सन् १९६३ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठकको मस्यौदा निर्णयमा कमरेड माओले भन्नुभएको थियो – ‘मानिसको सामाजिक अस्तित्वले नै उसको विचारको निर्धारण गर्छ । एकचोटि प्रगतिशील वर्गको प्रतिनिधित्व गर्ने सही विचारहरूलाई जनसमूहले बुझिसकेपछि ती विचारहरू भौतिक शक्तिमा फेरिन जान्छन्, जसले समाजलाई फेर्छ र संसारैलाई फेर्छ ।’
यो भनाइमा दुईवटा प्रसङ्ग जोडिएका छन् । पहिलो मानिसको विचार निर्माणको प्रसङ्ग र दोस्रो त्यो विचार भौतिक शक्तिमा रूपान्तरण भएर समाज बदल्ने कुराको प्रसङ्ग ।
पहिलो प्रसङ्गको कुरा गरौँ । वास्तवमा कुनैपनि मानिस जेजस्तो सामाजिक परिवेशमा बस्छ र घुलमिल हुन थाल्छ त्यसको विचार त्यही समाजको अस्तित्वसँगै विकास हुन थाल्छ । यो प्रसङ्ग यहाँ किन उठाउन खोजिएको हो भने जब माआवोवादी जनयुद्धको भिषण लडाइँबाट शान्ति प्रकृयामा आयो तब माओवादीका नेताहरूमा कसरी विचारको विकास भइरहेको छ र त्यो विचारले पार्टीलाई कतातिर लैजाँदैछ भन्ने प्रसङ्ग जोड्नका लागि उठाइएको हो । हिजो जनयुद्धमा हुँदा पार्टी नेतादेखि कार्यकर्तासम्म सबै जनताका बीचमा थिए । वर्गसङ्घर्षको रापिलो भट्टीमा आपूmहरूलाई होमेका थिए र त्यहाँ आफूभित्र भएका फोहरमैला र खिया जलाउँदै स्वयम्लाई स्पातमा रूपान्तरण गर्दै थिए । जसले गर्दा नेताहरूमा अग्रगामी विचारको विकास भइरहेको थियो ।
दोस्रो कुरा माओवादी नेता र कार्यकर्ताहरूमा जसरी उच्च विचारको निर्माण भएको थियो, त्यो विचारलाई जनताका बीचमा लगिएको थियो र त्यसले व्यापक जनसमुदायलाई भौतिक शक्तिमा रूपान्तरण गरेको हुनाले जनयुद्धले एकपछि अर्को गर्दै विजयको शिखर चढ्दै गएको थियो । त्यतिवेला माओवादी नेताहरू पनि जनताको पङ्क्तिमा भएकाले उनीहरूको सोच्ने तरिका पनि अग्रगामी र वैज्ञानिक हुन्थ्यो । अध्ययन, लेखनमा नेताहरू व्यस्त रहन्थे ।
नेता–कार्यकर्ता, कार्यकर्ता–जनता, नेता–जनता, जनमुक्ति सेना–सङ्गठन, जनमुक्ति सेना–जनताका बीचमा व्यापक छलफल र वहसहरू हुन्थे । ती वहसहरूले ‘वादेवादे जायते तत्व बोधः’ भनेझैँ विचार निर्माण गर्न र समृद्ध गर्न मद्दत पु¥याउँथे । जनयुद्धले निर्माण गर्दै गएका मुख्य आधारइलाकाहरू सहकारी र जनकम्युनहरूमा बदलिँदै थिए भने सहायक क्षेत्रहरू आधारइलाकामा बदलिँदै थिए । त्यसैगरी स्वयत् इलाकाहरूमा माओवादीको प्रभाव फैलँदै थियो । यो सबै सही विचार र त्यसअनुरूपको रणनीति र कार्यनीतिका कारणले सम्भव भएको थियो ।
