यतिखेर सत्ता राजनीतिमा कुर्सी हत्याउखेलको नयाँ खेल प्रदर्शन भइरहेको छ । गएको सोमबार बुढानिलकण्ठ दरबारबाट मशाल बालेर सुरु भएको खेलाडीहरूको मार्चपास टोली महाराजगञ्ज स्थित कुइरेदरबार, लाजिम्पाटको लालदरबारहुँदै बालुवाटार छिरेर अगाडि बढ्यो । सो मार्चपास टोली लैनचौरको दक्षिणी दरबारमा सेवाढोग चढाउँदै अहिले सिंहदरबारमा प्रवेश गरेको छ ।
मङ्गलबार सिंहदरबार स्थित हंसियाठोक्के टिमको दलीय कार्यालयमा उक्त टोलीका लाउडिस्पिकर कन्याकुमारीले प्रत्रकार सम्मेलन गरी नयाँ खेल सुभारम्भ भएको जानकारी गराएकी हुन् । उक्त खेलमा हाललाई नेपाली राजनीतिका प्रथम र तेस्रो शक्तिका दुईवटा प्रमुख टीमहरू सहभागी भएका छन् । उद्घाटनमा चारतारे र हँसियाठोक्के टिमका कप्तानहरू मात्र सहभागी भएका थिए ।
अगाडिका दिनमा के कस्तो दज्र्यानी, मानपदवी र खान्की मिल्ने हो त्यसको औपचारिक घोषणा र ग्यारेण्टी प्राप्त भएमा सडकमा भोक हडताल गर्नेदेखि सत्तामा विराजमान भएका अन्य टिमहरूसमेत सहभागी हुंदै जाने बताइएको छ ।
खेलको औपचारिक उद्घाटन गरेर सिंहदरबार छिरेको उक्त खेलमा सहभागी दुई प्रमुख टिमका कप्तानहरूका बिचमा दोहोरो संवाद चलेको छ । अहिले उनीहरू सिंहदरबारको कुर्सी कब्जा गर्ने खेलमा जोडघटाउ र गुणानभागामा लागेर अन्तर्राष्ट्रिय दर्शक र लगानीकर्ताहरूलाई आकर्सित गरिरहेका छन् ।
प्रस्तुत छ सिंहदरबार कब्जा गर्ने नयाँ अध्यायका लागि असाध्य शुद्ध, पवित्र, चोखो र सवर्गीय गठबन्धनमा सहभागी दुई ठूला शक्तिका टोलीकप्तानहरूका बिचमा भएको भद्र सहमतिका संवादहरू यहाँ प्रस्तुत गरिएको छ ।
सुप्रिमोउवाच : मने, लाल जयनेपाल सभापतिजी ।
सभापतिउवाच : जयनेपाल जयनेपाल भनेर भन्नलाई । केकस्तो तयारी भईराख्या छ त सुप्रिमोजी भनेर भन्नलाई । बताउनुस् न त । के कस्तो छ पर्गति ?
सुप्रिमोउवाच : मने, हामीले उखानप्रसादसंगको गांठो फुस्काउने निर्णय गरिसकिम् । अब म के ठान्चु भने यो सरकार त ढल्यो ढल्यो । आर्को सरकार मेरो नेतृत्वमा बनाउनलाई तपैंले समर्थन गर्नु पर्यो ।
सभापतिउवाच : तपैंको के विश्वास गर्ने अब, भनेर भन्नलाई सुप्रिमोजी ? कसरी विश्वास गर्ने ? तपैंको कुनै अडानै छैन भनेर भन्नलाई । पिंध नभाको लोटा जस्तो के तपैं त, भनेर भन्नलाई । अघिल्लो पटक हामी समर्थन् गछौं तपैं सरकार बनाउनुस् भनेर समर्थन गर्या होइन र भनेर भन्नलाई ? सुष्मा बहनजीको रोहबरमा तपैंका दूत कन्हैया र मेरा बिचमा त्यत्रो कुरा भएर टुङ्ग्या हैन र, भनेर भन्नलाई ? तपैंलाई कांकांबाट कान फुक्छन् फेरि कुरा फेरिहाल्नुहुन्च भनेर भन्नलाई । के विश्वास गर्ने ? जानूस् पैला सकारबाट हट्नुस् त्यसपछि कुरा अगाडि बढाम्ला भनेर भन्नलाई ।
