- इराक आक्रमणको १३ वर्षपछि चिलकट प्रतिवेदन, इराक आक्रमण तर्कसंगत र न्यायपूर्ण दुवै देखिएन
- बुस र ब्लेयरमाथि चल्न सक्छ युद्ध अपराधको मुद्धा
- दुजैलमा एक सय ४८ जना इराकीलाई मारेको घटनामा सद्दामलाई फाँसीको सजाय दिलाउने अमेरिकाले अल हलाब्जामा पाँच हजार इराकीलाई मारेको विषयको किन चर्चा सम्म गर्दैन ?
- हतियार निरीक्षणका लागि राष्ट्रसंघले बनाएको निरीक्षण टोलीका प्रमुख नै अमेरिकाका लागि सूचना संकलन गर्ने जासुस
- इराकमा युद्ध नगर्न अमेरिकामै लाखौका जुलुस निस्किएका थिए, बुसको विदेश नीति कुरुप रहेको भन्दै पुत्ला जलाउनुका साथै नांगै जुलुस प्रदर्शन समेत गरियो । तर बुस इराकमाथि आक्रमण गर्ने निर्णयबाट पछि हटेनन् ।
‘प्यारा जनता ! म अब, तपाईहरुबाट विदा लिँदै छु, म आफ्नो आत्मा अल्लाहमा समर्पित गर्न चाहन्छु, म आफ्नो बलिदान दिन चाहन्छु ।’ तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनका अन्तिम शब्द हुन् यी । सद्दाम अर्थात अरबी भाषामा टक्कर, जीवनभर उनले नाम जस्तै टक्कर लिने काम गरे । तर उनको अमेरिकासँगको टक्कर जीवनको अन्तिम टक्कर बन्न पुग्यो ।
चिलकट प्रतिवेदनको सार
अमेरिका नेतृत्वको सेनाले २० मार्च २००३ मा इराकमाथि आम विनाशकारी हतियार रहेको आरोपमा गरेको आक्रमणको १३ वर्षपछि बेलायतमा सार्वजनिक भएको प्रतिवेदनमा उक्त आक्रमण तर्क संगत र न्यायपूर्ण नभएको उल्लेख गरिएको छ ।
करिब ७ वर्षको छानविनपछि सार्वजनिक गरिएको सो प्रतिवेदनसँगै इराकमाथि गरिएको उक्त आक्रमणमा बेलायतको भूमिकामाथि प्रश्न चिन्हमात्रै उब्जाएको छैन अमेरिका बेलायतको एकोहोरो अडानबाट भएको इराक युद्ध अवैध भएको पहिलो पटक पुष्टि भएको छ ।
सर जर्ज चिलकटको आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘बेलायतले युद्धमा जानुअघि शान्ति स्थापनाका लागि कुबै उपाय अपनाएन ।’ यससँगै तत्कालीन प्रधानमन्त्री टोली ब्लेयर प्रशासनको इराक नीति पूर्ण रुपमा कमजोर र अपुष्ट गुप्तचरीको आधारमा तयार गरिएको तथा त्यसको प्रयोगमा उत्रिनुअघि परीक्षण गर्न आवश्यक नठानिएको पुष्टि हुन्छ ।
प्रतिवेदनमा युद्धपछि पनि इराकका बारेमा बनाइएको नीति पूर्ण रुपमा अपर्याप्त र अनुचित भएको उल्लेख गरिएको छ । बेलायतको यो आधिकारिक छानविन आयोगले इराकमाथि आक्रमण अन्तिम विकल्प नभएको भन्दै यसमाथि विचार पु¥याउन आवश्यक रहेकोमा त्यतातर्फ ध्यान नदिइएको औल्याएको छ । इराकमा जुन प्रकारका आम विनाशकारी हतियार भएको भन्दै आक्रमण गरिएको थियो ।
त्यो भन्दा अघि इराकले अमेरिकी हतियार निरीक्षण टोलीलाई निरीक्षण गर्न पनि दिएको थियो र इराक युद्धका क्रममा कुनैपनि आम विनाशकारी हतियार भेटिएनन् । चिलकट प्रतिवेदनमा पनि इराकमा आम विनाशकारी हतियार रहेको आशंका गर्दै आक्रमण गरिएपनि परिणाम जे देखियो त्यसले युद्ध तर्कसंगत र न्योचित मान्न सकिदैन भनिएको छ । यसको अर्थ इराकमा त्यसबेला आम विनाशकारी हतियार नरहेको कुरामा यो प्रतिवेदनमा स्वीकार गरिएको छ ।