आज माओवादी शान्ति प्रकृयामा आएको पनि एक दसक पूरा भएको छ । शान्ति प्रकृयासँगसँगै माओवादी सहर पसेको छ र सहर मात्र नभएर सदन र सरकारमा समेत पसेको छ । त्यो पस्ने प्रकृयासँगसँगै उसको सोच, चिन्तन र कार्यशैली, जनता र क्रान्तिलाई बुझ्ने तरिकाहरूमा पनि परिवर्तन आएको छ । यसो किन भयो ? यसको कारणबारे माओको माथि उल्लिखित भनाइको तादात्म्यतासँग जोडेर हेर्न सकिन्छ ।
माओवादीको सहर, सदन र सरकारमा प्रवेससँगसँगै उसको सामाजिक परिवेश बदलिएको छ । हिजो जनयुद्धका वेलाका झुपडीका बास आज राजधानीको महलका महङ्गा फ्ल्याटहरूमा बदलिएका छन् । हिजो जनतासँग मागेर खाने आटो, ढिँडो, साग सिस्नोका स्थान आज सहरका महङ्गा वासनादार चामल, माछा–मासुसहितका मिठामिठा पक्वानहरू, फलफुल, जुस र चिसा पेयपदार्थहरूसँगै पाँचतारे होटेलका डिनर र लन्चहरूले लिएका छन् । हिजो मौसम अनुकूलका सामान्य न्यानो वा हल्का सादा पोसाकका स्थान आज राजधानीका महङ्गा टेलरहरूमा तयार गरिएका शाही खानदानियाँ पोसाकहरूले लिएका छन् ।
औपचारिकताका लागि हल्का मूल्यका सूट लगाए पनि हुनेमा पैँतीस–चालीस हजारदेखि माथि जती माथिमाथि चढ्न मन लाग्छ त्यति माथिका सूट लगाउने प्रवृत्ति बढेको छ । र, अझ यसमा स्पर्धा चलेको छ । हिजो पैदल महिनौ हिँडेर काम गर्ने नेता आज एक किलोमिटर हिँड्न पनि करोडौँका गाडि चढ्नुपर्छ । यसको अर्थ माओवादीले राम्रो लगाउने र मिठो खाने गर्नै हुँदैन भन्ने भनाई लेखकको होइन । माओवादी लम्पट सर्वहारावर्ग पनि होइन । हिजो जनतासँग नेताहरूका सम्बन्ध, उनीहरूसँगका दैनन्दिनका भेटघाट, छलफल र बहसहरू आज सहरका प्रतिष्ठित उद्योगी, व्यापारी, कर्मचारी, वुद्धिजीवीहरूसँगै तस्कर, ठग, लुटेरा, डाँका, चोर, फटाहा, भ्रष्टाचारी, दलाल र नोकरशाहहरूसँगको सम्बन्ध, छलफल, भेटघाट र बहसहरूमा रूपान्तरण भएका छन् ।
हिजो जनयुद्धका बेला नेताहरूले नयाँ विचार लिन सहिद–वेपत्ताका परिवारहरू, उत्पीडित, दमित वर्गका जनता, पार्टी कार्यकर्ता र उनका परिवारहरूसँग भेटघाट गर्थे, छलफल गर्थे । जनसङ्गठनहरूका भेला, सम्मेलन, बैठकहरूमा धैरै–धेरै समय खर्चिएर तलतलका सत्यतथ्य रिपोर्टहरू आधारभूत वर्ग र समुदायसँग लिन्थे र त्यहाँबाट प्राप्त उर्जाले गर्दा सही विचार जन्माउँथ्यो र सही कार्ययोजना, कार्यक्रम निर्माण गरिन्थ्यो । आज नेताहरूले विचार लिन एनजीओ–आइएनजीओहरूका गोस्ठी धाउँछन्, हिजो जनयुद्धलाई आतङ्कवाद देख्ने र माओवादी नेता–कार्यकर्ताहरूलाई हिंश्रक जनावर ठान्ने कथित सहरिया वुद्धिजीवीहरूलाई भेला पार्छन् र उनका अर्तिउपदेशहरूलाई शिरोपर गरेर हिँड्छन्, तिनीहरूले गरेका प्रसंसामा रमाउँछन् र प्रतिक्रियावादी एवम् वुर्जुवावर्गका नायकहरूलाई आफ्ना आदर्शनायक ठानेर उनीहरूले दिएका सुझाव र उपदेशलाई स्मरण गर्दै प्रेरित हुन्छन् ।
