काठमाडौं । बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तोकेको छनौट समितिले १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले टिम सम्हालिरहेको छ ।
नेपाली टोली छनौटका लागि प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आईसीसी प्रतिनिधि राजु बैंकटपतिको टिम रहेको छ ।
नेपाली टोलीमा सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् भने नयाँ खेलाडीको रुपमा विक्रम शोव आएका छन् । सुवास र अनिल ब्याट्सम्यान तथा विक्रम मिडियम पेश वलर हुन् ।
यसैगरी टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर रहेका छन् ।
यसअघि टोलीमा रहेका ब्याट्सम्यान नरेश बुढायर र बलर सुशन भारी यसपटकको टिममा परेका छैनन् ।
नेपाली टोली जुलाई ११ तारिखमा बेलायत जानेछ भने १९ तारिखमा मेरिलोबोन क्रिकेट क्लब एमसीसीसँग लर्डस्मा खेल्ने कार्यक्रम छ ।
नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डविरुद्धको खेलको तयारीका लागि बेलायत भ्रमण गर्न लागेको हो ।