हतियार निरीक्षणभित्र लुकेको रहस्य
इराकको आम विनाशकारी हतियारको प्रसंग सन् १९९१ मा रोकिएको खाडी युद्धसँग जोडिन्छ । खाडी युद्धमा पश्चिमा देशहरुले इराकलाई हतियार उपलब्ध गराएका थिए ।
अमेरिकाले इरान–इराक युद्धका क्रममा साउदी अरब, जोर्डन, कुवेत र इजिप्टलाई हतियार बेच्ने गर्दथ्यो तर ती हतियार कहिलेकाँही सिधै इराक आइपुग्थे । कुनै समय इराककै सहयोगी रहेको अमेरिका अन्ततः इराकको विरोधी राष्ट्रको नेता बन्न पुग्यो ।
इराकमा आम विनाशकारी हतियार रहेको अमेरिका र बेलायतको अडान राखिरहे भने इराकले आफूसँग त्यसप्रकारका कुनै हतियार नरहेको दोहो¥याइरह्यो । इराकले युद्धविरामका नियमहरुको पालना नगरेको भन्दै १९९८ मा इराकविरुद्ध ‘अपरेसन डिजर्ट फक्स’ अभियान नै चलाइयो ।
इराकलाई आमविनाशकारी हतियार रहेको स्वीकार गराउन अमेरिकाले तीन दिनसम्म बगदादमा बमबर्षा गरिरह्यो । अमेरिकाकै दबाबकाबीच राष्ट्रसंघले रिचर्ड बटलरको नेतृत्वमा हतियार निरीक्षण टोली बनायो । तर टोली र सद्दाम हुसेनबीच सम्बन्ध कहिल्यै सामान्य बन्न सकेन ।
सद्दामले बटलरलाई हतियार निरीक्षण गर्न आएका बटलर अमेरिकी जासुस भएको आरोप लगाएका थिए । यसको पुष्टि अमेरिकी दैनिक ‘वासिंगटन पोस्ट’ र ‘द बोस्टन ग्लोब’ नै नै गरे । वास्तममा बटलर अमेरिकाका लागि सूचना संकलन गर्ने एक विद्युतीय केन्द्र युनिटका कर्मचारी भएको पुष्टि भयो ।
अमेरिकी टेलिभिजन च्यानल सीबीएस न्युजका ड्यान रादरलाई सद्दाम हुसेनले २४ फेब्रुअरी २००३ मा अन्तर्वार्ता दिए । यो उनको जीवनकै अन्तिम र अमेरिकाका कुनैपनि च्यानललाई लिएको १० वर्षपछिको पहिलो अन्तर्वार्ता भयो । उक्त अन्तर्वार्तामा सद्दामले भनेका थिए, ‘हतियार निरीक्षण नाटक मात्रै सावित भयो । उनीहरुले शंका गरेका सबै ठाउँ हामीले देखायौं, तर आम विनाशका हतियार भेटिएनन्, उनीहरुले हतियार भेटेनन् । यसको अर्थ हामीले हतियार अन्तै कतै लुकाएका छौं भन्ने हुँदैन ।’
उनले हरियार निरिक्षण टोलीले राष्ट्रपति भवनको निरीक्षण गर्न चाहेको भन्दै कुनैपनि राष्ट्रपतिले आम विनाशकारी हतियार कार्यलयभित्र राखेर नबस्ने तर्क गरेका थिए । वास्तममै यसले इराकमाथि आक्रमण गर्न परिस्थितिलाई परिपक्व बनाउने काममात्रै गर्न सक्यो । यता इराकमाथिको आक्रमणको विषयलाई लिएर राष्ट्र संघ सुरक्षा परिषद विभाजित भयो ।
अमेरिका र बेलायत एकतिर र फ्रान्स, रुस र चीन अर्कातिर देखिए । बेलायत र अमेरिकाको निर्णयविरुद्ध फ्रान्सले भिटो प्रयोग गर्ने भयो । भिटो प्रयोग भएको भए हमला रोकिन्थ्यो तर अमेरिका र बेलायतले नयाँ तर्क अघि सार्दै इराकमाथि आक्रमण गर्न राष्ट्रसंघको स्वीकृति लिन जरुरी नभएको बताएपछि दोस्रो विश्वयुद्धको अन्त्यसँगै उदाएको राष्ट्र संघ संकटमा प¥यो ।