अध्ययन–लेखन गर्ने संस्कार अन्त्य हुँदै गएको छ । हिजो भाइचाराहरूसँगको सम्बन्धको स्थान आज विस्तारवाद–साम्राज्यवादका दलाल, एजेण्टदेखि उनीहरूका खुफिया एजेण्टहरूसँगको हिमचिम, बसउठ र जाँडपानी भेलाले लिएका छन् । क्रान्तिको योजना कोर्न हतारो गर्ने चिन्तन आज सरकार बनाउने र ढाल्ने हतारोमा परिणत भएका छन् । समग्रमा भन्नुपर्दा हिजोका क्रान्तिका सपनाहरू आज सरकार निर्माण र विनिर्माणका विपनामा बदलिएका छन् ।
आखिर यसो किन हुन्छ ? किनकि आज माओवादीका सामाजिक सम्बन्ध र सम्पर्कहरू फेरिएका छन् । माओवादीका नेता–कार्यकर्ता उभिएको सामाजिक परिवेश बदलिएको छ । तसर्थ त्यही परिवेशअनुरूप उनीहरूको विचार निर्माण भइरहेको छ । अन्तरसङ्घर्षमा वस्तुगत वाह्य वर्गसङ्घर्षले प्रभावित गरिरहेको छ । यसैले माओले अघि सार्नुभएको सर्वहारा सांस्कृतिक क्रान्तिलाई अझ मजबुत ढङ्गले चलाउनुपर्ने आजको आवश्यकता बढेर गएको छ ।
हामीभित्रै हुर्कन थालेको गैरसर्वहारा संस्कृति, संसदवादी संस्कृति र एनजीओ संस्कृतिका विरुद्ध निर्मम ढङ्गले सङ्घर्ष गर्नुपर्ने भएको छ । सर्वहारावर्गको महान् नेता भएर विश्वकम्युनिस्ट आन्दोलनको नेता हुनुपर्ने युद्धका नायक भनिएका पात्र स्वयम् बहुराष्ट्रिय कम्पनीका सञ्चालकहरूले चलाएको आइएनजीओको सहअध्यक्ष भएर एउटा पूँजीपतिको कारिन्दा बन्नुमा अन्तर्राष्ट्रिय गौरव गर्ने चिन्तनको विकास हुनु के वैचारिक विचलनताको द्योतक होइन ?
यस्तो विचारले कसरी क्रान्तिको योजना कोर्न मद्दत गर्छ ? त्यसैले विषय अत्यन्तै गम्भीर बन्दै गएको छ । क्रान्ति धरापमा पर्दै जान थालेको छ । ‘सौताको रिसले पोइको काखमा सू गर्ने’ भन्ने उखान चरितार्थ हुन थालेको छ । यो सबै शान्तिप्रक्रियामा माओवादी आएपछि हुर्किएको गैरसर्वहारा संस्कृति हो । क्रान्ति गर्ने सपनाहरू विपनाको कुर्सी प्राप्त गर्ने म्याराथुन दौडमा भाग लिएका छन् ।
यो हो अहिलेको अत्यन्तै तितो यथार्थ । यो कुनै आग्रह वा पूर्वाग्रहप्रेरित मूल्याङ्कन होइन । हामीले देखेको, भोगेको र जनतालेसमेत आलोचना गरेको विषय हो । अब अर्को विषयको चर्चा गरौँ ।
