बहसमा क्रान्तिकारी माओवादीको सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा

बहसमा क्रान्तिकारी माओवादीको सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा

Hasta-Kc२०७२ असार ६–८ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को राष्ट्रिय भेलाले नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा एकमतले पारित गरेको छ ।

त्यस लगत्तै बसेको पार्टीको केन्द्रीय समितिको पूर्ण वैठकले यस फौजी कार्यदिशालाई पार्टीको तल्लो सांगठनिक अंग सेलकमिटीसम्म बहसका लागि लैजाने निर्णय गरेको छ । अहिले नेकपा (क्रान्तिकारी माओवादी) द्वारा पारित सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा एउटा महान बहसको प्रक्रियामा छ ।

अब आयोजना गरिने र आयोजना भइरहेका पार्टीका केन्द्रीय समितिभन्दा तलका सबै कमिटीका बैठकहरुमा यस फौजी कार्यदिशालाई प्रस्तुत गरेर सम्पूर्ण पार्टी सदस्यहरुलाई बहसमा सहभागी गराउने पार्टीको निर्णय रहेको छ । र आगामी २०७३ फाल्गुनमा आयोजना गरिने राष्ट्रिय भेलाबाट यस नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहको कार्यदिशालाई टुंग्याउने निर्णय भएको छ ।

कम्युनिष्ट पार्टीमा राष्ट्रिय महाधिवेशन नभइराखेको अवस्थामा राष्ट्रिय सम्मेलन पार्टीको सर्वोच्च निकाय मानिन्छ । अतः त्यस राष्ट्रिय सम्मेलनले समेत पारित गरी सके पछि यो नेकपा (क्रान्तिकारी माओवादी) को हाल सम्पन्न राष्ट्रिय भेलाद्वारा पारित नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोहले फौजी कार्यदिशा महान् नेपाली नयाँ जनवादी क्रान्तिको सामाजिक फौजी कार्यदिशा बन्ने छ । 
जनविद्रोहको कार्यदिशा नौलो चाहि होइन । तत्कालिन नेकपा (माओवादी) को २०६५ मंसीरमा सम्पन्न खरिपाटी राष्ट्रिय कार्यकर्ता भेलाले “संविधानसभा मार्फत सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरेर नेपाली क्रान्ति सम्पन्न गर्ने” भन्ने निर्णय गरेको थियो ।

तर त्यस तत्कालिन पार्टी नेतृत्वले जनसंविधान बनाउने पार्टीको खरिपार्टी राष्ट्रिय भेलाको कनिर्णय कार्यान्वयन गर्न अलमल गरे पछि पार्टी भित्र विवाद चुलिदै गए पश्चात २०६७ मंसीर ५–११ मा सम्पन्न पालुङटार प्लेनमले खरिपाटी भेलाबाट पारीत सामन्तवाद तथा साम्राज्यवाद विरोधी सास्तत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउन पार्टीले अधिकतम प्रयास गर्ने, यदि देशी विदेश प्रतिक्रियावादी शक्तिहरुबाट षडयन्त्र भएमा जनविद्रोह मार्फत नेपाली क्रान्ति सम्पन्न गर्ने निर्णय बहुमतले पारित गर्यो र त्यसपछि बसेको केन्द्रीय समितिले बहुमतले पारित गर्यो, भने बाबुराम भट्टराई समुहले भने नोट अफ डिसेन्ट लेखेर विरोध गरेको कुरा सर्व विदितै छ ।

त्यस बीचमा अर्थात २०६७ चैत्रमा पार्टीले जनविद्रोहको असफल अभ्यास पनि गर्यो । तर २०६८ वैशाखको अन्तिम हप्ता सम्पन्न एमाओवादीको केन्द्रीय समितिको वैठकमा प्रचण्ड–बाबुरामले पार्टीको उक्त आधिकारिक कार्यदिशा सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघ गणतन्त्रात्मक संविधान निर्माणको कार्यदिशालाई लत्याउदै “शान्ति र संविधान” नाम दिइउको संसदीय पुँजीवादी कार्यदिशा बहुमतले पकड्न पुगे पछि त्यस बेला पार्टी भित्र क्रान्तिकारी समुहमा विकास भएको किरण समुहले नोट अफ डिसेन्ट लेखेर विरोध गर्यो ।