तत्कालीन महासचिव कोफी अन्नानले अहिलेको राष्ट्रसंघको अस्तित्व र आफ्नो हैसियत जोगाउन मौनता साँधे । किनकी उनले आलोचना गरे अर्को राष्ट्रसंघ समेत उभ्याउन अमेरिका बेलायत तयार भइसकेका थिए ।
आक्रमणका पछि तेलको खेल
करिब १३ वर्षपछि इराकमाथि अमेरिकाले आक्रमण गर्दा आम विनाशकारी हतियारका साथै लामो समयदेखिको तित्ततापूर्ण सम्बन्ध पनि कारक थियो । तर त्यो भन्दा पनि ठूलो कारक भनेको इराकमा भएको तेलमाथि आफ्नो कब्जा जमाउनु थियो । किनभने यसको पहिलो परीक्षण उसले १७ जुलाई १९६८ मा सद्दामकै बाथ पार्टीलाई साथमा लिएर गरिसकेको थियो ।
इराकको अब्दुल सलाम अरिफ नेतृत्वको सरकारलाई ढाल्न अमेरिका, इराकी सेना र बाथ पार्टीबीच सहमति भयो । यसमा सद्दामको पार्टी सत्तामा आएपछि तेल र गन्धक उद्योग अमेरिकालाई सुम्पने सहमति भएको थियो । यसमा अमेरिकी सरकारका तर्फबाट आइजन आवर र अर्थमन्त्री रोवर्ट एन्डर्सनले बाथ पार्टीका नेताहरुसँग गोप्य सहमति गरेका थिए ।
बाथ पार्टीलाई इराकको सत्तामा पु¥याउन इराकी सेनाले पनि सघायो । सोही अनुसार विद्रोहको नेतृत्व गर्ने नेता अहमत हसन अल बक्र इराकको राष्ट्रपति बन्दा सद्दाम हुसेन उपराष्ट्रपति बने । सद्दामको यस कार्यकालमा इराकले नसोचेको समृद्धि हासिल गरेको थियो ।
सत्ताको दाउपेचबीच नै सद्दाम १६ जुलाई १९७९ मा इराकी राष्ट्रपति बने । तर उनी सत्तामा गएपछि अमेरिकालाई तेल जति सहज रुपमा दिने सहमति भएको थियो त्यति सहज रुपमा दिएनन् । यसले गर्दा अमेरिका विस्तारै चिढिदै गयो ।
सद्दामलाई फाँसी
सन् १९५६ मा बाथ सोसल पार्टीको सदस्यता पाएका उनले सन् १९५८ मा इराकमा बेलायत समर्थित सरकारविरुद्धको विद्रोहपछि राजशाहीलाई हटाएर सत्तामा पुगेको ब्रिगेडियर अब्दुल करीम कासिमको हत्याको असफल प्रयास गरेका थिए । यो प्रयासमा उनी आफैलाई पनि गोली लाग्यो र गिरफ्तार गरी जेल हालियो र उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । तर उनी जेलबाट भाग्न सफल भए ।
इराकमा लामो संघर्ष गरेका सद्दामले इराकी सुन्नी समुदायबीच अलग छवी बनाएका थिए । १९७९ मा इराकको राष्ट्रपति बनेका सद्दामको नेतृत्वमा इराक लामो युद्धमा फस्न पुग्यो । त्यसको सुरुवाती चरणमा उनलाई सम्पूर्ण रुपमा अमेरिकाको साथ र सहयोग मिलेको थियो । इरान इराक युद्धमा सद्दामलाई अमेरिकी समर्थन प्राप्त थियो ।
तर ८० को दशकको अन्त्यसँगै अमेरिका–इराकबीच खटपट सुरु भएको थियो । लामो शीतयुद्धकै अवस्थामा अमेरिकाले इराकमाथि आमविनाशकारी हतियार रहेको आशंकामा आक्रमण गरी सद्दामको सत्ता पल्टायो । सन् २००३ मा सद्दामको सत्ता ढलेपछि उनीमाथि इराकी अदालतमा दुजैल गाउँमा १ सय ४८ शिया मुस्लिमको हत्याको आरोपमा मुद्दा चलाइयो । यो अदालतको फैसला कति निश्पक्ष थियो भन्नुभन्दा पनि अमेरिकाका लागि आगामी दिनमा पनि सद्दाम हुसेन एक खतराको रुपमा रहिरन्थे ।