जब सपनाहरू जागृत हुन थाल्दछन् तब कवि गोपालप्रसाद रिमालले भनेझैँ लाटा–सुधाहरू बोल्न थाल्दछन्, अन्याय सहेर बसेकाहरू ईख फेर्न उठ्छन्, गए भनेर सोचेका मानिसहरू फर्किएर आउँछन्, सुते भनेर ठानिएकाहरू सुरुसुरु हिँड्छन् । त्यसपछि खरानी पनि भर्भराउँदो आगो बन्न थाल्छ, आँधी र हुरी मडारिएर चल्न थाल्छ । यो आँधीहुरीको हुण्डरीले वातावरणमा उलटपुलट र उथलपुथल ल्याउँछ । यो उथलपुथलकारी आँधी र तुफानले समाजको पुरानो संरचनालाई ध्वंस गर्छ र त्यसको ठाउँमा नयाँ समाज प्रतिस्थापन हुन्छ । यसरी कवि गोपालप्रसाद रिमालले जागृत सपनाहरूको आन्दोलनको चर्चा गर्दै जनताको शक्ति कति विशाल हुन्छ भन्ने कुरा प्रस्ट पारेका थिए ।
एकजना सुप्रशिद्ध कवि पासले आफ्नो एउटा कवितामा लेख्छन्–‘सबसे खतरनाक हो ता है, सपनों का मर्जाना’ । यसको अर्थ हो मानव जीवनमा सबैभन्दा खतरनाक कुरा भनेको उसको सपना मर्नु । सपना मर्नु भनेको भविश्यप्रतिको निरासा जीवनप्रतिको निरासा हो । जब कुनै मानिस सामाजिक अन्तरविरोधको निकास वर्गसङ्घर्षबाट निकालिने समाधानका उपायहरूबाट देख्न छाड्छ तब ऊ निरासामा फस्दै जान्छ । उसको सचेतन मनभित्र जागृत भएका आशा, भरोसा र विश्वासका सुनौला किरणहरू क्रमशः विलिन हुन थाल्छन् ।
त्यसको ठाउँमा निरासा, कुण्ठा, अकर्मण्यताका काला धर्साहरू बाक्लिँदै गएर त्यसले कालो घनघटाको रूप लिन्छ र ऊ निरास हुन्छ । उसले त्यतिबेला आफ्ना सपनाहरू मरेको लासमा परिणत भएको देख्न थाल्छ । यसरी उसका सपनाहरू मर्नु भनेको उसको जीवनका निम्ति सबैभन्दा खतरनाक कुरा बन्न पुग्छ । आज माओवादी आन्दोलनमा त्यही भएको छ । कथित माओवादी केन्द्रको निर्माणको चुरो कारण पनि नेताहरूमा मर्दै गएको सपनाको परिणति हो ।
त्यसैले पासले सपनाहरू मर्नु वा मारिनु नै सबैभन्दा खतराको कुरा भएको आफ्नो कवितामा लेख्छन् । तसर्थ मानिसले सपना देख्न छोड्नु हुँदैन । जस्तोसुकै विपत्तिको सामना गर्नुपरे पनि तयार हुनुपर्छ र आफ्ना सपनाहरूलाई जागृत बनाइराख्नु पर्छ । सपनाहरू जागृत भए भने जस्तासुकै चुनौतीहरू पनि तुच्छ बन्दै जान्छन् । चिनियाँ मुर्ख बुढोको कथाझैँ जागृत सपनाहरू निरन्तर जागृत भइरहे भने तिनले एक न एकदिन पहाड फोड्न सक्छन् ।
मानव जीवनको उत्पत्तिसँगै उसको विकास प्रक्रियामा युद्ध वा सङ्घर्षहरू निर्णायक भएका छन् । अस्तित्व रक्षाका लागि होस् वा अस्मिता रक्षाका निम्ति मानिसले सङ्घर्ष गरेको छ । सुरुका दिनहरूमा प्रकृतिसँग सङ्घर्ष गर्यो । त्यसपछि मानिस मानिसका बीचमा ठूलठूला सङ्घर्षहरू हुँदै आएका छन् । ती सङ्घर्षहरू रक्तपातपूर्ण र शान्तिपूर्ण वैचारिक सङ्घर्षका रूपमा स्थापित र विकसित भएका छन् । त्यसखाले सङ्घर्षको कारण पनि मानिसको अन्तरमनभित्रको सपना हो । मानिसले आफ्ना इच्छा, आकाङ्क्षाहरू र आवश्यकता पूर्तिका लागि आफू उभिएको समाज, परिवेश, सभ्यता र संसारलाई बदल्न खोज्यो । आफ्नो गतिशीलतासँगै समाजलाई बदल्न खोज्यो । यही क्रममा मानिसले क्रान्तिको बीज रोप्यो ।