सुप्रिमोउवाच : मने, अब त्यस्तो हुंदैन सभापतिजी । त्यतिबेला त मेरो टिम नै फुटाइदिने धम्की आएर पो म पछि हटेको हो । ऐले त क्लाउडजीहरूको हुल समेत थपेर झन् ठूलो टिम बनाएर आएको छु । २५ सयको त केन्द्रीय टिम नै बनाएको छु । अब त कोही माइका लालले पनि हामीलाई चलाउन सक्तैन । दुईचार जनालाई घ्यु नपचेर चोइटिएर गएछन् भने पनि हामीलाई घाटा हुंदैन । मलाई समर्थन् गरिदिनु पर्यो । एकपटक दयाको भिख माग्न आएको छु, हजुरको सेवक बनेर । मेरो पर्धानमन्त्री हुने चान्स यसपछि कहिल्यै पनि आउने छैन । तपैं त टिममा पनि पावरपूmल हुनुहुन्च । पछि चुनाउमा पनि जितिहाल्नुहुन्च । मेरो त आर्को पाली तेस्रो शक्तिमा आउने पनि चान्स छैन । डाक्टर र वैद्यहरू बाहिर कस्सिएर बस्या छन् । घरभित्रका धामीझांक्रीहरूलाई सन्त्याउनै सक्या छैन । अन्तर्राष्ट्रिय दातामाताहरू पनि मसंग चिढिएर बस्या छन् । अख्तियार र हेगले पासो ठिक्क पारेर बस्या छन् । लौन सभापतिजी तपैँले जेजे गर्ने भन्नुहुन्च म त्यैत्यै मात्रै गर्चु । बरू अब बांकी समय आधाआधा गरेर नेतृत्व गरम्ला । तिमी काले म पनि काले, काले काले मिलेर खाम भाले ।
सभापतिउवाच : आउने चुनाउको चाइन्जो नेतृत्व कस्ले गर्ने त ? भनेर भन्नलाई सुप्रिमोजी ?
सुप्रिमोउवाच : मने, स्थानीयको म गर्चु । प्रान्त र केन्द्रको चाइँ तपैंले गर्नुहोला ।
सभापतिउवाच : किन त्यस्तो चाइन्जो भनेर भन्नलाई ? फेरी ह्यां के खेल खेल्न थाल्नुभो भन्या ? हैत्तेरीका म त कुरै बुझ्दैनन् भनेर भनेको । के कुरा हो फेरि ।
सुप्रिमोउवाच : कुरो ठिकै हो क्या सभापतिजी । मेरो टिममा २५ सय नेता छन्, तिनलाई स्थानीय चुनाउमा टिकेट दिउंला भनेर बाचा गरेको छु । पछि ठूलठूला चुनाउमा पैसा खर्च गर्न सक्ने ल्याकत छैन उनीहरूको । जिते जित्चन् हारे हार्चन्, उतै थान्को लाग्चन् । तपैंको टिम त पुरानो हो, सातसाले प¥यो । नेता पनि थोरै र छानिएका मात्रै छन् । एक से एक घाग्डान छन् । पैसा पनि टन्नै खर्च गर्न सक्चन् । त्यसैले सानो चुनाउ मैले गराउंचु, मभ्mयौला र ठूला चुनाउ तपैं गराउनुहोला ।
सभापतिउवाच : हो, त्यसो भन्नुस् न भनेर भन्नलाई । कुरो मिलिहाल्च नी । भनिहालें नि तपैं त पिंध नभाको लोटा हो के लोटा भनेर भन्नलाई । फेरी चुनाउ आएसी कम्निस् कम्निस् मिल्नुहोला नि, हारिन्च भन्ने डरले । के भर तपैंको भनेर भन्नलाई ? त्यो के जाती जनयुद्ध लडेर आको मान्छे । हाम्रा मान्छे कुट्ने मार्ने गर्नुहोला भन्ने डर पनि लाग्च । जनयुद्धका गल्ती सबै स्वीकार गरेपछि मात्रै तपैंको विश्वास गर्ने भन्चन् हाम्रा साथीहरूले भनेर भन्नलाई ।
सुप्रिमोउवाच : त्यस्तो हुंदैन क्या सभापतिजी । जनयुद्ध त हामीले ६३ साल मङ्सीरबाट पूर्ण रूपमा छोडेर आइसकेको हो । अब फेरी थुकेको थुक चाट्ने मान्छे हैनौं हामी । युद्धको धङ्धङी भएकाहरू हाम्रो टिममा छैनन् । हाम्रोमा त सबै आर्थिक धन्दामा लाग्नेहरूको शुद्ध टिम मात्र हो । त्यसैले त तपैंहाम्रो वर्ग मिलेको छ । तपैंको समाजवाद र हाम्रो समाजवादमा केही फरक छैन । गाईवाला टिमसंग त मिलेर हिंड्या छौं, झन् तपाइंहामी त जनआन्दोलनका सहयात्री न हौं ।
