झिल्को अन्तरक्रियात्मक र विश्लेषणात्मक या प्रतिशोधात्मक ?

Khagendra Chhantyalसमयाभावको कारण बिगत केही समयदेखि झिल्को अनलाइन हेर्ने अवसर मिलेको थिएन । तर अनायास एकजना सहयोद्धाले झिल्को हेर्नुस् डा.ओम गुरुङको बारेमा लेखेको छ भनेलगत्तै ल्यापटप खोलेर झिल्को हेरें ।

उक्त अनलाइनको ‘समाज’ स्तम्भमा ‘डा. ओम गुरुङको आर्थिक अनियमितता छताछुल्ल’ शीर्षकमा एउटा बेनामी लेख प्रकाशन गरेको रहेछ । लेख पढ्दै गर्दा त्यसमा लेखकले सो लेख मार्फत् डा. गुरुङमाथि लागेको आर्थिक अनियमितताको आरोपहरुलाई पुष्टि गर्ने तथ्यसंगत प्रमाणभन्दा पनि आरोपहरुकै फेहरिस्त पेश गरेको देखियो ।

सो लेखको दोस्रो प्याराग्राफमा लेखिए अनुसार विभिन्न दातृनिकायबाट लिएको सहयोग विश्वविद्यालयभन्दा पनि आफैले खर्च गरेको आरोप गुरुङमाथि छ ।

सोही प्याराग्राफमा झिल्को फेरि लेख्छ, विभागीय प्रमुख डाक्टर ओम गुरुङसहितको टोलीले विभिन्न शीर्षकमा आठ करोडभन्दा बढी अनियमितता गरेका हुन । त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका विभागीय प्रमुख डा.ओम गुरुङले सोसल रिसर्च फण्डबाट प्राप्त छ करोड रकम अनियमितता गरेको आरोप छ ।

त्यस्तै तेस्रो प्याराग्राफमा उल्लेख छ, ‘एकै दिनमा एकमुष्ट हाजिर गर्ने गरेको आरोप उनीमाथि छ । विभागलाई कर्नेल नेपाल स्टडी प्रोग्रामबाट वर्सेनि दुई हजार अमेरिकी डलर आउने गर्छ । तर, विभागीय प्रमुख डा.गुरुङले सो रकम दाखिला नगरी अपचलन गरेको र पूर्व विभागीय प्रमुखले विद्यार्थी भर्नाबाट बचत गराएको ५७ लाख रुपैयाँ गुरुङ विभागीय प्रमुख भएपछि ६ वर्षे कार्यकालमा झन्डै छ सय देखि आठ सय विद्यार्थी भर्ना गर्दा भएको आम्दानी अपचलन गरेको समेत आरोपमा उनीमाथि छानबिन थालिएको छ ।

आरोप र यथार्थ फरकफरक कुरा हुन् । रिस, राग आवेश र उत्तेजनामा प्रतिशोध सांध्ने साधन हो आरोप । तथ्य र प्रमाणमा आधारित सत्य हो यथार्थ । झिल्कोमा प्रकाशित उक्त भद्दा आरोपले वास्तवमै डा. गुरुङको चरित्र हत्या गर्ने र उहाँको व्यक्तित्वमा आँच पुर्याउने योजना अन्तरनिहीत रहेको बुझिन्छ । आफ्ना आरोपहरु कामयाब होउन् भन्नका निम्ति आरोपमाथि आरोपको चाङ लगाउने काम भएको छ ।

एउटा मात्र आरोपलाई पुष्टि गर्ने आधार पनि भेटिदैन । खोई त आधार ? ‘यो आरोप छ’, ‘त्यो आरोप छ’ र ‘यसो भनिएको छ’ भन्ने अमूर्त र फगत आरोपहरुको थुप्रो लगाएर अपुस्ट कुराहरु गर्दै विषयलाई अराजक बनाएर वातावरण भड्काउने मनशाय रहेको प्रष्ट देखिन्छ, त्यसमा ।