त्यस क्रममा एमाओवादीको एउटा हिस्सा नवसंशोधनवादमा पतन हुन पुगेपछि किरण समुहले त्यस नव संशोधनवादी हिस्सासीत सम्बन्ध विच्छेद गरेर २०६९ असार २–५ गते सम्पन्न बौद्ध भेलाले नेकपा–माओवादी पार्टी गठन गर्न पुग्यो र त्यसले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा पारित गर्न पुग्यो । २०६९ माघ १ गते सम्पन्न ड्यास माओवादीको सातौं राष्ट्रिय महाधिवेशनले त्यही बौद्ध भेला निर्णय गरेको जनयुद्धको जगमा जनविद्रोहको सााजिक कार्यदिशा नै पारित गर्यो । र त्यस पछिका केन्द्रीय समितिका प्लेनमहरु र वैठकहरुले पनि त्यही कार्यदिशालाई निरन्तरता दिदै आए ।

ड्यास माओवादीले २०७० मंसीर ४ गते सम्पन्न गरिएको कथित दोस्रो संविधानसभा निर्वाचनलाई सशक्त ढंगले बहिस्कार गर्यो र २०७२ असोज ३ गते जारि गरिएको संविधानलाई प्रतिगायी संविधान भएको घोषण गरेर विरोध र भण्डाफोर गर्ने निर्णय गर्यो । २०७२ कार्तिक २२ गते नेकपा–माओवादी र नेकपा (एकीकृत) का बिचमा पार्टी एकता सम्पन्न भयो ।

त्यस पार्टी एकता अधिवेशनमा पारित दस्तावेजमा … पार्टीको सामाजिक कार्यदिशा बारे अगाडि भनिएको छ,– “नेपाली जनवादी क्रान्तिमा सशस्त्र संघर्षको स्वरूपबारे सिद्धान्तः विविध रूप र मूलतः नेपाली विशेषतामा आधारित स्वरूपबारे ध्यान दिनु पर्दछ । विभिन्न जनआन्दोलन, सशस्त्र संघर्ष र मूलतः दश वर्षे जनयुद्धका अनुभवहरुको आधारमाथि ध्यान दिनु पर्छ । अहिलेको सामाजिक कार्यदिशा नेपाली विशिष्टतामा आधारित सशस्त्र जनविद्रोह नै हुन्छ ।”

सशस्त्र जनविद्रोहको लक्ष्य देशमा सामन्तवाद, साम्राज्यवाद, विस्तारवाद र दलाल तथा नोकरशाही पुँजीवादद्वारा भइरहेका समस्त शोषण, उत्पीडन एवं प्रभुत्वको अन्त्य गरि तथा दलाल तथा नोकरशाही पुँजीपति एवं सामन्तवर्गीय राज्यसत्तालाई ध्वस्त पारि नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्नु रहेको तथ्य वास्तविक छ । 

सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा निर्धारण गर्नका लागि वर्तमान मुलुकको विशिष्ट विशेषताहरुमा आवश्यक पर्ने महसुस गरी राष्ट्रिय भेलाले निम्न ६ प्रकारका नेपाली समाजका विशेषताहरुको वर्गीकरण र व्याख्या समेत गरेको छ :
१. “नेपाल भूभाग, जनसङ्ख्या र अर्थतन्त्रका दृष्टिले दुई ठूला मुलुक– चीन र भारतको बिचमा भूपरिवेष्ठित अवस्थामा रहेको एक अविकसित मुलुक रहिआएको छ । परन्तु, ऐतिहासिक कालदेखि नै यो कसैको प्रत्यक्ष उपनिवेशको चङ्गुलमा फँसेको छैन र आफ्नो स्वतन्त्र राष्ट्रिय अस्तित्व तथा पहिचान कायमै राख्न समर्थ रहेको छ । यस विशेषताबाट के स्पष्ट देखिन्छ भने सानो, कमजोर तथा भूपरिवेष्ठित अवस्थामा रहनु परे पनि नेपालले ऐतिहासिक रूपमा आफ्नो स्वत्व कायम राखन समर्थ हुने देखिन्छ ।

