य चिन्तकहरुले जीवनपरक कलालाई श्रमसँग जोड्ने गरेका छन् । माक्र्सले कलाको विकासमा श्रमको महत्वपूर्ण भूमिका रहने कुरा बताउनुभएको छ । चेर्नी शेब्स्कीले– सुन्दर जीवन नै हो भनेका छन् । परन्तु, प्रश्न छ– वस्तुलाई सौन्दर्य सुखसँग जोड्ने तत्व के हो, त्यो अवश्यै उपयोगिता हो । जुन वस्तु जीवनोपयोगी छ त्यही नै सुन्दर हुन्छ र वस्तुमा जीवनको उपयोगिता सृष्टि गर्ने मूल तत्व श्रम नै हो ।
सौन्दर्यसम्बन्धी माओको सर्वहारा क्रान्तिकारी उपयोगितावाद ठीक यसै कुरामा आधारित छ । त्यसैले त माओ भन्नुहुन्छ– “जनताको मौलिक आवश्यकता ‘रेशमी कपडामा बढी बुट्टा’ होइन । अपितु जाडोको बेला चाहिने दाउरा (इन्धन) हो ।” एकातिर असहनीय दुःख–दर्द र गरीवी अर्कोतिर विशाल वैभव र मान्छेद्वारा मान्छेको डरलाग्दो शोषण– यो स्थितिमा जनताको निम्ति जीवनोपयोगी वस्तु क्रान्ति नै बन्दछ र त्यसनिम्ति राजनीतिकै, पक्षधरताकै आवश्यकता पर्दछ । ठीक यसैकारण माओले राजनीतिक मापदण्डलाई कला–मूल्यको प्रधान मापदण्ड मान्न पुग्नुभएको हो ।
परन्तु, यस सन्दर्भमा उहाँले कलात्मक मापदण्ड पटक्कै उपेक्षा गर्नुभएको छैन । प्रतिक्रियावादी राजनीतिक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गर्ने रुपवादी शैलीका साथै प्रगतिशील राजनीतिक चिन्तनलाई पोस्टरवाजी वा नारावाजी शैलीमा प्रस्तुत गर्ने चिन्तनको पनि पूरा विरोध गर्नुभएको छ । निष्कर्षमा माओ भन्नुहुन्छ, “हामी जुन चीजको माग गर्दछौं, त्यो हो– राजनीति र कलाको एकता, विषयवस्तु र रुपको एकता, क्रान्तिकारी राजनीतिक विषयवस्तु र यथासम्भव बढी पूर्ण कलात्मक रुपको एकता ।” यसरी सारमा जुन कृतिमा विषयवस्तु र रुपबीच यसप्रकारको द्वन्द्वात्मक एकता कायम गरिएको हुन्छ, त्यही नै माओको दृष्टिमा सुन्दर कृति हो ।
माओले कला समालोचनाका यी दुबै मापदण्डहरुलाई अमूर्त तथा अपरिवर्तनशील मान्ने चिन्तनको विरोध गर्दै ती मूर्त एवम् परिवर्तनशील हुने कुरा बताउनुभएको छ ।
सृजनशीलताको वर्गीय सिद्धान्त :
माओले जनपक्षधर लेखक कलाकारहरुका निम्ति माक्र्सवादको अध्ययन आवश्यक भएको कुरा बताउनुभयो । यससन्दर्भमा उहाँले माक्र्सवादको अध्ययनले कलाकारहरुको सृजनशील मूडलाई नष्ट गरिदिन्छ भन्ने चिन्तनमाथि कडा प्रहार गर्दै दुई कुरा स्पष्ट पार्नुभयो । पहिलो, माक्र्सवाद र यथार्थवादबीचको सम्बन्ध र दोस्रो, सिर्जनात्मक मूडको वर्गचरित्र । उहाँले भन्नुभयो, “साहित्यिक र कलात्मक सृजनको कार्यमा माक्र्सवादले यथार्थवादलाई हटाएर त्यसको स्थान लिन सक्तैन, अपितु त्यसलाई आफूभित्र समावेश गर्दछ, ठीक त्यसरी जसरी त्यसले भौतिक विज्ञानमा परमाणु र विद्युतसम्बन्धी सिद्धान्तहरुलाई हटाएर त्यसको ठाउँ लिन सक्तैन, अपितु तिनलाई आफूभित्र समावेश गर्दछ ।”