काडमाडौं । प्राइभेट मेडिकल कलेज असोशियसनका अध्यक्ष डा. भोला रिजालले मनमोहन मेडिकल कलेजमाथि राजनीति नगर्न चेतावनी दिएका छन् । सबैलाई पुग्ने गरी सरकारी मेडिकल कलेज वा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरुले शिक्षा दिन नसक्ने भएकाले प्राइभेट कलेजहरु जरुरी भएको जिकिर पनि गरे । प्राइभेट मेडिकल कलेज असोशियसनद्वारा बुधवार बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
डा. केसीलाई आमरण अनसनबाट छुटाउन सरकारले जे पनि गरेर जसरी ४–बंदे संझौता गरेको छ, त्यो आफूहरुलाई अमान्य भएको र त्यसको तत्काल खारेज हुनुपर्ने माग पनि वक्ताहरुले बारम्बार दोहोरयाएका थिए । उनीहरुका अनुसार नेपाललाई उभोलाग्न नदिन एउटा कोठाभित्र यो सबै गरिएको भन्दै आफूहरुको सहभागिता वा उपस्थितिविना नै गरिने जुनकुनै पनि कुरा असैह्य भएको बताए ।
उनीहरुले भने– ‘केसीसंग गरिएको सम्झौता खारेज हुनुपर्छ किनभने हामी पनि यो विषयसंग सरोकारवाला हौं । हामीलाई थाहै दिइएको छैन । यो हामीलाई न त थाह छ, न त ग्राह्य नै ।’
डा. केसीसंग चाचारवटा अनसनसम्म हामीसंगै आयौं भन्दै त्यति बेला केसीले शैक्षिक क्षेत्रसंग जोडिएका मागहरु मात्र कुरा उठाएको दोहर्याए । पाचौं, छैठौं र सातौं र आठौंसम्म आउंदा त केसी आफैले राजनीतिकरण थाले । उनीहरुको आरोप थियोे ।
बोल्ने बक्ताहरुले थप्दै गए– देशमा निजी शिक्षण मेडिकलहरु बन्द गराएर विदेश पठाउन बाध्य गराउने कुराले दलालीकरणलाई सहयोग पुर्याउंछ कि पुर्याउंदैन ? उनीहरुको कथन थियो, त्यसैले हामी यस कुरामा सहमत हुन सक्दैनौ ।
स्वदेश र विदेशमा मेडिकल शिक्षामा लाग्ने खर्चको हिसाब गर्दै फेहरिस्त प्रस्तुत गरिएको थियो–नेपालमा लिने ३५ लाख रुपैया भनेको साढे चार वर्षका लागि हो । त्यही कोर्स भारतमा पढ्न जांदा ६० लाख भारु लाग्छ । अमेरिकामा त्यही कोर्सलाई दुईशय हजार डलर लाग्छ । एउटा नेपालीले नेपालमा नै बसेर पढ्न पाउनु अपराध हो र ? उनीहरुको प्रति प्रश्न थियो ।