जहांसम्म जनयुद्धका बेलाको कुरो छ, त्यसमा तपैंहामी मिलेर कुरा मिलाउनु पर्च । किनकि युद्धमा त तपैंले पनि हामीलाई आतङ्ककारी भनेर टाउकाको मोल तोकेकै त हो । खोजीखोजी सिआइडी सुराकी गरेकै हो । बरू तपैं हाम्रा बिचमा भएका मनमुटाउहरूका बारेमा केही लिखत तमसुक गरम् न त ।
सभापतिउवाच : हुन्च हुन्च । लौ गरम् । नत्र त ऐलेबाटै हाम्रो झगडा पर्ला भन्ने डर भो । एउटाले अर्काको पोल खोल्दै जाने हो भने त पेटभित्रको आची समेत छताछुल्ल हुन्च, भनेर भन्नलाई ।
सुप्रिमोउवाच : मने, के के कुरा लेखम् त भन्नुस् सभापतिजी ।
सभापतिउवाच : ल लेख्नुस् –
१. सर्वप्रथम सशस्त्र द्वन्द्वका बेलामा हामी दुवैत्रफबाट भएका गल्ती कमजोरीका बारेमा दुवै पक्षले चुइंक्क नबोल्ने । सबै कुरा मिलापत्रद्वारा टुङ्ग्याउने । जजस्को जेजति हानी पजनी भएको भए पनि चुपचाप सहेर बस्ने । कसैले निहुं नखोज्ने ।
२. नेपालको मूल कानूनमा नमिलेका कुरा सबै मिलाउने । भाग खोजेर असन्तुष्ट भएकाहरूलाई छिमेकीको सुझाउ अनुसार लेख्ने, बांडचुंड गर्ने र थान्कोमान्को लाउने ।
३. महाभैंचालाले क्षतविक्षत पारेका जनता जनार्दनलाई आउने चुनाउमा हाम्रा टिमलाई भोट हाल्न लगाउने र उनीहरूलाई जातभात अनुसारका खान्की फ्रि गरिदिने । अघाउन्जेल खान दिने । ध्वस्त भएका घरबारहरू निर्माणका लागि विदेशी दातामाताहरूलाई फेरी एकचोटी राम्रोसंग फकाइफुल्याइ गरेर भिख माग्ने । उताबाट नआउन्जेल यता पर्खन भन्ने । आइसक्यो भने रासनपानी गोदाममा थन्क्याउने, लत्ताकपडा आफ्ना कार्यकर्ताहरूलाई दामासाहीले बांड्ने, पैसा जति चुनाउमा प्रयोग गर्ने ।
४. देशमा शान्ति सुरक्षा र सुशासन चुस्त दुरुस्त पार्ने । कहिं कतै खोट लागेको नदेखाउने । कालो बजारी गर्नेहरूलाई अबदेखि सेतो बजारी मात्रै गर भन्ने, भ्रष्टाचार गर्नेलाई नगर भन्ने । गर्नैपरे थाहा नपाइने गरी लुकेर गर्न निर्देशन गर्ने ।
५. आगामी चुनाउलाई मध्यनजर गर्दै धन कमाउने धन्दामा सबैलाई परिचालन गर्ने । ठेक्कापट्टा र विकास निर्माणबाट कमिशन सक्दो उठाई देशलाई आर्थिक उन्नतीमा लैजाने ।
६. सत्ता भनेको संसदीय लुटतन्त्रको राजनीति गर्ने टिमहरुको पुस्तैनी नीजि सम्पत्ती र बिर्ता हो भन्ने सिद्धान्तलाई दह्राेसँग पकड्ने र भागशान्ति मन्त्रालय बांडफांड गर्ने, उपपर्धानमा आवश्यक्ताको सिद्धान्त अनुसार पहिलाको भन्दा अझ बढि बनाउने र सबैलाई बांडचुंड गर्ने । सरकारी ओहोदामा कार्यकर्ताहरू भर्ती गर्ने, सरकारमा सहभागी टिमको तौलअनुसार दामासाहीले नरमकरम मिलाई भाग लगाउने ।
७. अबका नौ नौ महिना हामी दुबै मध्य म सुप्रिमोले पहिलो चरणमा र म सभापतिले दोस्रो चरणमा बिर्ताको नेतृत्व गर्ने ।
आजका मितिबाट यो सातबुंदे तमसुक लेखि सहिछाप गरी लियौं दियौं । यसलाई दुवै टिमका आआफ्ना कोटरी बैठकमा अनुमोदन गराई सिघ्रातिसिघ्र लागु गर्ने ।
इतिसंवत ३१ असार २०७३ मा शुभम् ।
kailubraha73@gmail.com