आठौं पटक आमरण अनसनमा बसेका डा. के.सी. का बारेमा राम्रा नराम्रा टीकाटिप्पणीहरु उठेका पनि छन् । तर उनी ढुक्कताका साथ बसेका छन् अनसनमा । उनी मनिस हुन्, उनको पनि हाम्रो जस्तै शरीर छ, भावना छ र विचार पनि । व्यक्तिगत रुपमा उनले कुनै मेडिकल कलेज खोल्ने, कतैबाट कमिसन खाने र लाभ लिने जस्ता केही कतै पनि आशय लुकेको देखिदैन ।
उनको समर्थनमा युवाहरु पनि सडकमा उत्रिएका छन् । एकदुई दिन नजिकका मानिसले सहयोग र समर्थन गर्नु एउटा कुरा हो । तर दिनदिनै हुने र गरिने समर्थन प्रायोजित पनि होइन होला ।
किन देखेको छ मानिसले केसीको अनससनमा भविष्य वा यो भन्दा अलि केही राम्रो संसार ?
राजनीतिक नेताहरुले भाषणमा निकै राम्रा कुरा गर्छन् । मीठा र लोभलाग्दा आश्वासन पनि बांड्दछन् । तर तिनीहरु नै आखिर भ्रष्टाचारको केन्द्र र मियो किन बन्छन् ? र, गोविन्द केसीहरुलाई फेरि अनसन बस्न बाध्य गराउंछन् । युवाहरु उनको समर्थनमा सडकमा सुत्ने अभियान चलाउन लगाउंछन् ?
अवश्य हो देशमा बेथिति छ । त्यो पनि नेताहरुको असक्षमता, गतिहीनता र पिछलग्गुपनले
गर्दा । युवाहरुले अबको भविष्य साना तर मानवता जागृत गर्ने, समानताको संसार निर्माण गर्न अग्रसर गराउने घटनामा देख्न थालेका छन् । नेताहरु विचार, जांगर, सपना र सिर्जनामा होइन; लुट, भ्रष्टाचार, पाखण्ड र दलालीमा लम्पट भएको देखेपछि युवाहरु केसीहरुको अनसनसंगै जीवन जीउन उचित ठानेका छन् ।
यो राम्रो पक्ष हो । आशावादिता नै युवा र समग्र मानव जीवनको जीउने आधार पनि हो । लम्पट, भ्रष्टाचारीहरु दलाली र चाकरीमा रमे पनि युवाहरु स्वाभिमान र भविष्यका खातिर जीउन चाहेको घटनाक्रमले पुष्टि गर्दै आएका छन् ।