८ यसको अर्थ के ? माक्र्सवाद प्रकृति, समाज र चिन्तनका आम नियमहरुको अध्ययन गर्ने एक सामान्य विज्ञान हो, तर जब कि यथार्थवाद कलाका वस्तुवादी नियमहरुको सौन्दर्यपरक ढंगले अध्ययन गर्ने एक विशिष्ट विज्ञान ।
जस्तो कि परमाणु विद्युत अणुसम्बन्धी नियमको अध्ययन गर्ने भौतिक विज्ञान एक विशिष्ट विज्ञान हो । माक्र्सवाद सामान्य हो, चिन्तनका अन्य शाखा विशिष्ट हुन् । सामान्य हुनुको हैसियतले माक्र्सवाद चिन्तनको विशिष्ट शाखा यथार्थवादलाई आफूभित्र समेट्न समर्थ छ, परन्तु यथार्थवादको आफ्नै विशिष्ट हैसियत हुनुको कारण त्यसको सत्य अपहरण गर्न सक्तैन, त्यसलाई हटाएर त्यसको स्थान लिन असमर्थ छ ।
अब आउँछ– सिर्जनात्मक मूडसँग गाँसिएको माक्र्सवादको अध्ययनको कुरा । माओको दृष्टिमा माक्र्सवादको अध्ययन गर्नुको अर्थ संसार, समाज र कला–साहित्यलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणले हेर्नु हो, न कि कुनै कलाकृतिमा दर्शनशास्त्रका भाषण छाँट्न हिंड्नु । “उसो भए के माक्र्सवादले सिर्जनात्मक मूड नष्ट गरिदिंदैन ?” माओ भन्नुहुन्छ, “हो, गरिदिन्छ । त्यसले पक्कै हरेक यस्तो सिर्जनात्मक मूडलाई– जुन सामन्ती, पुँजीवादी, निम्नपुँजीवादी, उदारतावादी, व्यक्तिवादी, शून्यवादी, ‘कला कलाका लागि’ सिद्धान्त मान्ने अभिजातवर्गीय, पतनशील अथवा निराशावादी र हरेक त्यस्तो सिर्जनात्मक मूडलाई जुन विशाल जनसमुदाय र सर्वहारावर्गको होइन, नष्ट गरिदिन्छ ।” यसरी स्पष्ट छ, माओले सिर्जनात्मक मूडको प्रश्नलाई वर्गीय अर्थमा ग्रहण गर्नुभएको छ र यसप्रकारका तमाम विजातीय तत्वहरुमाथि कडा सैद्धान्तिक प्रहार गर्दै ती सबलाई नष्ट गरेर नै नयाँ चीजहरुको रचना गर्न सकिने कुरा बताउनुभएको छ ।
भावात्मक रुपान्तरणको सिद्धान्त :
माओले क्रान्तिकारी कला–साहित्यको निर्माणका निम्ति अन्य वर्गबाट आएका बुद्धिजीवीहरुको पुनःसंस्कार गर्नुपर्ने कुरामाथि विशेष प्रकाश पार्नुभएको छ । पुनःसंस्कारको अर्थ के ? उहाँले भन्नुभएको छ, “यसको अर्थ हो भावनात्मक रुपान्तरण, एक वर्गबाट अर्को वर्गमा रुपान्तरण ।” यस प्रकारको रुपान्तरण लेखक–कलाकार र जनता दुबैका निम्ति हो । माओवादी सौन्दर्यदृष्टिअनुरुप यस सिद्धान्तको यसरी व्याख्या गर्न सकिन्छः–