इराकमा अमेरिकाले २००३ मा इराकमाथि आक्रमण गरेयता अहिलेसम्म पनि इराक निरन्तर जलिरहेको छ । सन् २००३ को डिसेम्बर १३ मा अमेरिकी सेना सद्दाम हुसेनलाई पक्राउ गर्न सफल भयो । सन् २००६ को डिसेम्बर ३० तारिखमा सद्दामलाई सन् १९८२ मा इराकको दुजैल गाउँमा १ सय ४८ जनाको हत्या गरेको आरोपमा दोषी ठहर गर्दै फाँसी दिइएको हो ।
यो फाँसीको इराकमात्रै नभएर संसारका थुप्रै देशमा विरोध भयो । उनालाई यति हतार गरी फाँसी दिइनुको एक कारण भनेको उनी त्यसको दुई दिनपछि ७० वर्ष पुग्दै थिए । त्यसकारण पनि इराकी सरकार अन्तर्राष्ट्रिय दबाबबाट बच्न उनलाई फाँसी दिन हतारियो ।
इस्लामिक स्टेटको उदय
अहिले अमेरिकासहित पश्चिमा देशको ध्यान इस्लामिक स्टेट (आइएस) विरुद्ध केन्द्रीत छ । अमेरिकाले जुन किसिमले इराकको तेलमा आफ्नो नजर राखेर युद्धको नीति अपनायो अहिले त्यसै गरी इराकका तेल खानीको आम्दानीको भरमा आईएसले हिंसात्मक गतिविधि गरिरहेको छ । आईएसको उदय सद्दामको अन्त्यपछि हुनु केबल संयोगमात्रै नभएर इराकमाथिको युद्ध नै मुख्य कारण हो ।
जुनबेला अमेरिकी सेनाले इराकको बगदाद कब्जा गरेको थियो त्यसबेला नै सद्दाम सेनाहरुले छापामार युद्धको सुरुवात गरिसकेका थिए । यसबाट इराक युद्ध आईएस जन्माउनमा जिम्मेवार रहेको मान्न सकिन्छ । सन् २००३ मा अमेरिकाका साथमा इराक युद्धमा होमिएका बेलायती प्रधानमन्त्री टोली ब्लेयरले समेत यसलाई स्वीकार गरिसकेका छन् ।
अमेरिकी टेलिभिजन च्यानल सीएनएनलाई दिएको एक अन्तर्वार्ताका क्रममा ब्लेयरले भनेका छन्, ‘इराक युद्धका कारण आइएसको जन्म भयो भन्ने कुराकमा केही हदसम्म सत्यता छ ।’ अहिले आईएसले इराक र सिरियाको ठूलो क्षेत्रलाई आफ्नो कब्जामा लिएको छ । आईएसले सद्दाम हुसेनलाई फाँसीको सजाय सुनाउने न्यायाधीस रउफ अब्दुल रहमानलाई पनि फाँसी दिएको थियो ।
ब्लेयरले मागे माफी
इराक युद्धमा मारिएका परिवारका सदस्यसँग बेलायती पूर्वप्रधानमन्त्री टोली ब्लेयरले माफी मागेका छन् । यद्यपि उनले ती परिवारले आफूलाई कहिल्यै नबिर्सने र माफी नदिने स्वीकार समेत सँगै गरेका छन् ।
सन् १९९७ देखि २००७ सम्म बेलायतको प्रधानमन्त्री बनेका ब्लेयरले यो पनि स्वीकार गरेका छन् कि इराक युद्ध गलत गुप्तचरको जानकारीका कारण भएको हो । उनले भनेका छन्, ‘गुप्तचर एजेन्सीले सद्दाम हुसैनसँग व्यापक जनसंहारकारी हतियार भएको बताए तर तथ्य गलत निस्कियो । इराक युद्धको मूल्य सन् २०१० को चुनावमा चुकाउनु प¥यो ।
उनको लेबर पार्टी निर्वाचनमा कन्जरभेटिभ पार्टीसँग नराम्ररी पराजित भयो । सन् २००३ देखि सन् २००९ सम्मा इराकमा १७९ जना बेलायती सैनिक मारिए भने हालसम्म १० लाखभन्दा बढी इराकी जनताले ज्यान गुमाइसकेको अनुमान छ । तर यसको आधिकारिक तथ्य यही नै हो भनेर भन्न मुस्किल छ ।