२. हाम्रो देश भौगोलिक विविधता र प्राकृतिक स्रोत तथा साधनका दृष्टिले समृद्ध रहेको छ । परन्तु, यति भएर पनि रोजगारीको अभावको कारण जीविकोपार्जनका लागि जनशक्तिको विशाल हिस्सा विदेशमा जानुपरेको छ । यस विशेषतामाथि ध्यान दिंदा आफ्ना साधन र स्रोतहरुको सदुपयोग गर्न सकेमा देश आर्थिक दृष्टिले आत्मनिर्भर र समृद्ध बन्ने कुरा स्पष्ट हुन्छ ।

३. नेपाल अर्धसामन्ती तथा अर्ध÷नवऔपनिवेशिक अवस्थामा रहेको एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतायुक्त मुलुक हो । देशको आर्थिक विकास असमान अवस्थामा रहेको छ । अहिले नेपाल भूमण्डीकृत साम्राज्यवादको नवउदारवाद र निजीकरणको चपेटामा समेत परेको छ । नेपालमा सामन्तवर्ग कमजोर तथा दलाल पुँजीपति वर्ग बलियो बन्दै गइरहेका छन् । नेपाली समाजमा मूलतः दलाल पुँजीवादको वर्चस्व कायम हुँदै गएको छ । यस प्रकारको विशेषताबाट के बुझिन आउँछ भने देशलाई अर्धसामन्ती तथा अर्ध/नवऔपनिवेशिक अवस्थाबाट मुक्त गर्नका लागि सर्वहारासहित उत्पीडित वर्ग र विभिन्न उत्पीडित जाति, धर्म तथा भाषाभाषी र उत्पीडित जनसमुदायका बिचमा एकरूपता कायम गर्न जरुरी छ । यसैगरी, देश नवऔपनिवेशिक अवस्थामा पुगेको, भूमण्डलीकृत साम्राज्यवादको नवउदारवादी नीति तथा अर्थतन्त्रको मारमा परेको र दलाल पुँजीवादको वर्चस्व बढ्दै गएको अवस्थामा नेपालमा नयाँ जनवादी क्रान्तिका रणनीति र कार्यनीतिलाई परिमार्जित तथा विकसित तुल्याउन आवश्यक देखिन्छ । 

४. नेपाल अनेकौं जनआन्दोलन, सशस्त्र सङ्घर्ष र जनयुद्धका बिचबाट गुज्रेर आएको छ । यहाँ केन्द्रिय र स्थानीय दुवै रूपमा सङ्घर्षको विकास हुने गरेको छ । देशको यसप्रकारको विशेषतामाथि ध्यान दिंदा के स्पष्ट हुन्छ भने नेपाली जनव्रिदोहका लागि एकातिर जनआन्दोलन तथा जनयुद्धका ऐतिहासिक आधार तथा अनुभव र अर्कोतिर स्थानीय एवम् केन्द्रीय अनि ग्रामीण एवम् शहरिया दुवै क्षेत्रको संयोजनका आधारमा रणनीति तथा कार्यनीतिको विन्यास गर्न जरुरी देख्न्छि । 