पहिलो, ज्ञानको दुई छला¨को सिद्धान्तका आधारमा । लेखक–कलाकारको जब भावात्मक रुपान्तरण हुन्छ, त्यो बेला उनीहरुले सामाजिक जीवनबाट प्राप्त सामग्रीलाई क्रान्तिकारी ढंगले प्रतिबिम्बित गर्छन् र त्यसरी निर्मित कृतिहरुले जनताको भावनात्मक परिवर्तनमा पनि राम्रो मद्दत पु¥याउँछन् । जनजीवनबाट कलाकार र कलाकारबाट जनजीवन– यो प्रक्रिया निरन्तर उच्च रुपमा विकसित हुँदै जान्छ ।
दोस्रो, विपरीतहरुको एकता र संघर्षका आधारमा । सत्य–असत्य, असल–खराब, सुन्दर–असुन्दर, प्रेम–घृणा, उत्साह–अनुत्साह आदि वस्तुमा विपरीत पहलुहरुबीच संघर्ष चलिरहन्छ र ती खास अवस्थामा एकअर्कोमा बदलिन्छन् । जस्तो कि माओ स्वयम्को भनाइअनुसार पहिले उहाँले पुँजीपति र निम्नपुँजीपति वर्गका बुद्धिजीवीहरुलाई सफा–सुग्घर ठान्नुहुन्थ्यो, तर जबपछि उहाँ सचेत बन्नुभयो, त्यो बेला उहाँलाई ती बुद्धिजीवीभन्दा माटो र गोबरले लत्पतिएका किसानहरु नै सफा–सुग्घर हुन् भन्ने स्पष्ट भयो ।
तेस्रो, व्यक्तिको समूहमा, विशेषको सामान्यमा रुपान्तरणको आधारमा । जब दर्शक–पाठकहरु कलाकृतिको रसास्वादन गर्छन्, त्यो बेला उनीहरुका विशिष्टता सामूहिकतामा रुपान्तरित हुन्छन् । लेखक, कलाकार र पाठक दर्शकबीच तादाम्य हुन्छ । यहाँ पुँजीवादी व्यक्तिगत ‘म’ होइन, सर्वहावादी “हामी”को सामूहिक भावधारा पैदा हुन्छ । क्रान्तिकारी वर्गचेतना जागृत हुन्छ । अनि त जनता एक दिल एवम् एकजुट भएर दुश्मनका विरुद्ध लड्दछन् ।
यसरी भावात्मक रुपान्तरणबाट जुन आनन्द प्राप्त हुन्छन् त्यो वर्गीय आनन्द हो । सच्चा सौन्दर्यानुभूति भनेको यही हो र यो एक सामूहिक आनन्द हो । माओको भावात्मक रुपान्तरणको यो सिद्धान्त माक्र्सवादी–लेनिनवादी सौन्दर्य–चिन्तनको क्षेत्रमा एक महान् उपलब्धि हो ।
माओवादी सौन्दर्य–चिन्तनको महत्व :
यद्यपि माक्र्स र लेनिनपछि सौन्दर्य–चिन्तनको व्याख्या र विकास गर्ने कामलाई अनेकौं चिन्तकहरुको अवश्य नै निकै महत्वको भूमिका रहिआएको छ, परन्तु यसलाई नयाँ आयाम दिने काममा माओको योगदान नै निकै उच्च रहेको छ ।
बुर्जुवा विचारकहरुले माक्र्सवादी सौन्दर्य–चिन्तनमाथि यो गम्भीर आरोप लगाउँदै आएका छन् कि त्यसले सौन्दर्यशास्त्रको उपेक्षा गर्दछ । यसप्रकारका आरोपहरुबाट कयौं निम्नपुँजीवादी बुद्धिजीवीहरु र दक्षिणपन्थी संशोधनवादीहरु निकै तर्संदै आएका छन् । त्यसप्रकारका आरोपको सशक्त खण्डन गर्दै एलिक वेष्ट भन्छन्– “माक्र्सवादले सौन्दर्यशास्त्रको उपेक्षा गर्दैन, त्यसले सौन्दर्यानुभवको रुपान्तरण गर्दछ ।”१० ठीक यसरी नै लेनिनको पक्षधरताको सिद्धान्तमाथि लगाइएका नानातरहका आरोपहरुको खण्डन गर्दै एक चिन्तकले त्यसप्रकारको प्रतिबद्धतालाई “व्यक्तिवादबाट मुक्त भएर समाजवादप्रति ग्रहणशील हुने स्थिति” बताएका छन् ।
