दक्षिण चीन सागर विवाद चुलियो, हवाई सुरक्षा क्षेत्रमाथि चीनको दावी कायम

दक्षिण चीन सागर विवाद चुलियो, हवाई सुरक्षा क्षेत्रमाथि चीनको दावी कायम

south_china_seaएजेन्सी । चीनले संयुक्त राष्ट्र संघ समर्थित अदालतले दक्षिण चीन सागरको विषयमा गरेको फैसलालाई अस्वीकार गर्दै ‘फोहोरको भाँडो’ मा हाल्न लायक भएको टिप्पणी गरेको छ ।

चीनले रणनीतिक रुपमा महत्वपूण दक्षिण चीन सागरमाथि एक तर्फी वायु–सुरक्षा जोन घोषित गर्ने अधिकार रहेको दावी गरेको छ । मंगलबारमात्रै पाँच सदस्यीय अन्तर्राष्ट्रिय न्यायलयले दक्षिण चीन सागरमाथि चीनको एकतर्फी अधिकार नरहेको फैसला गरेको थियो ।

फैसला लागु गर्न अन्तर्राष्ट्रिय आग्रह अस्वीकार गर्दै चिनियाँ रक्षामन्त्री जनरल चांग वानकानले चीनले उक्त फैसलालाई नमान्ने र यसका आधारमा हुने कुनै पनि कारबाही र सुझाव स्वीकार नगर्ने जनाएका छन् ।

उनले दक्षिण चीन सागरमाथिको चीनको अधिकार र क्षेत्रीय सम्प्रभुता कुनै पनि आदेशले कुनै हालतमा प्रभावित नहुने बताए । चीनले दक्षिण चीन सागरको केही क्षेत्रमा फिलिपिन्सको अधिकारको इतिहास या अन्तर्राष्ट्रिय कानुनको कुनै आधार नरहेको जनाएको छ ।

चिनियाँ सहायक विदेशमन्त्री लियु झेनमिनले चिनियाँ नौसेना दक्षिण चीन सागरमा कुनैपनि बेला सक्रिय बन्ने सक्ने बताएका छन् । उनले दक्षिण चीन सागरमा छिमेकी देश र आसियन देश मिलेर शान्ति र स्थिरता बनाइराख्ने र विमानको आवागमनलाई स्वतन्त्र बनाई राख्न सकिने बताए ।

चीनले दक्षिण चीन सागरलाई युद्ध क्षेत्र नबनाउन पनि आग्रह गरेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरमा चीनको ऐतिहासिक दावी खारेज गरेपछि ताईवानले आफ्नो समुद्री क्षेत्रको सुरक्षाका लागि भन्दै एक युद्धपोत त्यस क्षेत्रमा पठाएको छ ।

ताइवानकी राष्ट्रपति साई इंग–वेनले युद्धपोत दक्षिण चीन सागरमा पठाउँदै ताइवान आफ्नो देशको अधिकारको रक्षाका लागि प्रतिबद्ध रहेको जनाएकी छन् । यसलगत्तै पोत दक्षिण सहर काओहसिउंगबाट ताईवान नियन्त्रित तेपिंग द्वीपतर्फ लागेको छ ।

फैसलासँगै दक्षिण चीन सागरमा आफ्नो अधिकार क्षेत्रमा रहेको भाग समेत खतरामा परेको भन्दै उसले युद्धपोत पठाएको हो । ताइवानले सागरका विषयमा भएको फैसलामा आफ्नो कुनै सल्लाह समेत नमागिएको भन्दै असन्तुष्टि जनाएको छ ।