५. दश वर्षको जनयुद्धका बिचबाट विकसित नयाँ जनवादी क्रान्तिले गम्भीर धक्का खाएको छ । यद्यपि संविधान सभामार्फत निर्मित संविधानमा उल्लिखित गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक प्रतिनिधित्व लगायतका कतिपय विषय मात्रात्मक रूपमा सकारात्मक नै छन्, परन्तु समग्रता र सारमा यो संविधान प्रतिक्रियावादी नै हो । अहिले पनि देशमा दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय प्रतिक्रियावादी राज्यसत्ता कायमै छ । यसप्रकारका विशेषताबाट एकातिर नेपाली जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याको सम्बोधन यस संविधानबाट पहुन नसकेकोमा जनतामा आक्रोश तथा असन्तुष्टि कायमै रहिआएको र अर्कोतिर क्रान्तिमा मजदुर वर्गका साथै सबै उत्पीडित जनसमुदायलाई समेट्नुपर्ने स्थिति देखिन आउँछ । 

५. यद्यपि यो बेला नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद अत्यन्तै हावी बन्न गएको छ । परन्तु, नेपाली जनतामा देशभक्तिको भावधारा, कम्युनिष्ट विचारधारा र क्रान्तिकारी कम्युनिस्ट शक्तिप्रतिको निष्ठा प्रचुर मात्रामा पाइन्छ । यसबाट कम्युनिष्ट पार्टीको नेतृत्व तथा पहलमा क्रान्ति सम्पन्न गर्नका लागि बलियो जनाधार विद्यमान रहिआएको कुराको थप पुष्टि हुन आउँछ ।”

माथि उल्लेखित नेपाली समाजका उक्त विशेषताहरुमाथि ध्यान दिंदा एकातिर देश मूलतः अर्धसामन्ती तथा अर्ध/नवऔपनिवेशिक अवस्थामा रहेको र पुँजीवादी जनवादी क्रान्तिको कार्यभार पुरा नभएकोले नयाँ जनवादी क्रान्तिको आवश्यकता कायमै रहेको देखिन आउँछ भने अर्कोतिर अर्धसामन्ती अवस्था केही कमजोर हुँदै गएको र भूमण्डीकृत साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिमा आधारित उत्पीडन एवम् सामान्यतः साम्राज्यवादी तथा विशेषतः भारतीय विस्तारवादी नवऔपनिवेशिक हस्तक्षेप तीव्र रूपमा बढ्दै गएको स्थितिमा जनवादी क्रान्तिको कार्यदिशालाई थप समृद्ध, परिमार्जित तथा विकसित तुल्याउन आवश्यक देखिन्छ र आजको आवश्यकता पनि यही नै किनभने आज दक्षिणपन्थि संशोधनवादीहरु एउटै स्वरमा नेपालमा पुँजीवादी जनवादी क्रान्ति पुरा भइसक्यो र अब समाजवादी क्रान्तिमा लाग्नु पर्दछ भनेर ठूलो स्वरमा चिच्याइरहेका छन् र महान् नेपाली नयाँ जनवादी क्रान्तिप्रति भ्रमको ठूलो खेती गरिरहेका छन् । यस्तो परिस्थितिमा सशस्त्र जनविद्रोहका लागि फौजी कार्यदिशाको निर्माण गर्न जरुरी नै देखिन्छ । 

क्रान्तिकारी कार्यदिशा त पहिले पनि पारित नभएका होइन तर कार्यान्वयनमा नजाने नेतृत्व अलमलमा परिरहने भएकाले विश्वासको संकट त अहिले पनि कायमै छ । अहिले क्रान्तिकारी माओवादीको राष्ट्रिय भेलाले नेपाली विशिष्टतामा आधारित जनविद्रोहको तयारीको निम्ति क्रान्तिको मूल रणनीति र कार्यनीतिको निर्माण विन्यास गर्न जरुरी भएको ठहर गर्दै गाउँ र शहरका बीचको सम्बन्धका सवालमा क्रान्तिका निम्ति गाउँ र शहर दुवै ठाउलाई जोड्नुपर्छ । गाउँलाई आधार भाग र शहरलाई अग्रभागका रूपमा लिनुपर्दछ । आधारभूत काम गाउँमा र मुख्य काम शहरमा गर्नुपर्दछ ।