साथै उनले लेनिनको यस सिद्धान्तको “मुक्तदशा, रशदशा वा साधारणीकरणको सिद्धान्तसँग तुलना गर्दै” प्रतिबद्धताका क्षणहरु कलात्मक अनुभव या रसात्मक अनुभवहरुका सर्वाधिक निकट हुने” कुरा पनि स्पष्ट पारेका छन् । यसरी माक्र्र्सीय सौन्दर्य–चिन्तनको माओवादसम्म विकास हुँदा एकातिर यसले मानव जातिले आर्जन गरेका यस क्षेत्रका सर्वोत्तम सिद्धान्तहरुलाई पचाएर आफूमा समेटेको छ भने अर्कोतिर तमाम विषालु झारपात र अवैज्ञानिक कुराहरुलाई पूरै मिल्काइदिएको छ ।
यसरी यी सब कुराबाट के स्पष्ट हुन्छ भने माक्र्सवादले वैज्ञानिक सौन्दर्यशास्त्र होइन, आदर्शवाद एवम् अधिभूतवादमा आधारित बुर्जुवा सौन्दर्यशास्त्रको उपेक्षा गरेको छ, त्यसका विरुद्ध खडा भएको छ ।
आज नेपाली कला–साहित्यको क्षेत्रमा एकातिर सामन्ती तथा पुँजीवादी प्रतिक्रियावादी विचारधारा र अर्कोतिर माक्र्सवादी–लेनिनवादी–माओवादी विचारधाराबीच भीषण संघर्ष चलिरहेको छ । यस संघर्षमा दक्षिणपन्थी संशोधनवादी धाराले दोस्रो धारामाथि हमला गर्दै पहिलो धारालाई साथ दिइरहेको छ । निम्नपुँजीवादी बुद्धिजीवीहरुको एउटा तप्का पक्षधरता तथा राजनीतिक मापदण्डलाई प्रधानता दिने क्रान्तिकारी मान्यताबाट भयभीत हुँदै कथित सृजनात्मक मूडको सुरक्षाको ग्यारेण्टी खोजिरहेको छ ।
यो स्थितिमा मित्रहरुलाई गोलबन्द गरी प्रतिक्रियावादी तथा दक्षिणपन्थी संशोधनवादी धाराका विरुद्ध संघर्ष चलाउँदै वर्गसंघर्षको धर्तीबाट क्रान्तिकारी कला आन्दोलनको विकास गर्नु सच्चा कम्युनिस्ट तथा क्रान्तिकारी कलाकर्मीहरुका लागि प्रधान ऐतिहासिक दायित्व बन्न गएको छ । यस निम्ति सर्वप्रथम आफ्नै पुनः संस्कार गर्नु अर्थात् स्वयम्को भावात्मक रुपान्तरण गर्नु एक जरुरी शर्त हो ।
फूटनोट :
१. माक्र्सवादी सौन्दर्य, पृ. ७
२. कम्युनिस्ट नैतिकता, पृ. १२४
३. Mao Vol V, P 366
४. साहित्य–कलाके पाँच दस्तावेज, पृ. १०
५. मा.सं. रचनाएँ, ग्रन्थ– ३, पृ. १४९
६. मा.सं. रचनाएँ, ग्रन्थ– ३, पृ. १४९
७. मा.सं. रचनाएँ, ग्रन्थ– ३, पृ. १५३
८ मा.सं. रचनाएँ, ग्रन्थ– ३, पृ. १६६
९. माक्र्सवादी सौन्दर्यशास्त्र, पृ. २२३
१०. माक्र्सवादी सौन्दर्यशास्त्र, पृ. १६१