के यसले आवश्यक आधारसहित उभिएर छानबिनलाई मद्दत गर्ला ? निराधार, कपोलकल्पित र पूर्वाग्रही आरोपहरुले कसलाई जिम्मेवार बनाउंछ ? झिल्को अनलाइनको अगाडि उल्टै यही प्रश्नको पहाड उभिएको छ ।

ड़ा.गुरुङले आफ्नो कार्यक्षेत्रमा आर्थिक अनियमितता गरेको भन्ने आरोपकै आधारमा झिल्कोले सो लेख प्रकाशित गरेको छ । उक्त लेखमा पेश गरिएको रकमको तथ्याङ्क पनि अत्यन्तै उडन्ते, अपत्यारिलो, अपरिपक्क छ । जस्तै सो लेखको दोस्रो प्याराग्राफमै झिल्को लेख्छ, ‘विभागीय प्रमुख डा.ओम गुरुङसहितको टोलीले विभिन्न शीर्षकमा आठ करोडभन्दा बढि अनियमितता गरेको छ ।’

सोही प्याराग्राफमै झिल्को थप लेख्छ, ‘त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका विभागीय प्रमुख डाक्टर ओम गुरुङले सोसल रिसर्च फण्डबाट प्राप्त छ करोड रकम अनियमितता गरेको आरोप छ ।’

झिल्को अगाडि लेख्छ, ‘नियमतः विभागलाई प्रोजेक्ट चलाएबापत छ करोड रुपैयाँको १० प्रतिशत रकम बराबर ६० लाख रुपैया दिनुपर्ने हुन्छ । गुरुङले उक्त रकम नै अपचलन गरेका हुन ।’

झिल्को फेरि लेख्छ, ‘नियमविपरीत १० प्रतिशत नभई आठ प्रतिशत रकम बुझाउने सम्झौता भएको थियो ।’ विभाग स्रोतले दिएको जानकारी अनुसार प्रोजेक्टबाट ल्याएको रकम कम देखाउनुका साथै त्यही सानो रकमको आठ प्रतिशत रकम विभागलाई बुझाउने सम्झौता भएको थियो ।
उक्त सम्झौता अनुसार करिब १५ लाख रुपैयाँ बुझाउनुपर्ने थियो । तर, उक्त रकम पनि बुझाइएन । प्रोजेक्ट सम्पन्न भएपछि गुरुङहरूले अन्तर्राािष्ट्रय सेमिनार भनेर एउटा कार्यक्रम गरेका थिए । उक्त कार्यक्रममा उपस्थित विज्ञलाई पारश्रमिक तथा कार्यक्रम खर्च गरी करिब १२ लाख रुपैयाँ खर्चियो । त्यसबाट बचेको चार लाख ३८ हजार रुपैयाँ विभागीय प्रमुख गुरुङले खातामा रकम जम्मा गरेको बताइएको छ ।

यसरी झिल्कोमा लेखेको आधारमा ड़ा.गुरुङले अनियमितता गरेको रकम सुरुमा आठ करोड, त्यसपछि छ करोड, त्यसपछि साठी लाख, त्यसपछि पन्ध्र लाख र त्यो पन्ध्र लाखमा बाह्र लाख खर्च कटाएर तिन लाख भन्ने बुझिन्छ । र फेरि सोही लेखनुसार ड़ा. गुरुङले चार लाख ३८ हजार खातामा राखेको भनेर बुझिन्छ । यसरी हेर्दा झन उल्टो ड़ा.गुरुङको एक लाख ३८ हजार बढि गएको देखिन्छ । अनि कहाँ र कसरी भयो ड़ा.गुरुङबाट आर्थिक अनियमितता ?