त्यस्तै स्थानीय र केन्द्रीय काम सङ्घर्ष, जनसम्बन्ध, जनाधार निर्माण तथा मूलतः जनसत्तासित जोडिएका छन् । स्थानीय रूपमा जनताका हक, हित तथा सत्तासित सम्बन्धित काम र केन्द्रीय रूपमा नयाँ राज्यसत्ताको स्थापनाको तयारीका कामलाई मूल आधार बनाएर अगाडि बढ्नुपर्दछ । सङ्घर्षका शान्तिपूर्ण र गैरशान्तिपूर्ण विविध रूप हुने गर्दछन् । यिनमा अन्ततः दोस्रोको प्रमुख भूमिका हुने गर्दछ । सङ्घर्षकका सबै रूपहरुका बिच आवश्यक तालमेल कायम गर्नुपर्दछ । सङ्गठनका खुला तथा गुप्त विविध प्रकारका रूप हुने गर्दछन् । यिनका बिच आवश्यक तालमेल कायम गर्नुपर्दछ । साङ्गठनिक काममा पार्टीको भूमिका प्रमुख हुन्छ । क्रान्तिका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टी, त्यसको नेतृत्वमा बलियो जुझारु शक्ति र संयुक्त मोर्चा अनिवार्य रूपमा आवश्यक हुन्छन् ।

तिनलाई क्रान्तिकारी, जुझारु र नयाँ ढङ्गले सङ्गठित गर्नका लागि हामीले विशेष जोड दिनुपर्दछ । यसप्रकारको संयुक्त मोर्चामा श्रमजीवी वर्ग तथा उत्पीडित जनसमुदायका प्रतिनिधिहरुलाई आबद्ध गर्नुपर्दछ । आवश्कताअनुसार संयुक्त मोर्चा विविध प्रकारका हुन सक्तछन् । क्रान्तिका लागि राष्ट्रिय शक्ति तथा काम मात्र होइन, अन्तर्राष्ट्रिय शक्ति तथा कामका बिचमा पनि समुचित तालमेल मिलाउनुपर्दछ । यस सन्दर्भमा विश्वका विभिन्न देशका भाइचारा तथा मित्र शक्तिहरुका बिचमा आपसी सम्बन्ध स्थापित गर्ने र त्यसलाई सुदृढ तुल्याउनेबारे आवश्यक ध्यान दिनु जरुरी हुन्छ ।

नेपाली विशिष्टतामा आधारित जनविद्रोह सङ्घर्षको समग्रता वा समग्र युद्धको मान्यतामा आधारित हुन्छ । यो सैद्धान्तिक, राजनीतिक, आर्थिक, प्रचारात्मक तथा प्राविधिक लगायत समग्र पक्षसित जोडिएको हुन्छ । अतः माथि उल्लेखित सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा निर्माण गर्नका निम्ति अन्तरवस्तुहरु सहित आम पार्टी पंक्ति भित्र यसलाई महान बहसको रूपमा उतार्ने निर्णय क्रान्तिकारी माओवादीले गरि सकेपछि नेपालको वर्तमान कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धाराभित्र व्यापक हलचल पैदा गर्नका साथै क्रान्तिको आशावाद पल्लवित हुन पुगेको छ भने अर्कोतिर सबै खाले संशोधनवादीहरु र प्रतिक्रियावादीहरु आतंकीत बन्दै पुगेका छन् । यि परिस्थितिका बिचमा नेपाली नया जनवादी क्रान्तिको कार्यभार पूरा गर्नका निम्ति नयाँ जनवादी क्रान्तिको सामरिक कार्यदिशा सशस्त्र जनविद्रोहको फौजी कार्यदिशा निर्माण गर्न भित्रि तथा बाह्य रूपमा सैद्धान्तिक, वैचारिक आधार यसले निर्माण गर्ने प्रशस्तै ठाउँ ओगटेको प्रष्टै हुन्छ ।