टर्कीमा गत शुक्रवार अमेरिकाको अति गोप्य योजनामा सैनिक विद्रोह गर्न लगाइयो । तर त्यो विद्रोह एक रातमा नै असफल भयो । यो विद्रोहमा १६१ जना मारिए भने हजारौं घाइते भए । त्यहांका राष्ट्रपति रिसेप तैयप एर्दोगान बिदामा रहेका बेला यो ‘कु’को योजना कार्यान्वयन गर्न लगाइएको थियो । गोधुलीको समय पारेर अमेरिका समर्थित केही सैन्य जनरलहरु मिलेर यो विद्रोहको उद्घोष गरेका थिए । राष्ट्रिय टेलिभिजनमार्फत् देशमा सैन्यविद्रोह भएको र पूरै देश आफूहरुको कब्जामा रहेको भनी जनतालाई आफूहरुको सरकारलाई समर्थन गर्न आह्वान गरेका थिए ।
तर त्यसको लगत्तै राष्ट्रपति एर्दोगानले विद्रोहको नाममा केही सैनिक अधिकारीहरु अमेरिकाको इशारामा देश र जनताका विरुद्धमा उत्रिएको खुलासा सहित सम्बोधन गरे । अमेरिकाको योजनामा टर्की र टर्कीश जनता विरुद्धमा यो षड्यन्त्र भएको सुन्ने बित्तिकै जनता सैन्य ‘कु’को विरोध गर्न र विना ढिलाइ सडकमा उत्रिए । उनको आह्वानपछि जनता जेहादी जस्तै बनेर विद्रोही सेनाले सोझ्याएका तोपका मोहरीको बेवास्ता गरी सडकमा ओर्लिएका थिए । जनताको विद्रोहको अगाडि सैनिक विद्रोहको केही पनि लागेन ।
टर्कीश जनताले सडक नियन्त्रणमा लिएपछि २८३९ जना विद्रोही सैनिक अधिकारीहरुलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई देशद्रोहको अभियोग लगाइएको छ । उनीहरु एस्तानबुल र अङ्कारामा रातको समयमा उत्रिएर सरकार समर्थित सेनामाथि गोली चलाइरहेका थिए । सरकारप्रति बफादार सेनाविरुद्ध लडिरहेका विद्रोही सेनाहरुलाई विसाल जनसागरले करिब रातको २ बजे आफ्नो काबुमा ल्याएको थियो । उक्त विद्रोहमा करिब ९० जना सर्वसाधरणको विद्रोही सेनाको गोली लागेर मृत्यु भएको जनाइएको छ ।
अमेरिकामा बस्दै आएका फेतुल्ला गिलेन उक्त विद्रोहका प्रमुख योजनाकार मानिएका छन् । उनी धर्म गुरु पनि हुन् । टर्कीमा उनका समर्थकहरु पनि छन् । सेना तथा न्यायालयमा पनि उनका मानिसहरु छन् । उनले यी मानिसहरु प्रयोग गरेर विद्रोहको साजिस रचेका थिए । ७५ वर्षीय गिलेन अमेरिकाको पेन्सिलभानियाको पोकोनो पहाडी क्षेत्रमा बस्दै आएका छन् । पहिलेका दिनहरुमा राष्ट्रपति एर्दोगानका निकट मित्र रहेका गिलेन सन् १९९९ मा अमेरिका पलायन भई उनको विरुद्धमा उत्रिएका थिए । त्यसपछि देशद्रोहीको रुपमा परिचित गिलेन एर्दोगानका दुश्मनमा परिणत भएका छन् । गिलेनका दुई हजार जति खास मान्छेहरु हाल टर्कीको जेलमा बन्दी जीवन बिताइरहेका छन् ।