एजेन्सी– अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले रिपब्लिकन पार्टीकी उम्मेदवार डोनाल्ड ट्रम्पका अभिव्यक्तिको कडा आलोचना गरेकी छन् ।
उनले ट्रम्पको रुसप्रतिको निष्ठाले राष्ट्रिय सुरक्षासम्बन्धि चिन्ता थपिएको जनाएकी छन् ।
ट्रम्पले भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुनै पनि सम्बन्ध भएको आरोपलाई अस्वीकार गरेका छन् ।
हिलारीले ट्रम्पले पुटिनलाई समर्थन गरिरहेको भन्दै आक्रमणको अवस्थामा समेत नेटो बचाउन नसक्ने आरोप लगाएकी छन् । उनले अमेरिका र युरोपले संयुक्त रुपमा रुसी अधिकारीमाथि लगाएको प्रतिबन्ध हटाउन सक्ने समेत आशंका व्यक्त गरिन् ।
हिलारीले ट्रम्पले रुसी राष्ट्रपति पुटिनको प्रशंसा गर्नु चुनावलाई प्रभावित पार्ने योजनामात्रै नभएर यसले राष्ट्रिय सुरक्षामा समेत खतरा उत्पन्न हुने बताएकी हुन् ।
अघिल्लो सातामात्रै रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले हिलारी क्लिन्टनका ३० हजार गोप्य इमेलको रुसले छानविन गर्नुपर्ने बताएपछि उनको चर्को आलोचना भएको थियो ।
उनले एक पत्रकार सम्मेलनका क्रममा यस्तो भनाई राखेका थिए । आलोचनापछि ट्रम्पले आफूले मजाक र व्यंग्य गरेको प्रष्टिकरण दिएका थिए । उनको प्रष्टिकरणले हिलारी सन्तुष्ट देखिएकी छैनन् ।
ट्रम्पको हिलारीको इमेल रुसले छानविन गर्नुपर्ने अभिव्यक्ति दिएको दुई दिनपछि नै डेमोक्रेटिक पार्टीको चुनावी प्रचार सामग्री ह्याक भएको समाचार सार्वजनिक भएको थियो ।