हरेक मानिस स्वाभिमानपूर्ण ढङ्गले स्वतन्त्र र आनन्दको जीवन बाँच्न चाहन्छ । स्वतन्त्रताको अर्थ स्वच्छन्दतामा होइन । मानिस सभ्य र विशिष्ट चेतनायुक्त प्राणी भएको हुनाले ऊ सभ्य तरिकाले बाँच्न चाहन्छ । तर, मानिसको सभ्यताको विकासक्रमसँगै जब राज्यहरूको उत्पत्ति र विकास सँगसँगै भयो तब त्यसले समाजमा वर्गहरू जन्मायो । मान्छे मान्छे बीचका वर्गीय असमानताको पर्खाल ठडिँदा ठडिँदै यति धेरै चुलियो कि त्यसले एउटा तप्कालाई चुलीमा पुर्यायो र अर्कोलाई जमीनमा धस्दै लग्यो ।
बिडम्वना के भयो भने प्राकृतिक साधन, स्रोत र सम्पदामा आफ्नो श्रम, पसिना र रगत बगाउनेहरू नै आर्थिक विपन्नताको दुश्चक्रमा फस्दै र भासिँदै गए भने श्रम नगर्ने, केवल सत्ताको डण्डा चलाएर बाँच्ने, श्रमिकवर्गको श्रम र पसिनामा हालिमुहाली गर्नेहरू नै आर्थिक समृद्धिको शिखरतर्फ चुलिँदै गए । यसले गर्दा राज्यमा मान्छे मान्छेका बीचमा वर्गीय विभेद बढ्दै गयो । आर्थिक विषमताले गर्दा नै सामाजिक र सांस्कृतिक विभेदका पर्खालहरू पनि खडा गर्दै लग्यो । यही आर्थिक, सामाजिक र सांस्कृतिक विभेदका कारण उत्पीडित वर्ग र समुदायका मानिसमा असन्तोषको मात्रा चुलिँदै गयो र त्यसले आफ्नो आफ्नो वर्गको एकतामा सामुहिक विद्रोहको भावना जागृत हुँदै गयो ।
यो भावनाभित्र एउटा सुन्दर सपना जागृत भयो । त्यो सपना भनेको सबैखाले वर्गीय, जातीय, भाषिक, धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, लैङ्गिक उत्पीडनको अन्त्य गरेर समतामुलक समाज निर्माण गर्ने सपना हो । जहाँ राज्य हुने छैन । राज्य नभएपछि वर्ग पनि रहने छैन । वर्ग नभएपछि त्यसले जातीय, सांस्कृतिक, आर्थिक, लैङ्कि, भाषिक, धार्मिकजस्ता अन्धपरम्पराहरूको अन्त्य गर्नेछ र त्यो एउटा मावन मात्र जातिको विशाल कम्युनमा बदलिनेछ । त्यो समाज वैज्ञानिक साम्यवादी समाज हुनेछ ।
