काठमाडौं । केही दिनयता सहमतिको रटान लगाउँदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अन्ततः बहुमतीय सरकारकै प्रधानमन्त्री बन्ने दाउमा लागेका छन् ।
मधेसी, जनजाति, महिला तथा अल्पसख्यक समुदायको विरोधकाबीच नौ महिनाअघि जारी गरिएको संविधान कार्यान्वयन हुन नसकेको भन्दै दाहालले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भन्दै सहमतिको पहल गर्ने जिम्मा आफूमा केन्द्रित गरेका थिए ।
पार्टीमा राष्ट्रिय सहमतिको सरकार निर्माणको पहल गर्ने निर्णय गराएर प्रचण्डले बहुमतीय सरकारकै भए पनि आफू प्रधानमन्त्री बन्ने योजना बनाएका छन् । राष्ट्रिय सहमतिको रटान लगाउँदै मंगलबार कांग्रेसको साथमा आफू प्रधानमन्त्री बन्ने सहमति गरेर प्रचण्डले मंगलबार एमाले नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरेका थिए ।
एमालेसँग भएको नौ बुँदे सहमतिको थपघट गर्दै माओवादी केन्द्रले कांग्रेससँग पुनः सात बुँदे सहमति गरेको छ । जसमा कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार बनाउने उल्लेख छ ।
यसअघि कांग्रेसको सहयोगमा प्रधानमन्त्री बन्ने सहमति गरेर पुनः एमालेसँग नै नै बुँदे सहमति गरेपछि प्रचण्डलाई कांग्रेसले विश्वास गर्न सकेको थिएन । माओवादीको विश्वास गर्न नसकिएको भन्दै सरकारबाटै फिर्ता आउनुपर्ने कांग्रेसको अडानपछि लिखित सहमति गरेर नै माओवादी सरकारबाट हटेको हो ।
कांग्रेस–माओवादी केन्द्रको सहमतिअनुसार नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि आवश्यक सबै प्रक्रियाहरु अवलम्वन गर्ने भनी बहुमतीय सरकार बनाउने सम्झौता गरेका छन् ।