नेपालभर र विशेष गरी मध्यपश्चिममा अविरल रुपमा परिरहेको वर्षाको सबैभन्दा ठूलो असर प्युठान जिल्लामा परेको छ । आजसम्म त्यहां ३८ जनाको ज्यान गइसकेको छ भने संयौं अरुहरु उच्च जोखिमको खतरा मोलिरहेका छन् । मानव क्षतिको यति ठूलो संख्या एक हप्ता भित्रको हो । आफ्नो घरआंगन, धनसंपत्ति र लालाबाला छाडेर कहां जानु ? बरु ठूलो बारीको पाटा वा बाटोमा गएर रातभर जाग्राम बस्छन् प्युठानी जनताहरु ।
जलवायु परिवर्तनका हिसाबले प्युठानलाई जोखिमपूर्ण क्षेत्रमा राखिएको छ । तथापि तदनुरुप तयारी भने देखिएन । प्युठानलाई राप्ती अञ्चलको शिक्षित र सुविधासम्पन्न जिल्लामा लिइन्छ । तर त्यहां भएका सूचना सञ्चार तथा साधनहरुको प्रयोगका लागि उचित समन्वय भएको देखिदैन । त्यहां आवश्यक खासखास उद्धार सामग्रीहरु पनि छैनन् र तयारी हालतमा पनि राखिएनन् । पूर्वतयारीको अभाव देखिन्छ त्यहां ।
भूकम्पको बारम्बार धक्का र त्यसले ल्याएको भूस्खलन र दरारहरुले पनि यस वर्षाको पहिरोलाई बढि बनाएको छ । प्युठानको फोप्ली गाविस पहिरोबाट धेरै प्रभावित छ । त्यो गाविसको लुप्लुङ भन्ने गाउंबाहेक अरु सबै गाउंहरुमा पहिरो बगिरहेको छ । त्यहांमात्र २७ जनाको ज्यान गएको स्थानीय धर्मराज पण्डित बताउंछन् । उनका अनुसार रजवारामा ३ जना, पुंजामा ३ जना, माझकोटमा ३ जना, बाहनेमा ५ जनाको ज्यान गएको छ ।
पछिल्लो चरणमा फोप्ली गाविसको माक्रे र बल्लेको बीचमा पर्ने अंधेरीमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि केसी र उनको परिवारसहित ९ जना एउटै पहिरो मुनि परेपछि प्युठानमा पहिरोको सन्त्रास फैलिएको छ । उक्त पहिरोबाट स्थानीयका अनुसार २ जनाको उद्धार गरिए पनि ७ जनाको ज्यान गएको छ । आज अंधेरीमा पहिरोमा परी ज्यान गुमाएका हरिबहादुर केसी लगायतका सबैप्रति श्रद्धान्जलीको कार्यक्रम राखिएको बताइएको छ ।
उता झिमरुक नदी गहिरो गल्छी कटान गर्दै गेजवाङ, विजुवार, बाग्दुला र बरौलाका फांटहरुमा पसिरहेकाले उर्वरक फांटहरु पनि मासिदै गइरहेका छन् ।