त्यसपछि मानिसले मानिसका विरुद्ध नभई प्रकृतिसँग मात्र सङ्घर्ष गर्न थाल्नेछ र मानव सभ्यतालाई अझ विकसित, सभ्य र सुन्दर बनाउनका लागि अघि बढ्नेछ । यस्तो सपना नै जागृत र विकसित सोंच र चिन्तनको सपना हो । यही सपनाले गर्दा मानिसले राज्य सञ्चालन गर्ने वर्गका विरुद्ध सङ्गठित विद्रोहको सुरुआत ग¥यो । थोत्रो, जीर्ण र अस्तित्वहीन भएको समाजलाई क्रमशः हटाउँदै गयो र समाज परिवर्तनको दिशालाई अघि बढायो । जागृत सपनाहरूको आन्दोलनले नै यो सबै सम्भव तुल्याएको हो ।
नेपाली समाजमा जागृत सपनाहरू उठेको बेला निकै ठूलठूला आन्दोलनको ज्वारभाटाहरू उठेका छन् । सात सालमा राणा शासनका विरुद्धमा उठेको आन्दोलन होस् वा छत्तीस र छयालीस सालका आन्दोलन होउन्, ती सबै आन्दोलनहरू जागृत सपनाका आन्दोलनहरू थिए । सपनाहरू ब्यूँझेपछि दुनियाँका जस्तोसुकै तानाशाहहरू पनि घोडाबाट खसालिएका छन् । त्यसैको पछिल्लो कडीको रूपमा नेपालबाट पनि दुईसय चालीस वर्षदेखि जरा गाडेर बसेको निरङ्कुश राजतन्त्र ढल्यो र गणतन्त्र स्थापना भयो ।
नेकपा माओवादीको अगुवाइमा सञ्चालित भएको जनयुद्ध तिनै जागृत सपनाहरूको आन्दोलन थियो । त्यो आन्दोलनले देशमा धेरै उथलपुथलकारी आँधी र तुफान ल्यायो । सुतेका जाति, पेशा, क्षेत्र, वर्ग र लिङ्गका जनता जागा भए । जागा भएकाहरू ज्वारभाटामा मिसिए र तीनले आँधी र तुफानलाई अझ ठूलो बेगवान गतिमा हुइँकाए । लाखौं सपनाहरू सङ्गठित भए र समवेत् स्वरमा प्रतिक्रियावादी सत्ताका विरुद्ध नारा घन्काए ।
जब सपनाहरू जागा भएर रणमैदानमा धावा बोल्दै अघि बढे तब त्यसले भिमकाय शक्तिको रूप लियो । जसलाई अभिजात वर्गका सत्ताका बन्दुकहरूले कुल्चने र धुलोपिठो बनाएर नामेट पार्ने सपना बोके तर ती आफै पानीको फोका सावित भए । यो सबै जागृत सपनाहरूको शक्तिको परिणाम थियो ।
आज ती जागृत सपनाहरू कतै मुर्झाउन थालेको आभाष मिल्दैछ । एकसाथ एकढिक्का भएर आफ्ना वर्गवैरीहरूप्रति जाइलागेका सपनाहरू खण्डित हुन खोज्दैछन् । दुश्मन विरुद्ध समवेत् स्वरमा उर्लिएका सपनाका आवाजहरू आज एकापसमा दौँतरीहरूको उछित्तो काड्न स्पर्धा गर्दैछन् । यो निकै दुःखदायी घटना हो । युद्धका बडेबडे नायकहरू, सहपात्रहरू दिनहुँ एक पछि अर्को बत्तीमा झोँसिएको पुतलीझैँ झोँसँिदै र ढल्दै गएका छन् । आफ्नै सहयोद्धा वा नायकहरूप्रति विश्वासको कालो बादल मडारिन खोज्दैछ ।
सपनाहरू धुमिल हुन खोज्नु सभ्यताको समाज निर्माणका लागि बिडम्बना र अभिशापको घटना हो । वास्तवमा यसो हुनु हुँदैनथ्यो । हिजोका जागृत सपनाहरूले विपनाको संसारमा पादापर्ण गर्छन् कि गर्दैनन् भन्ने संशय पैदा हुन थालेको छ । यसले भयाक्रान्त बन्दैछ मान्छे । के हिजोका जागृत सपनाहरूले गलत बाटो समातेका थिए ? वा अहिले ती सपनाहरू गलत दिशातर्फ मोडिएका छन् ? यसको सही जवाफ दिनुपर्ने बिन्दुमा हामी उभिएका छौँ । यसको जवाफ हामीले बिलम्व नगरिकन दिनुपर्ने भएको छ, किनकि अझै पनि जागृत भएका सपनाका सङ्गठनहरूले व्यर्थमा समय खेर फालेर बिलिन हुन नपरोस् ।