ड़ा. ओम गुरुङ मेरो लागि परिचित नाम हो । आज भन्दा बीस वर्ष अघिदेखि अमेरिकाको कोर्नेल विश्वविद्यालयमा अध्ययन गर्दादेखि नै परिचित र गत दश बर्षदेखि निकै सामिप्यतामा रहेको नाम पनि हो । सबै प्रकारको शोषण, दमन र उत्पीडनविरुद्ध सङ्घर्ष गर्ने कसम खाएका कतिपय कम्युनिस्ट नेताहरु जातीय र क्षेत्रीय शोषण, दमन र उत्पीडनविरोधी आन्दोलनप्रति नाक खुम्च्याएर हिंडेको हामीले देखेका छौं । तर कम्युनिस्ट पार्टीकै शीर्ष नेतृत्वमा रहेर सधै पहिचानवादी आन्दोलनको अग्रमोर्चामा देखिने नाम हो– डा. ओम गुरुङ ।

सायद यही कारण पनि होला, आफूलाई कम्युनिस्ट भन्न रुचाउने तर कम्युनिस्ट मूल्य र मान्यतालाई नचिन्ने केही मान्छेहरुको आँखाको कसिङ्गर पनि बन्नुभएको होला डा. गुरुङ ।

कम्युनिस्ट क्रान्तिकारीहरुप्रति प्रतिक्रियावादीहरुले गलत ढंगले हेर्नु कुनै अनौठो कुरा होइन, तर क्रान्तिकारी आन्दोलन भित्रैका कुनै कोणबाट उत्पीडनविरोधी आन्दोलनप्रति घृणा भाव राख्नु र ती आन्दोलनको नेतृत्व गर्ने नेता कार्यकर्ताप्रति प्रतिशोध साध्नु ज्यादै दुःखद कुरा हो । डा.गुरुङको बारेमा आएको यो पछिल्लो झिल्को प्रकरण पनि यसैको एउटा कडी हो भन्दा बढि नहोला ।

मैले बुझेको व्यक्तिगत स्वार्थ र लोभ लालचलाई लात्ताले हानेर हिँडेको मान्छेको नाम हो ड़ा.ओम गुरुङ । व्यक्तिगत स्वार्थप्रति यदि ऊ लालायित हुन्थ्यो भने तत्कालीन एमाओवादी (वर्तमान माओवादी केन्द्र), एमाले काँग्रेस होइन, उहिल्यै पञ्चायतले नै उसको निम्ति आवश्यक भौतिक सुख, सुविधा र यशआरामको प्रबन्ध गरिसकेको हुन्थ्यो ।

व्यक्तिगत भौतिक सुख, सुविधा र एैशआरामको बाटो हिंड्न चाहन्थ्यो भने ऊ आफैं पनि आफ्नो लागि सबै व्यवस्था गर्न सक्थ्यो । तर उसले ती सबकुरालाई दुत्कार्दै आफ्नो वर्गको मुक्तिको निम्ति सबैभन्दा बढि दुःखको बाटो रोजीरोजी हिंडिरह्यो । त्यसकारण मेरो बुझाइमा यो खालको मान्छेले नियतवश आर्थिक अनियमितता गर्यो नै भनेर पत्याइहाल्ने स्थिति छैन ।

फेरि पनि भनिन्छ ‘मान्छेको भर हुदैन !’ चिज गतिशील हुन्छ । राम्रो चिज कुनैपनि दिन नराम्रो हुनसक्छ । झिल्कोले लेखेअनुसार ड़ा.ओम गुरुङ अख्तियारको छानबिनमै हुनुहुन्छ । अवश्य सत्यतथ्य बाहिर आउने नै छ । अख्तियार राज्यद्वारा गठन गरिएको अधिकारसम्पन्न राज्यकै एउटा अभिन्न अङ्ग हो । त्यसलाई सहयोग गर्नु हामी राज्यका हरेक नागरिकको कर्तब्य हो ।

तसर्थ, अख्तियारको गतिविधिमा मेरो असहमति होइन । मात्र मेरो भनाइ के हो भने अख्तियारले छानबिन प्रक्रिया थाल्नासाथ् त्यो व्यक्ति या संस्था गलत नै हो भनेर प्रचारप्रसार गरेर निजको चरित्र हत्याको प्रयास गरिहाल्नु राम्रो होइन । झन् छानबिनकै क्रममा अझै कारवाही भएन भन्नु त मूर्खता र पूर्वाग्रहको पराकाष्ठा नै हो ।

झिल्कोले सो लेखको पहिलो प्याराग्राफ मै लेख्छ, ‘कम्युनिष्ट राजनीतिको आवरणमा देखिएका गुरुङ त्रिविको समाजशास्त्र विभागको आर्थिक अनियमिततामा मुछिएका छन् । उक्त अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । तर, अहिलेसम्म कारबाही भएको छैन ।’