सन् २००९ देखि इराक युद्धबारे बेलायती नीतिको छानविन गर्न सुरु भएको थियो । उनले इराक युद्धका क्रममा सद्दाम हुसेनलाई हटाउनु मुख्य उपलब्धि भएको उल्लेख गरेका छन् । उनले आफ्नो १० वर्षे कार्यकालमा इराकमा सेना पठाउने सम्बन्धमा गरेको निर्णय सबैभन्दा दुःखद र महत्वपूर्ण निर्णय भएको बताएका छन् । यसले आफूले इराक युद्धका विषयमा गरेको निर्णयको सम्पूर्ण जिम्मा लिने समेत बताएका छन् ।
बुस–ब्लेयरमाथि युद्ध अपराधको मुद्दा चल्न सक्छ
इराक युद्धमा बेलायतको भूमिकालाई लिएर सार्वजनिक चिलकट आयोगको प्रतिवेदनले केही गम्भीर प्रश्न खडा गरेको छ । चिलकट प्रतिबेदनलाई आधार मान्ने हो भने इराकमाथि गरिएको आक्रमण जायज मान्न सकिन्न । किनकी इराकमा युद्धअघि शान्ति स्थापनाका लागि पर्याप्त पहल गरिएन । यसको अर्थ हो इराक समस्या वार्ता र संवादबाट नै हल हुन सक्थ्यो ।
अमेरिकी डेलावेयर युनिभर्सिटीका प्राध्यापक अन्तर्राष्ट्रिय मामनाका विशषज्ञ मुक्तदर खानले यो रिपोर्टले ब्लेयर र तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसमाथि अन्तर्राष्ट्रिय अपराध अदालतमा मुद्धा चलाउने आधार तयार गरेको छ । रिपोर्टले युद्धकै बेला र युद्धअघि इराकसँग आमविनाशकारी हतियार रहेको जुन आरोप लगाइएको थियो, त्यसलाई तथ्यगत र दस्तावेजका माध्यमबाट अस्वीकार गरिएको छ । यो बुस र ब्लेयरमाथिको आरोपको आधिकारिक रिपोर्ट बन्न पुगेको छ । यसैका आधारमा उनीहरुलाई गैरकानूनी युद्ध लडेको तथा युद्धअपराधको आरोपमा मुद्धछा चलाउन सकिने खानको भनाई छ ।
एक दशकदेखि पनि अवस्था उस्तै
सन् २००३ मार्च २० मा इराकमाथि अमेरिका र बेलायती सेनाले आक्रमण सुरु गरे । करिब एक महिनामै इराकको राजधानी बगदाद सम्पूर्ण रुपमा अमेरिकी सेनाको नियन्त्रणमा आयो । यो सँगै इराकी शासक सद्दाम हुसेनको २० वर्षभन्दा लामो समयको शासन अन्त्य भयो । तर इराक योसँगै दीर्घकालीन आन्तरिक द्वन्द्वमा फस्न पुग्यो ।
जसलाई हामी आजको इराकको रुपमा हेरिरहेका छौं । जहाँ एक सातअघिमात्रै एउटै विस्फोटमा २८१ जना मारिएका थिए । जैविक हतियार रहेको आरोपमा सुरु गरिएको उक्त आक्रमणका क्रममा करिब १२ लाख इराकी तथा गठबन्धन सेनाका ३७ सय ७१ ले ज्यान गुमाएको प्रतिवेदन सार्वजनिक भएको थियो ।
तर इराकी जनता कहिलेसम्म मारिइरहन्छ यसै भन्न सकिने अवस्था चाँही छैन । अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले पनि आफ्नो कार्यकाल सकिएपछि इराक युद्ध आफ्नो कार्यकालको ठूलो गल्ती भएको स्वीकार गरेका थिए । यो उनले आफ्नो किताबमार्फत सार्वजनिक गरेका हुन् । आज इराकको बागडोर जसले सञ्चालन गरिरहेका छन् उनीहरु एक डुब्दै गरेको डुंगाका चालक जस्ता देखिएका छन् । यसबाट उनीहरुले त्यसलाई पार लगाउँछन् कि फेरि ‘आधुनिक उर्मिला’ बन्छन् हेर्न बाँकी छ ।
(राजधानी दैनिकबाट)