यतिबेला सपनाका व्याख्याताहरू डगमगाएको अवस्था छ । त्यसलाई विषयान्तर गरेर अन्त कतै मोड्न खोज्दैछन् । एकथरी नायकहरूले बाटो बिराइसकेका छन् र हिजोका सपनाहरूको अपव्याख्या गर्दैछन् । अर्काथरी नायकहरू यो बाटो ठिक वा त्यो बाटो ठिक भनेर छुट्याउन नसकी दोबाटोमा उभिएर किंकर्तव्यबिमुढको अवस्थामा उभिएका छन् । सपनाको संसारबाट ओरालो झरिसकेकाहरू आफ्ना वर्गवैरीहरूसँगै लगनगाँठो जोडेर हिँड्न आतुर देखिन्छन् र उनीहरू अग्रगामी दिशामा जान खोज्ने जागृत सपनाहरूप्रति धारेहात लगाएर कर्कस आवाजमा सराप्न खोज्दैछन् । के यसो हुन सक्छ ? अहँ कदापी हुन सक्दैन । यो सम्भव छैन । हिजोका जागृत सपनाहरूले कतै पनि बाटो बिराएका थिएनन् । ती आफ्नो गन्तव्यको यात्रामा अबिचल हिँडिरहेका थिए । आज पनि ती सपनाहरू बाटो सोझ्याउन आतुर छन् ।
हामी अहिले जुन बाटोमा उभिएका छौँ र त्यसलाई आधार बनाएर हिँड्न खोज्दैछौँ, यो बाटोका बारेमा पनि गम्भीर रुपमा चिन्तन गर्नु जरुरी छ । एक थरी क्रान्ति नायकहरू र सहपात्रहरूको ठूलो जमात साम्राज्यवदमा पतन भएर डुङ्डुङ्ती गन्हाएको संसदीय बाटोको फेरो समाएर वैतरणी तर्ने कुचेष्टा गरिरहेका छन् । यो बाटोबाट गन्तव्यमा पुग्न सकिँदैन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो नेपालका आन्दोलनहरूमा धेरैपटक असफल भइसकेको बाटो हो । व्यावहारिक हिसाबले शक्ति सञ्जय गर्नका निम्ति प्रयो गरिनु अन्यथा थिएन । तर यसैलाई गन्तब्य बनाउनु भनेको आत्मघात र आत्मसमर्पण नै हो ।
हिजोका जागृत सपनाहरू क्रमशः सेलाउँदै गए भने फेरि तिनीहरूलाई सङ्गठित गर्न र जागृत बनाउन निकै ठूलो मूल्य चुकाउनु पर्नेछ । अझैसम्म त सपनाहरू जागृतै छन् । जागृत रहेकै अवस्थामा गन्तव्यको यात्रा अघि बढाउनु पर्छ । सपनाहरू मर्नु भनेको क्रान्तिकै भविश्य धरापमा पर्नु हो । यो कुरालाई क्रान्तिको बाटो समातेका हामीहरूले समयमै ध्यान दिनुपर्छ र जागृत सपनाहरूको आन्दोलनले मात्र विशालकाय चट्टान फोड्न र समुद्रका ठूलठूला ज्वारभाटा पनि छिचोलेर जहाजलाई किनारामा पुर्याउन सक्दछ । त्यसैले आउनुहोस् हामी सबैले सपनाहरूलाई मर्नबाट जोगाऔँ । जागृत बनाइराखौँ, जागृत सपनाहरूलाई एकढिक्को बनाएर सङ्गठित गरौँ र यात्रा अघि बढाऊँ ।