उजुरी परेमा या शङ्कास्पद देखिएमा अख्तियार जतिबेला पनि र जोसँग पनि आएर छानबिन गर्न सक्छ । र, सफाई तथा कारवाहीको बिचको प्रक्रिया हो छानबिन । गुणदोषको आधारमा छानविनपश्चात सम्बन्धितलाई सफाई या कारवाही जे पनि हुनसक्छ । तर कति मूर्ख हुन् झिल्को सञ्चालकहरु ? छानबिन भैरहेको छ तर अझै कारवाही भएको छैन भन्ने ?

खाटमुनि लुकाएर राखेको बिरालोले म्याउँ गरेर अन्तिममा पोल खोलिएजस्तै झिल्को अनलाइनले लेखको अन्त्यमा यत्रो कथा लेख्नुको उद्देश्य के हो ? यो आफै म्याउ गर्दै यस्तो लेख्छ, ‘यिनी अहिले मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीको केन्द्रीय सल्लाहकार सचिव छन् ।’ यद्यपि डा.ओम गुरुङ क्रान्तिकारी माओवादीको केन्द्रिय सल्लाहकार परिषद्को अध्यक्ष हुनुहुन्छ ।

यसैले पनि राम्रैसंग बुझाउँछ झिल्कोले लेख्नुअघि कति सोचविचार गर्छ ? कति बुझ्छ ? र कति सुन्छ ? त्यसकारण डा.ओम गुरुङले आर्थिक अनियमितता गरे या गरेनन् ? उनलाई अख्तियारले कारवाही गर्छ या सफाई दिन्छ ? भन्दा पनि झिल्कोले सो लेख प्रकाशन गर्नुको नियत के ? उद्देश्य के ? त्यसको जवाफ खोज्नु मेरो आशय हो ।

वास्तवमा झिल्को बिगतदेखि नै माओवादी केन्द्रभित्रको बादल–पम्फा गुटको मुखपत्र हो । यो कसैसंग छिपेको कुरा होइन । धेरैले बुझेको कुरा हो, बादल–पम्फा गुट क्रान्तिकारी माओवादीको विघटन चाहन्थ्यो । सो गुट आफूले जस्तै सबै नेता कार्यकर्ता र सिङ्गो पार्टीले प्रचण्डको पैतलामा निधार ठोकून् भन्ने चाहन्थ्यो ।

सारमा त्यो गुट क्रान्तिको विसर्जन चाहन्थ्यो । तर केही विसर्जनको शिकार भए पनि केही पलायन भए पनि केहिले प्रतिक्रान्तिसँग आत्मसमर्पण गरे पनि पार्टीको ठूलो हिस्साले वर्तमानमा विचारमा किरा परिसकेको तर विगतमा युद्ध लडेको तीनको खोक्रो धमासको अघि पटक्कै नझुकेर सतिसाल बन्दै क्रान्तिकारी माओवादीलाई बिघटन हुनबाट जोगायो । क्रान्तिको झण्डालाई बचायो । त्यो हिस्साको एउटा बलियो खम्बा हो डा.ओम गुरुङ ।

त्यसैले नै झिल्कोले निशानामा पार्न खोजेको छ उहांलाई । विचारमा परास्त भैसके पश्चात् अराजनीतिक हर्कत गरी मान्छेलाई हैरान पार्ने दुनियांभरका प्रतिक्रान्तिकारीहरुको अनैतिक हर्कतलाई झिल्कोले पछ्याउनु र प्रतिशोधको मतियार बन्नुलाई त्यति सारै अनौठो मानिरहनु नपर्ला । झिल्को उसको लोगो तलतिर लेखिएको जस्तै अन्तरक्रियात्मक र विश्लेशणात्मक नै हो या राजनीतिक प्रतिशोध सांध्ने प्रतिशोधात्मक ? यो कुराको पोल खुल्न पनि लामो समय कुरिरहनु नपर्ला । धन्यवाद !